३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपालका भारतीय शुभेच्छुक भन्छन्- ‘भारतले नियतवश अपमान गर्‍यो’

सीमा विवाद समाधानका लागि दुई देशबीच तत्काल संवाद थाल्न जोड
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल र भारतबीच मित्रवत् सम्बन्धका पक्षधर तथा नेपालका शुभेच्छुकले सीमा विवादका कारण दुई मुलुकबीच पछिल्लो समय बढेको तनावलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनीहरुले भारतलाई नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध ख्याल गर्दै अन्य मुलुकसँग जस्तो भाषा प्रयोग नगर्नसमेत आग्रह गरेका छन् ।

नेपालका भारतीय शुभेच्छुक भन्छन्- ‘भारतले नियतवश अपमान गर्‍यो’

सीमा विवाद समाधानका लागि दुई देशबीच तत्काल संवाद थाल्नुपर्ने र त्यसको कुनै विकल्प नभएको पनि उनीहरूको भनाइ छ ।

तिनैमध्येका हुन्– भारतको माथिल्लो सदन राज्यसभाका सदस्य तथा वरिष्ठ राजनीतिज्ञ केसी त्यागी । त्यागी दिल्लीको राजनीतिक वृत्तमा दुई देशबीच मित्रवत् सम्बन्धको निरन्तर पैरवी गर्ने राजनीतिज्ञका रूपमा चिनिन्छन् । उनी २०७२ सालमा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका विरुद्धमा समेत दह्रो उभिएका थिए । त्यागीले सीमा विवादलाई लिएर दुई देशबीच तनावपूर्ण स्थिति सिर्जना हुनु निकै दुर्भाग्यपूर्ण रहेको बताए ।

‘नेपाल र भारतबीच ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध मात्र छैन, दुई देश सुखदु:खका साथी पनि हुन्,’ उनले भने, ‘भारतको स्वतन्त्रता आन्दोलनमा कोइराला परिवारको अहंभूमिका थियो । त्यसैगरी जयप्रकाश नारायण र राममनोहर लोहिया पनि भूमिगतरूपमा नेपाल जाने–आउने गर्नुहुन्थ्यो र नेपालको लोकतान्त्रिक आन्दोलनमा सदैव उहाँहरुको साथ रह्यो ।’ उनले पानी र सीमालाई लिएर दुई छिमेकबीच विवाद हुनु नौलो नभए पनि नेपाल र भारतबीच सम्बन्धको स्तरका आधारमा यस किसिमको विवाद हुनु चिन्ताजनक भएको बताए ।

त्यसैगरी भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता मणिशंकर ऐय्यरको छवि पनि सँधै नेपालमैत्री रहँदै आएको छ । उनकै पहलमा भारतको माथिल्लो सदन राज्यसभामा नेपालमाथि लगाइएको नाकाबन्दीको विषयमा छलफल भएको थियो । उक्त छलफलमा सांसदहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै नाकाबन्दी लगाउने निर्णय गर्नु गलत भएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । ऐय्यर सधैं नेपाल र भारतबीच मित्रवत् सम्बन्धको पक्षपाती रहँदै आएका छन् । उनले सीमा विवादका कारण पछिल्लो समय दुई देशबीचको सम्बन्धमा देखिएको तनावबाट आफू निकै दु:खी भएको बताएका छन् । उनले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने र नेपालले भारतको सुरक्षा चासोमा ध्यान दिनुपर्ने बताए । ‘पछिल्ला वर्षहरुमा दुई घनिष्ठ मुलुकबीचको सम्बन्धमा निकै उतारचढाव आउनु विडम्बनापूर्ण छ,’ उनले भने, ‘दुई प्रधानमन्त्रीबीच भेटघाट पनि भएका छन् तर पछिल्ला वर्षमा दुई मुलुकबीच तनावपूर्ण स्थिति बनेका छन् ।’

राजनीतिज्ञ तथा सामाजिक अभियन्ता योगेन्द्र यादवले नेपाल र भारतबीचको सम्बन्ध कुनै दुई देशबीचको विदेश नीतिको मामिला मात्र नभएको उल्लेख गर्दै भारतले नेपालसँग अमेरिका र अन्य मुलुकसँगको जस्तो भाषा प्रयोग गर्न नहुने बताए । ‘एसियामा नेपाल र भारत मात्र यस्ता छिमेकी मुलुक हुन् जसको सम्बन्धको आधार भनेका भूगोल र राजनीतिभन्दा पनि सांस्कृतिक एकता, आर्थिक अभिन्नता एवं देशीविदेशी शोषक (भारतमा ब्रिटिस र नेपालमा राणा) विरुद्धको संघर्षमा ऐतिहासिक योगदान हुन् । त्यही भएर अन्य देशसँग जस्तो व्यवहार र भाषा प्रयोग गर्नु हुँदैन,’ उनले भने ।

वरिष्ठ पत्रकार तथा लेखक भरत भूषण नेपाल र भारत सम्बन्धमा राम्रो दख्खल राख्ने दिल्लीका थोरै पत्रकारमध्ये अग्र पंक्तिमा आउँछन् । २०४६ सालको राजनीतिक परिवर्तनको पूर्वसन्ध्यामा काठमाडौं नै पुगेका भूषण त्यसयताका सबैजसो राजनीतिक घटना क्रमसँग परिचित छन् । उनको नेपाली राजनीतिज्ञदेखि बौद्धिक वर्गसँग पनि राम्रै हिमचिम छ । उनले नेपाल र भारत इतिहासदेखि नै घनिष्ट मित्र रहेको उल्लेख गर्दै एउटा भूभागका लागि त्यो मित्रता टुट्ने परिकल्पना पनि गर्न सकिने बताए । पूर्वकूटनीतिज्ञ, लेखक तथा राजनीतिज्ञ पवन बर्माले पनि दुई देशबीच निकै घनिष्ट सम्बन्ध रहँदै आएको उल्लेख गर्दै सीमा विवाद र माथिल्लो तहबाट आएका अभिव्यक्तिले सम्बन्धमा तनाव सिर्जना हुनु दु:खद भएको बताए ।

कांग्रेसका वरिष्ठ नेता ऐय्यरले हालको परिस्थिति सिर्जना हुनमा केही हदसम्म भारत जिम्मेवार भएको समेत बताए । उनले नेपालका तर्फबाट सीमा विवादमा छलफल गर्नका लागि बैठक डाक्न बारम्बार आग्रह हुँदासमेत त्यसलाई बेवास्ता गरेर भारतले नेपालको नियतवश अपमान गरेको आरोपसमेत लगाए ।

भारतले नेपाली भूमि हुँदै चीनको मानसरोवर जोड्न निर्माण गरेको तवाघाट–लिपुलेक सडकअन्तर्गतको नज्याङ खण्ड । तस्बिर : मनोज बडू/कान्तिपुर

भारतले गत नोभेम्बरमा लिपुलेकसम्मै समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालले तत्काल विरोध जनाएको थियो । सीमासम्बन्धी विवाद समाधानका लागि दुईपटकसम्म विदेश सचिवस्तरीय संयन्त्रको बैठक डाक्न अनुरोध गरेको थियो । तर भारतले नेपालको उक्त अनुरोधलाई बेवास्ता गर्‍यो । उता यादव छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धमा कटुता र विवाद आउनुमा भारत सरकारको अदूरदर्शिताको बढी परिणाम ठान्छन् ।

परिस्थिति तनावपूर्ण बने पनि विवाद समाधानका लागि वार्ताको विकल्प नभएको र त्यसमा भारतले पहल गर्नुपर्नेमा सबैजसोले जोड दिएका छन् । वरिष्ठ राजनीतिज्ञ ऐय्यरको भनाइमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान र भारतको सुरक्षा चासो सम्बोधन हुने गरी सीमा विवादको समाधान गर्न सकिन्छ । ‘विगतमा पनि दुई देशका उच्च राजनीतिक तहले विभिन्न विषयमा उच्च समझदारी देखाएका प्रशस्त उदाहरण छन् । भविष्यमा पनि समझदारी गरेर बुद्धिमत्ता देखाउनेमा म विश्वस्त छु,’ उनले भने ।

जनता दल युनाइडेढका प्रमुख महासचिवसमेत रहेका त्यागीले २०१५ को नाकाबन्दीले भारतलाई लिएर नेपालमा अविश्वास बढाएकाले पछिल्लो विवादलाई थप नचर्काउन चाँडै वार्ता थाल्नुपर्नेमा जोड दिए । ‘विदेश सचिवस्तरीय संयन्त्रले चाँडो विवादको गहिराइमा गएर समाधान खोज्नुपर्छ । अन्यथा दुई देशबीच अविश्वास झनै बढ्दै जान्छ,’ उनले भने ।

वरिष्ठ पत्रकार भूषण पनि पछिल्लो विवादलाई आवेगमा भन्दा सुझबुझपूर्ण कूटनीति र संवादबाट टुंग्याउनुपर्ने धारणा राख्छन् । उनले केही समय लागे पनि समस्या समाधानको विकल्प नभएको बताए । ‘पुरानो विषय भएकाले तत्काल समाधान नहोला तर संवाद र कूटनीतिभन्दा पर केही छैन’ उनले भने । भूषणले नेपाल र भारतबीचको कुनै पनि विवादमा संवादबाहेकको विकल्प शत्रुुले मात्र देख्ने दाबी गरे । ‘समाधान भनेकै कूटनीति, कूटनीति र कूटनीति मात्र हो,’ उनले थपे ।

पूर्वसांसदसमेत रहेका बर्माले पनि दुवै देशले एकअर्कालाई आरोपप्रत्यारोप गर्न छाडेर वार्तामा बस्नुपर्ने धारणा राखे । उनले भारतीय सेना प्रमुख र नेपालका प्रधानमन्त्रीले दिएका जस्ता अभिव्यक्तिले दुवै मुलुकबीच रहँदै आएको घनिष्ठ सम्बन्धलाई हानि पुर्‍याउनेसमेत जिकिर गरे । ‘म कुनै पनि पक्षबाट आउने यस किसिमका अभिव्यक्तिको विरोध गर्छु,’ उनले भने ।

त्यसैगरी, स्वराज इन्डिया पार्टीका प्रमुखसमेत रहेका यादवले अहिलेको नाजुक घडीमा नेपाल र भारतबीचको सम्बन्धलाई समुधुर बनाइराख्न भारत सरकारले तुरुन्त पहल गर्नुपर्ने बताए । उनले नेपाल र भारतबीचको सम्बन्धमा निरन्तर संवाद दुई देशका लागि मात्र नभएर सम्पूर्ण हिमालय क्षेत्र र पूरै एसियाको आवश्यकता भएको तर्क गरे । एउटा ठूलो मुलुक भएका नाताले शान्त कूटनीतिमार्फत यसको समाधान खोज्ने जिम्मेवारी भारतको भएको समेत यादवले बताए । तर त्यसविपरीत भारत सरकारले उत्तेजक अभिव्यक्ति दिएर परिस्थिति थप बिगारेको उनले टिप्पणी गरे । त्यसमा पनि भारतीय सेना अध्यक्षले चीनतर्फ इसारा गर्दै नेपालविरुद्ध दिएको अभिव्यक्ति अप्रत्याशित र अर्मायादित भएको यादवको भनाइ छ ।

यादवले नेपाल र भारतको मित्रता जोगाइराख्न सीमा विवाद समाधानका लागि गठित संयन्त्रको बैठक डाक्नुपर्ने नेपालको आग्रहलाई तत्काल स्वीकार गर्न पनि भारत सरकारलाई भनेका छन् । उनले नेपालमा चीनको हस्तक्षेपका कारण भारत र नेपालका जनताबीचको सुमधुर सम्बन्धलाई कमजोर बन्न दिन नहुनेसमेत धारणा राखेका छन् । ‘पछिल्लो नक्सा विवाद र यसको अन्तर्राष्ट्रिय आयामलाई मध्यनजर गर्दै दुवैतर्फबाट शीर्ष तहमा तत्काल संवाद थाल्नुपर्छ । अनि मात्र भारतको लामो समयदेखि हिमालय नीतिमा कायम रहेको अधुरोपन हटाउन सघाउने पुग्नेछ,’ यादवले भने ।

प्रकाशित : जेष्ठ १५, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?