राप्तीमा छाडिएको घडियाल बंगालको खाडी नजिक भेटियो

गोविन्द पोखरेल

काठमाडौँ — चितवनको कसरास्थित घडियाल प्रजनन् केन्द्रबाट राप्ती नदीमा छाडिएको घडियाल दुई महिनामा ११ सय किलोमिटरको दूरी पार गर्दै भारतको पश्चिम बंगलास्थित हुग्ली नदीमा पुगेको छ ।

राप्तीमा छाडिएको घडियाल बंगालको खाडी नजिक भेटियो

भारतको पश्चिम बंगालको नाडिया जिल्लाको रानीघाटको हुग्ली नदीमा नेपालबाट छाडिएको घडियाल त्यहाँका माझीहरुले जालमा पारेको वाइल्डलाइफ ट्रस्ट अफ इन्डिया(डब्लूटीआई)ले जनाएको छ ।

मार्च १७ तारिखमा राप्ती नदीमा घडियाल प्रजनन् केन्द्रले ६ वर्ष उमेरका ५० वटा घडियाल छाडेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले बताए ।

भारतीय माझीहरुले रानी घाटमा उक्त घडियाललाई मे १७ मा जालमा पारेका थिए । घडियालको पुच्छरमा केही चिनो र नम्बर देखेपछि त्यहाका संरक्षणकर्मीले आफूलाई सम्पर्क गरेको खड्काले कान्तिपुरलाई बताए ।

उक्त घडियाल राप्ती नदी हुँदै नरायणी र त्यसपछि गण्डक ब्यारेक हुँदै गंगा नदी पुगेको थियो । त्यसपछि फाराक्का नदी हुँदै पश्चिम बंगालको हुग्ली नदी पुगेको संरक्षणकर्मीहरुले बताएका छन् । त्यहाँबाट बंगालको खाडी एक सय ९० किलोटिमरको दूरीमा छ । संरक्षण अधिकृत खड्का अनुसार अन्य १० वटा घडियाल पनि त्यहाँ पुगेको खबर पाएपनि त्यो पुष्टि नभइसकेको बताए ।

प्रजनन् केन्द्रबाट छाडिएका घडियाल ६० दिनमै ११ सय किलोमिटर यात्रा तय गरेपछि संरक्षणकर्मीहरुले यसलाई निकै चासो दिएका छन् । उनीहरुले मानिसका लागि 'पोलिटिकल बाउन्ड्री' भए पनि जीवजन्तुहरुलाई कुनै सीमा नहुने घडियालको यो यात्राले पुष्टि गरेको बताएका छन् । पश्चिम बंगलामा भेटिएको यो घडियाल कसरामा २०७१ साल जेठमा कोरलिएको थियो । त्यहाँका संरक्षणाकर्मीहरुले उक्त घडियाललाई उद्धार गरेर पुनःनदीमै छाडिदिएको डब्लूटीआईले जनाएको छ ।

हुग्ली नदीमा जालमा परेको घडियाल । तस्बिरः डब्लूटीआई

राप्ती नदीमा छाडिएको घडियाल हुग्ली नदीमा भेटिएपछि यसको बासस्थान कति क्षेत्रसम्म हो भन्ने नयाँ अध्ययन जरुरी देखिएको खड्का बताउँछन् । राप्ती र नारायाणी घडियालका लागि उपयुक्त बासस्थान क्षेत्र सय किलोमिटर मात्रै छ । सन् २०१८ मा चितवनमा गरिएको गणनामा २ सय १८ वटा घडियाल पाइएका थिए ।

कसरी सम्भव भयो त ?

करिब ६ वर्षसम्म प्रजनन् केन्द्रमा हुर्काएर राखिएका घडियालहरु भारतमा पुगेपछि संरक्षणकर्मीहरुले विभिन्न प्रश्नहरु गर्न थालेका छन् । वाइल्डलाइफ बायोलोजिस्ट दिनेश न्यौपानेका अनुसार प्रजनन् केन्द्रमा हुर्काइएका घडियाललाई एक्कासी खोलामा छाडिदा नदीको बहावमा उनीहरुलाई तत्कालै अनुकूल (एडप्ट) हुन समय लाग्छ । राप्ती/नारायणीको नदीको बहाव धेरै नै भएकाले पोखरीमा हुर्काइएका घडियाललाई नदीको बहावमा भिज्न नसेकाले उनीहरु नदीको गतिसँगै तलतिर गएका हुन् ।

यस्तै नदीमा खानाको कमी भएकाले पनि उनीहरु तल्लो क्षेत्रतिर गएको हुन सक्ने अनुसन्धानकर्मीहरुको भनाइ छ । घडियालले खाने माछा नै पर्याप्त नभएपछि दक्षिणी क्षेत्रमा उनीहरु जान रुचाउने हुँदा त्यसैको खोजीमा गएको हुन सक्ने न्यौपोनको भनाइ छ ।

पोखरीबाट छाडिएको घडियाललाई उत्तरी क्षेत्रमा जानुभन्दा दक्षिणी क्षेत्र जान सजिलो हुने भएकाले उनीहरुले लामो यात्रा गरेको हुन सक्ने अनुसन्धानकर्मीहरुको भनाइ छ । यस्तै, नेपालमा खानाको खोजीमा या बगेर गएका जलचरहरु भारतीय ड्यामका कारण पनि फर्कन पाउँदैनन् । गण्डक ब्यारेजमा ‘फिस ल्याडर’ नहुँदा नेपालका जलचरहरु भारत पुगेपछि फर्कन सम्भव देखिदैन ।

नेपाली भूभागमा भारतले निर्माण अधिकांश बाँधहरुमा जलचर ओहोरदोहारका लागि आवश्यक पर्ने ‘फिस ल्याडर’निर्माण गरिएको छैन । यसका कारण भारत पुगेका घडियाल फर्कने सम्भावना नरहेको गोही विज्ञसमेत रहेका खड्काले बताए ।

खड्काले ठूला जीवहरु तल्लो क्षेत्रमा गएपछि उनीहरलाई माथि उक्लन गाह्रो हुने र नेपाल र भातरको सीमामा निर्माण गरिएको बाधमा जलचरलाई हुने किसिमको कुनै पनि संरचना नहुँदा यो सम्भव नभएको उनले बताए । घडियालको बासस्थान गंगा नदी बेसिनको तटीय क्षेत्र हो ।

४० वर्षमा १५सय १५ घडियाल छाडिए

संकटापन्ना सूचीमा सूचीकृृत सरिसृप जीव घडियाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।

यो जीवको संरक्षणका लागि भनेर नेपालमा सन् १९७८ सालदेखि कसरामा प्रजनन् केन्द्रको स्थापना गरिएको थियो । करिब ४० वर्षको अवधिमा नेपालका नदीहरुमा करिब १५ सय १५ वटा घडियाल छाडिएको छ । हाल नेपालमा यसको संख्या ३ सय भन्दा कम छन् ।

प्रजनन् केन्द्रले वार्षिक ५० वटासम्म घडियाललाई नदीमा छाड्ने गरेको छ । यसका लागि केन्द्रले हरेक वर्ष घडियालको अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा रहेका घडियाललाई ओथरा बस्न दिइन्छ । ती मध्ये ६० प्रतिशतमात्रै बाँच्ने गरेको प्रजनन् केन्द्रले जनाएको छ ।

नदीमा छाडिएका घडियालहरु बासस्थान र खाना खोज्दै भारतमा पुग्न थालेपछि यसले संरक्षणका लागि गरिएका प्रयासहरुलाई नयाँ चुनौती खडा गरिदिएको छ । वाइल्डलाइफ बायोलोजिस्ट न्यौपाने संरक्षणका लागि गरिएका प्रयासहरुमा अब पुर्नविचार गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामीले गरिएको संरक्षणका प्रयास राम्रै भएपनि के कारणले नेपालमा छाडिएका घडियालहरु त्यति लामो यात्रा गर्दै भारतका नदीहरु पुगिरहेका छन् । कतै हामी केहीमा चुकरिहेका छ त छैनौ ?यसतर्फ पनि अध्ययन गर्नुपर्छ ।’

जालमा परेको घडियाल । तस्बिरः डब्लूटीआई ।

सन् २०१६ को गणनामा नेपालमा कूल १ सय ९८ वटा घडियाल पाइएका थिए । यस्तै, २०१८मा चितवनमा गरिएको गणनामा २ सय १८ वटा घडियाल पाइएका थिए । नेपालमा यो प्रजाति राप्ती,कर्णाली,बबई र कर्णालीमा मात्रै पाइन्छ । सन् २०१३ पछि कोसीमा घडियालको रकेर्ड गरिएको छैन ।

बढ्दो प्रदूषण, बाँध निर्माण,चुरे क्षेत्रको दोहन,तटीय क्षेत्रको विनास,नदी क्षेत्रमा माछा मार्ने,जाल हान्ने जस्ता क्रियाकलापले घडियालको संरक्षणमा चुनौती रहेको खड्काले बताए ।

प्राकृतिक रुपमा जोगाउन गाह्रो

घडियाललाई प्राकृतिक रुपमा जोगाउनै गाह्रो हुन्छ । प्राकृतिक रुपमा यसको संख्या ६ सयका हाराहारीमा छन् । कसरा केन्द्रमा करिब ५ सय घडियाल छन् ।

प्राकृतिक रुपमा घडियालको भालेको संख्या अत्यन्तै न्यून हुन्छ । प्रजनन् केन्द्रमा सन् १९७८ देखि राखिएको त्यही एउटा मात्रै भाले छ । यस्तै राप्ती नदी क्षेत्रमा ५ वटा मात्रै छन् । यो जीवका अधिकांश जनसंख्या पोथी हुन्छन् । प्रजनन् केन्द्रमा अहिले ११ वटा माउ घडियाल छन् । तिनीहरुको उमेर पनि ४० कै हाराहारीमा रहेको खड्काले जानकारी दिए ।

नेपालमा बासस्थान विनाश, नदी क्षेत्रको प्रदूषण,बाँध निर्माण,माछा मार्ने क्रियाकलाप जस्ता अन्य गतिविधिले यसको संरक्षणमा चुनौती रहेको खड्काले बताए ।

नेपालमा हुर्काइएका घडियालहरु भारतमा गएर त्यहाँको संरक्षणमा सघाउ पुगे पनि भारतले घडियाल संरक्षणमा नेपाललाई कुनै सहयोग गरेको छैन । अहिले त्यहाँका स्थानीय संरक्षणकर्मीहरुले संरक्षणमा सहयोग गर्ने विषयमा छलफल सुरु भएको खड्काले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?