कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

देवदहकी किशोरीको मृत्यु प्रकरण : मुख्य तीन आरोपी पक्राउ

फरेन्सीक जाँच र स्वाब परीक्षणको तयारी
दीपेन्द्र बडुवाल

रुपन्देही — पाँच दिनअघि रुपन्देहीको देवदह–११ बड्की गुम्मीकी किशोरी अंगिरा पासीको हत्या आरोप लागेका  तीनजना बिहीबार पक्राउ परेका छन् । प्रहरीले बलात्कार तथा हत्या आरोप लागेका वीरेन्द्र भर, उनकी आमा अकाली र ठूली आमा शितली भरलाई पक्राउ गरेको जनाएको छ । 

किशोरीकी शान्ति पासीले छोरीको बलात्कारपछि हत्या भएको दाबीसहित तीनजनाविरुद्ध प्रहरीमा मंगलबार किटानी जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरका अनुसार उनीहरुलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । आरोपीविरुद्ध बुधबार पक्राउ पूर्जी जारी गरिएको थियो ।

‘पक्राउ परेकाको आज म्याद थप गर्न भ्याइएन । शुक्रबार म्याद थप गरेर बयान लिने क्रम सुरु हुन्छ,’ डिएसपी राठौरले भने । किशोरीको हत्या वा आत्महत्या के भएको हो भन्ने पुष्टि गर्नका लागि भिसेरा र योनीको स्वाब परीक्षण तयारी भइरहेको उनले बताए । मंगलबार गरिएको पोष्टमार्टमको रिर्पोट आएपछि बलात्कारको आशंकामा प्रहरीले बुधबार नै फरेन्सिक जाँच पक्रिया अघि बढाएको जनाएको थियो ।

एसपी राठौरले भिसेरा र स्वाब परीक्षणका लागि नमुना लिएर इलाका प्रहरीको टोली काठमाडौं जाने बताए । प्रारम्भिक रिर्पोटमा बलात्कार देखिएपछि थप पुष्टयाँइका लागि फरेन्सिक जाँच गर्न नुमना काठमाडौं पठाइएको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले बताएका थिए । ‘घटना शंकास्पद देखिएपछि फरेन्सिक जाँच अगाडि बढाइएको हो,’ थापाले भने, ‘पोष्टमार्टमको अन्तिम रिर्पोट आइसकेको छैन, अन्तिम रिर्पोट आएपछि यथार्थ खुल्नेछ ।’

पोस्टमार्टम गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र घटना अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार किशोरीको बलात्कार भएको प्रारम्भिक रिपोर्टमा देखिएको छ । ‘थप पुष्टि गर्न फरेन्सिक जाँच गर्ने तयारी गरिएको हो,’ उनले भने, ‘समग्र घटना पनि शंकास्पद देखिन्छ ।’

गत शनिबार अपरान्ह देवदह–११ कि १३ वर्षीया किशोरी अंगिरा पासी गाउँ नजिक देवदह–२ स्थित रोहीणी खोला किनारमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । शुक्रबार राति घरबाट निस्केकी उनको खोजीमा गएका गाउँलेले स्थानीय कोइला भनिने २५ वर्षीय वीरेन्द्र भरसित बस्ती नजिक खरियानमा किशोरीलाई भेटेका थिए । स्थानीयका अनुसार गाउँले पुगेर प्रश्न गर्न थालेपछि वीरेन्द्र भागेका थिए । स्थानीयले किशोरीलाई घरमा ल्याएका थिए ।

त्यसपछि किशोरीले ‘इज्जत’ फालेको भन्दै गाउँ भेला गरिएको थियो । भेलाले किशोरीलाई वीरेन्द्रको जिम्मा लगाउने निर्णय गरेको थियो । शनिबार उज्यालो भएपछि वडाध्यक्ष अमरबहादुर चौधरीको उपस्थितिमा गाउँले पुनः भेला गरियो । स्थानीय सुकुल पासीका अनुसार भेलामा १ सय भन्दाबढी स्थानीय सहभागी भएका थिए । उनका अनुसार वडाध्यक्ष सहभागी भेलामा धेरैले बोलेनन् । भेलामा वडाध्यक्षले बालिकालाई अब तिमी के गर्छौ भनेर सोधेपछि उनले ‘यसले (केटा) मेरो इज्जत बिगारिदियो, यसैसँग जान्छु’ भनेकी थिइन् ।

शुक्रबार राति पनि किशोरीलाई केटाको जिम्मा लगाउने सहमति भएको थियो । पीडित परिवार र स्थानीय बासिन्दाका अनुसार वडाध्यक्ष चौधरीले अंगिराको हात वीरेन्द्रलाई थमाएका थिए । वडाध्यक्ष चौधरीले हात थमाएको कुरा स्वीकार गरेनन् । ‘शुक्रबार राति हात थमाइसकेका रहेछन,’ उनले भने, ‘मलाई वडाबाट विवाह दर्ता गर्नका लागि दबाब दिएका थिए, कानुनले नमिल्ने भन्दै मैले मानिन ।’ समाजको कुरा टुंग्याउन नपाउँदै क्वारेन्टाइनबाट फोन आएपछि आफू बाहिरिएको उनले दाबी गरे । साँझ किशोरी झुण्डिएको खबर सुनेपछि आफू घटनास्थल पुगेको उनले बताए । आफूले यस्तो घटना होला भनेर कल्पना नगरेको उनले बताए । स्थानीय विद्यालयमा ७ कक्षामा पुगेपछि अंगीराले पढाइ छाडेकी थिइन । उनका बाबुको ९ वर्षअघि मृत्यु भएको हो । उनीहरु चार बहिनी र एक भाइ हुन ।

प्रकाशित : जेष्ठ १५, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?