प्रदेश २ मा थपिए ७४ जना संक्रमित- समाचार - कान्तिपुर समाचार

प्रदेश २ मा थपिए ७४ जना संक्रमित

अजित तिवारी, अवधेश झा, सुनिता बराल

जनकपुर, राजिवराज, जलेश्‍वर — प्रदेश २ मा बिहीबार ७४ जना संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण फेला परेको बताए । 

उनका अनुसार धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १२, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जना संक्रमित थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका थप १३ जनामा संक्रमण देखिएको बताए ।

त्यस्तै महोत्तरीमा पनि थप १६ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार बिहीबार पुष्टि भएका सबै संक्रमितहरु भारतबाट फर्किएका हुन् । उनीहरु जलेश्वरको राविम क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका थिए । यसअघि महोत्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्

ब्लग : मारेर जातको ‌औकात ! 

तपाईं चुप लाग्नु भनेको नरसंहारको बचाउ गर्नु हो । जातकै कारण जुन जघन्य अपराध भयो, यो बर्बरताविरुद्ध बोलौं ।
निशा राई

काठमाडौँ — हिन्दीमा एउटा कथन छ- रिश्ते उन्ही से बनाओ जो निभाने की औकात रखते हो । अर्थात्, सम्बन्ध त्योसँग राख, जो सम्बन्ध निभाउन सक्षम छ ।

जाजरकोटका २० वर्षीय नवराज विकले त्यो भेउ पाएनन्। बराबरी नभएको जातसँग सम्बन्ध बनाउने कोसिस गरे । रुकुमकी १७ वर्षीया मल्ल युवतीसँग । जुन निभाउनै नसक्ने सम्बन्धको सुरुवात थियो। एउटा भूल !

'जाबो' दलित भएर ‌औकातबिना नै उपल्लो जातकी छोरीसँग प्रेम गर्ने भूल ! त्यो प्रेमलाई विवाहमा परिणत गर्ने अर्को भूल थियो । नवराजकी आमाले भनेकै थिइन् उनलाई, उपल्लो जातको बुहारी नल्याउनु भनेर। तैपनि नवराज आफ्ना साथीसहितको टोली लिएर केटीको गाउँ गए ।

करिब ६० जनाको हुलले उनीहरुमाथि ढुंगामुढा प्रहार गर्‍यो । केहीले हँसिया, चिर्पटले प्रहार गरे। तीमध्ये प्रत्यक्षदर्शी घाइते सरोजले नवराजलाई ढुंगाले हानेर मारेर भेरी नदीमा फालेको बताइसकेका छन्।

भूलको सजाय के पाए नवराजले ? न धम्की, न झ्यालखानाको बास । सिधै मृत्युको बाटो । अफसोस ! नवराजले आफ्नो औकात महसुस गर्ने मौका पाएनन्। सदाका लागि यो संसारदेखि बिदा भए ।

रुकुम चौरहजारीमा जेठ १० गते जुन घटना भयो, यसको एउटै ध्येय सिंगो दलित समुदायलाई उनीहरुको औकात चिनाउने थियो । आइन्दा कुनै सानो जातले ठूलो जातकासँग प्रेम नगरोस् भन्ने डर देखाउने नरसंहार थियो यो ।

घटनापछि सिंगो दलित समुदाय त तंरिगत छ नै गैरदलितहरु समेत झस्किएका छन् । म आफैं यो घटनाले नराम्ररी तंरगित भएकी छु। दिमाग खलबलिएको छ। कलिलो छोरा गुमाएको परिवारलाई कस्तो भएको होला ? सदियौंदेखि यो विभेदको आगोको ज्वालामा दहन भइरहेकालाई कस्तो भइरहेको होला ? हामी महसुस गर्न सक्दैनौं ।

सदनदेखि सामाजिक सञ्जालमा रुकुम घटनाको चर्चा चुलिएको छ। सदनमा सांसदहरु पनि खैलाबैला गरिरहेका छन्। दु:खद के थियो भने सांसद जनार्दन शर्माले रुकुम घटना दलित समुदायका कारणले घटेको भने । घटनाको बचाउका लागि बोलेको जस्तो सुनियो। जनार्दन कमरेडको सुषुप्त बाहुनवाद छर्लंग देख्न पनि पाइयो। तर कमरेडले याद राख्नुभएन दिलबहादुर रम्तेलले तपाईंहरुको युद्धमा आफ्नो रगत बगाएर सुरुवात भएको सशस्त्र युद्धले तपाईं गृहमन्त्री र सांसद हुन पाउनुभयो । तपाईंहरुको राजनीतिक परिवर्तनले सत्तामात्र परिवर्तन गरायो तर सामाजिक परिवर्तन जहीँको तहीँ छ।

घटनाबारे छानबिन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको गृहन्त्री रामबहादुर थापाले संसद्‌मा जानकारी गराइसकेका छन् । छानबिन समितिले माथिको आदेशमा अपराधीलाई जोगाउने शैलीमा अनुसन्धान नगरोस् । कैयौं घटना हुन्छन, समितिहरु गठन हुन्छन् तर न्यायको अवशेष शून्य भएको घटना जगजाहेरै छ। अर्का दलित युवा अजित मिजारको घटनाको पनि हेक्का राखौं ।

मैले ट्विट गरिरहेको लहरोमा केहीले मेन्सन गर्दै लेखे। उमेरको नपुगेको बेमेल विवाहका लागि अर्काको छोरी भगाउनेलाई पूजा गरेर राख्ने ? लकडाउनको समयमा अर्काकी छोरी भगाउन जाने ? एनजीओ र मिडियालाई मसला हो यो घटनासमेत भन्न भ्याए । टोलमा एक झ्यालबाट अर्कोमा झ्यालमा कुराकानी हुँदै थियो, 'अर्काकी छोरी लानेलाई मार्नैपर्छ, सानो जात भईकन ठूलो जातको छोरी ताक्नेलाई ठिक्क परो ।'

यतिबेला घटनालाई तोडमोड गर्न सबै लागिपरेका छन् । कथित उच्च जातकाहरु अनेक कुतर्क झिकेर 'डाइभर्ट' गर्न खोजिरहेका छन् । नवराज कति उमेरको थियो भन्ने कुरा गौण हो । ऊ दलित जातकै कारण मारिनु महाअपराध हो। ठूलो जातको आडम्बरमा मान्छे मार्न पाइने छुट कसैलाई छैन । बेमेल विवाहका प्रशस्तै घटना सुनिन्छन्। तर सजायको भागीदार दलितले मात्र भोग्नुपर्ने ? एकथरी प्रेम गर्दा जात किन नहेरेको भन्ने पनि देखिए । प्रेम गरेको आडमा ज्यानै लिनुपर्ने कस्तो अपराध हो यो ?

यी तमाम जमातले नजरअन्दाज गरेको कुरा दलितहरु मर्दै गरुन्, तिनीहरुको औकात के छ र भन्ने मानसिकता हो ।

जसरी हामी नजरअन्दाज गर्छौं, वर्षौंदेखि हाम्रा फाटेका जुत्ताका तलुवा जोड्दाजोड्दै आफू खिइएको कुरा । हाम्रो फोहोर कसिंगर बढारेर लैजाँदा आफै धुमिलिएकाहरुको कुरा । हाम्रो आङको कपडा सिउँदै आएकाहरुको चसक्क सियोले घोचेका कुरा । आरनमा पोलिँदै हँसिया बनाउन बसेकाहरुको मनमा उठेका ज्वालाका कुरा । जुन भोगाइ र पोलाइ हामी बुझ्न सक्दैनौं भन्दा पनि बुझ्न चाहँदैनौं जस्ता कुरा। तर अब यो ज्वारभाटा उठ्नुपर्छ। दलितलाई मात्र होइन सबैलाई पोल्नुपर्छ यो घटनाले। बोल्नुपर्छ सबैले अन्यायका विरुद्ध । नत्र यो खोस्टे संविधान अनि राजनीतिक परिवर्तन केका लागि ? छुवाछुतबारे त उहिल्यै मुलुकी ऐन बोलेको थियो । जातीय भेदभाव र छुवाछुत कसुर ऐनको के मतलब रह्यो र ?

केही महानुभाव तटस्थ छन् । घटनाको छानबिन सत्यतथ्य नआएसम्म नबोल्ने अठोटसहित । केही मिडिया पनि एक हिसाबले तटस्थता निभाउन सफल देखिन्छन्। तपाईं चुप लाग्नु भनेको एउटा नरसंहारको बचाउ गर्नु हो । बर्बरताको घटनामा तटस्थता कायम राख्नु दण्डहीनताको पक्षपोषण गर्नु हो । जातकै कारण रुकुममा जुन जघन्य अपराध घट्यो । यो बर्बरताविरुद्ध बोलौं ।

बरु, दलितहरुको प्रेम गर्ने अधिकार छैन भनेर संविधानमै लेखिदिनुस् । बारम्बार उनीहरुलाई मारेर उनीहरुको जातको ‌औकात नदेखाइराख्नुस् !

प्रकाशित : जेष्ठ १५, २०७७ ११:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×