२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

संविधान संशोधनको विषयमा हाम्राविरुद्ध प्रोपोगन्डा गरियो : कांग्रेस 

कुलचन्द्र न्यौपाने

काठमाडौँ — संविधान संशोधनको विधेयक बुधबारको संघीय संसदमा टेबुल नभएको बिषयलाई लिएर पार्टी जोडिन पुगेपछि विज्ञप्ति जारी गर्दै कांग्रेसले यस दोषको भागिदारी लिन अस्वीकार गरेको छ । पार्टी प्रवक्ता विश्वप्रशकाश शर्माले बुधबार साँझ विज्ञप्ति प्रकाशित गरि कांग्रेसमाथि गोयबल्स शैलीमा आरोप लगाईएको भन्दै निन्दा गरेका छन् ।

संविधान संशोधनको विषयमा हाम्राविरुद्ध प्रोपोगन्डा गरियो : कांग्रेस 

मंगलबारको सर्वदलीय बैठकमा संविधान संशोधनका बारेमा पार्टीको केन्द्रीय कार्यसमितिले आधिकारिक धारणा सार्वजनिक गर्ने सभापति शेरबहादुर देउवाले जानकारी गराएका थिए । संविधान संशोधनका लागि कांग्रेस या जनता समाजवादीको समर्थन आवश्यक हुने भएकाले सरकारले कांग्रेसको निर्णयसम्म पर्खनका लागि संसदको कार्यसूचीमा बुधबार राख्ने भनिएको संविधान संशशोधन विधेयक हटाएको बताएको थियो ।

‘प्रधानमन्त्रीले हिजो जेठ १३ गते बोलाउनु भएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले लिपुलेकमा भारतले बनाएको सडकप्रतिको आफ्नो प्रष्ट विरोध र नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नक्साप्रतिको आफ्नो समर्थन प्रष्ट भाषामा प्रस्तुत गरिसकेको छ’शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ,‘यस्तो पृष्ठभूमिमा संविधान संशोधनको प्रस्तावप्रति पार्टी केन्द्रीय समितिकै बैठकबाट संस्थागत निर्णय लिइने पूर्व घोषणा सर्वदलीय बैठकमा जानकारी गराइएको बिषयलाई ‘कांग्रेसले समय मागेको’भन्ने ढंगले

उच्च तहबाट सम्प्रेषण गरिनु र आज संसदको कार्यसूचीबाट संशोधन विधेयक हटाएर त्यसको दोष नेपाली कांग्रेसलाई थोपर्न खोज्नु नियोजित, निन्दनीय र आपत्तिजनक छ ।’

आइतबारकै पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेर आधिकारिक निर्णय लिने बताएको थियो । तर, कांग्रेसले अहिलेसम्म केन्द्रीय समितिको बैठक भने डाकेको छैन । विज्ञप्तिमा केन्द्रीय समितिको बैठक कहिले बस्दैछ भन्नेबारे पनि जानकारी गराईएको छैन ।

‘संशोधन प्रस्ताव दर्ता हुँदै गर्दा प्रतिपक्षलगायत संसदमा रहेका कुनै पनि दलसँग परामर्श गर्ने कर्तव्य सरकारले स्मरण नगरे पनि संविधान संशोधनजस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जाँदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने धारणा कांग्रेसको छ,’प्रवक्ता शर्माले उल्लेख गरेका छन ।

कांग्रेसले सर्वदलीय बैठकमा प्रधानमन्त्री स्वयंले सर्वसम्मतिको अपेक्षा प्रस्तुत गरेको उल्लेख गरेको छ । ‘तर संसदको प्रक्रियालाई अन्य कुनै कारणले मुल्तबीमा राख्ने र दोष अरुलाई लगाउने प्रवृत्ति गम्भीर र खेदजनक छ,’कांग्रेसले भनेको छ,‘गोयबल्स शैलीका प्रोपोगन्डाहरु स्वदेशको सत्तादेखि विदेशको संचारमाध्यम जो कोहीबाट जुन रुपमा भएको होस् त्यसप्रति सजग रहँदै कुनै पनि खाले भ्रमबाट मुक्त रहन नेपाली कांग्रेस समस्त नेपाली दिदिबहिनी—दाजुभाइमा हार्दिक अपील गर्दछ ।’

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले पनि एक विज्ञप्ति प्रकाशित गर्दै प्रतिनिधि सभाको संभावित कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाइएको बिषयमा आफ्नो पार्टीलाई जोडिएकोमा आपत्ति प्रकट गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?