१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस नेताको प्रश्न- 'सर्वदलीय बैठकको जानकारी संसद्‌लाई किन दिइएन ?'

संविधान संशोधनको मुद्दा संसद्‌को प्रक्रियामा अघि बढिसकेकाले यस विषयमा हुने हरेक छलफलबारे संसद्‌लाई जानकारी गराउनुपर्ने माग ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले मंगलबार राखेको सर्वदलीय बैठकमा संविधान संशोधनका बारेमा भएका छलफलबारे संसद्‌लाई जानकारी नगराइएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

कांग्रेस नेताको प्रश्न- 'सर्वदलीय बैठकको जानकारी संसद्‌लाई किन दिइएन ?'

संविधान संशोधनको मुद्दा संसद्‌को प्रक्रियामा अघि बढिसकेकाले यस विषयमा हुने हरेक छलफलबारे संसद्‌लाई जानकारी गराउनुपर्ने नेताहरुको भनाइ छ ।

संसद्‌ले राष्ट्रिय सहमति खोज्न सरकारलाई आग्रह गरेको र त्यसलगत्तै भएको सर्वदलीय बैठकमा संसद्‌को प्रतिनिधित्व नभएको ती नेता बताउँछन् । सर्वदलीय बैठकमा संसदीय दलका प्रमुख सचेतक, सचेतक या कुनै पनि प्रतिनिधिलाई सहभागी नगराइएको प्रति पनि कांग्रेसको असन्तुष्टि छ ।

मंगलबारको छलफलमा संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरुलाई बोलाइएको थियो । कांग्रेस नेताहरुले आफ्नै दलको शीर्ष नेताहरुबाट समेत सर्वदलीय बैठकका भएका छलफलबारे जानकारी नभएको बताएका छन् । ‘प्रधानमन्त्रीले बोलाउनुभएको बैठक संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिट्टै प्रक्रियाबाट पारित गर्ने निष्कर्ष पुग्यो भन्ने सुन्यौं, खुसी लाग्यो, हाम्रो कर्तव्य पनि यही हो,’ कांग्रेस नेता मीनेन्द्र रिजालले भने, ‘अहिलेसम्म यस्ता बैठकका निष्कर्ष सहभागी नेताले आआफ्नो दललाई जानकारी दिने चलन छ । अब हामी राजनीतिक संक्रमणको चरणमा छैनौं । संविधानसम्मत राजनीतिक अभ्यास र परम्परा स्थापित गर्दै छौं । त्यस्ता बैठक, विशेषतः संसदीय गतिविधिमा सम्बन्धित बैठकका निष्कर्ष सरकारको तर्फबाट संसद्‌लाई जानकारी दिने परम्परा सुरु गरौं ।’ उनले बुधबारको संसद् बैठकमा बोल्दै सर्वदलीय बैठकबारे जानकारी नगराइएकोमा असन्तुष्टि जनाएका थिए ।

महत्वपूर्ण र ऐतिहासिक मुद्दाका विषयमा संसद्‌मा हुने छलफल र निष्कर्ष प्रत्यक्ष प्रसारण र संसदीय अभिलेखबाट चीरकालसम्म जीवन्त रहने उल्लेख गर्दै रिजालले यस्तो परम्परा सुरु गर्न प्रधानमन्त्रीसँग आग्रह समेत गरे । ‘संसद्‌लाई जानकारी दिनु सरकारको संसदीय उत्तरदायित्वभित्र समेत पर्छ, संविधानको मर्म र भावना पनि यही हो,' उनले भने, 'संसदीय सार्वभौमकिता पनि यही हो ।’

कांग्रेसका अर्का एक नेताले सर्वदलीय बैठकमा भएको छलफलबारे पार्टी सभापति देउवाले जानकारी पनि नदिने र तत्काल केन्द्रीय कार्यसमितिको बैठकसमेत नबोलाएको भन्दै असन्तुष्ट जनाए ।

संविधान संशोधनको विषयमा केन्द्रीय समितिले नै धारणा बनाउने भन्दै कांग्रेसको आइतबार बसेको पदाधिकारी बैठकले कुनै निर्णय लिएको थिएन । सभापति देउवाले प्रधानमन्त्री ओलीले मंगलबार डाकेको सर्वदलीय बैठकमा समेत केन्द्रीय कार्यसमितिले निर्णय पर्खन आग्रह गरेका थिए । ‘राष्ट्रियताजस्तो सवालमा हामी सरकारकै साथमा हुन्छौं भनेर मात्रै हुन्न, निर्णय प्रक्रियामा पनि विलम्ब गर्न हुन्न, कांग्रेसले निर्णय नगर्दा आजको संसद्‌मा संविधान संशोधनको कार्यसूचीले समेत प्रवेश पाएन,’ कांग्रेसका अर्का एक नेताले भने, ‘तत्काल केन्द्रीय कार्यसमिति बोलाएर निर्णय लिनुपर्छ ।’

बुधबारसम्म कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक कहिले बस्ने भनेर बोलाएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बैठकको मितिबारे बिहीबार बिहानसम्म जानकारी हुने बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?