राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनी

सरकारको कमजोरीले कोरोनाको संक्रमण विस्तार भएको आरोप

काठमाडौँ — कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी दिएको छ । साथै उसले सरकारलाई परिपक्व र जिम्मेवार पहलकदमी लिन पनि आग्रह गरेको छ । 

राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनी

बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कमजोर तयारीका कारण कोरोना संक्रमण तीव्र रुपमा विस्तार भइरहेको आरोप लगाएका छन् । उनले सीमासम्बन्धी विषयमा अनुचित राजनीतिक प्रोपोगान्डाको बाटोमा सत्तापक्ष संलग्न हुनु दु:खद भएको बताएका छन् ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूगोल नेपालको भू–भाग हुन् अत: कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगतदेखि नै प्रस्ट धारणा राख्दै आएको छ । ती भू–भागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा नेपाली कांग्रेस रहेको जानकारी सर्वदलीय बैठक मार्फत दिइसकिएको छ,’ प्रवक्ता शर्माले भनेका छन् ।

यसबारे कांग्रेसले जेठ १७ गते केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गर्ने पनि प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

महत्वपूर्ण राष्ट्रिय विषयमा साझा स्वामित्वबोधका साथ नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न खोज्दा त्यसले संसदको प्रक्रियालाई असर पर्नु पर्ने कुनै कारण नभएको शर्माले बताए । ‘एकातर्फ नेपाली कांग्रेसले ‘समय मागेको’ झुटको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलीको प्रोपोगान्डाप्रति हाम्रो गम्भीर आपत्ति छ,’ शर्माले भने । कम्युनिष्ट सरकारका केही मन्त्री र एक मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न पनि प्रवक्ता शर्माले चेतावनी दिएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले नेपाली कांग्रेसको अनुरोधमा बुधबारको कार्यसूचीबाट संशोधन प्रस्ताव हटेको बताएका थिए । संशोधन प्रस्ताव फिर्ता नभएको र छिट्टै नै कांग्रेसको साथमा प्रस्ताव पास हुने उनले बताएका थिए ।

राष्ट्रिय एकताको बलमा नै सीमासम्बन्धी प्रश्नको हल गर्नुपर्ने कांग्रेसको प्रस्ट धारणा भएको पनि प्रवक्ता शर्माले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?