कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रुकुम घटना : मृतकको संख्या ४ पुग्यो

घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरीपछि पक्राउ परेका किशोरीसहित १२ जनालाई मंगलबार अदालतबाट म्याद थप गराइयो, ८ जना अझै फरार

जाजरकोट र रुकुम पश्चिम — पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । घटनापछि बेपत्ता भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको शव बुधबार भेटिएको छ । यसअघि तीन जनाको शव भेटिएको थियो । दुई जना अझै बेपत्ता छन् ।

रुकुम घटना : मृतकको संख्या ४ पुग्यो

सुनारको शव भेरी नगरपालिका–१३, कुदुस्थित भेरी नदी किनारमा फेला परेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार यसअघि भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव पनि भेरी नदीमै भेटिएको थियो । घटनामा १२ जना घाइते भएका थिए ।

शनिबार आफ्नी १७ वर्षीया प्रेमिकालाई बेहुलीका रूपमा भगाउन नवराजसहित सोती पुगेका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका भनिएकी किशोरी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेका भेरी नगरपालिका–११ का गोविन्द शाही र वडा–४ का सन्दीप विक अझै बेपत्ता छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीलगायतले बेपत्ताको खोजी जारी राखेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल, शमशेरगन्जको गोताखोर कार्यालयबाट असई रमेश थापा नेतृत्वको गोताखोर टोली जाजरकोट पुगेको छ ।

पीडित परिवारको उजुरीका आधारमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । किटानी जाहेरी परेका थप ८ जनाको खोजी भइरहेको रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष मल्लसहित १७ वर्षीया किशोरी र उनका आफन्तविरुद्ध मंगलबार अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान सुरु गरिएको छ । पीडित पक्ष र घटनास्थलका बासिन्दाको प्रारम्भिक बयानका आधारमा स्थलगत अध्ययन गरिएको उनले बताए ।

पीडित पक्षको एक समूह बुधबारदेखि जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा आमरण अनशनमा बसेको छ । घटनाको जाजरकोट प्रहरीले अनुसन्धान गर्नुपर्ने, जाजरकोट अदालतबाटै मुद्दाको सुनुवाइ हुनुपर्ने, दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्ति तथा राहत दिनुपर्नेलगायत माग राख्दै उनीहरूले अनशन सुरु गरेका हुन् । मृतक नवराज र गणेशको शवको बुधबार पोस्टमार्टम भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

यसैबीच, घटनाको भएको पाँचौं दिन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले घटनास्थलको स्थलगत अवलोकन गरेका छन् । संघीय प्रहरी इकाई कर्णाली प्रदेशका प्रमुख एसएसपी कोषराज पोखरेल, रुकुम पश्चिमका प्रजिअ उपेन्द्रराज पौड्याल, नेपाली सेनाको नरसिङ दलका प्रमुख सेनानी दिनेश गौतम, जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसी र सशस्त्र प्रहरीका डीएसपी धनबहादुर सिंह ठकुरीले घटनास्थलको स्थलगत अवलोकन गरेका हुन् ।


प्रकाशित : जेष्ठ १४, २०७७ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?