अभिनेत्रीको नक्कली अश्लील भिडियो, आँचल शर्मा भन्छिन्– ‘दोषीले सजाय पाओस्’ 

रीना मोक्तान

काठमाडौँ — सोमबार अचानक अभिनेत्री आँचल शर्मालाई एक फेसबुक साथीले मेसेन्जरमा लिंक पठाइन् । उनको टाउको जोडेर बनाइएको अश्लिल भिडियो थियो त्यहाँ । नक्कली भिडियो हेरेर सुरुमा अचम्म मानिन् ।

अभिनेत्रीको नक्कली अश्लील भिडियो, आँचल शर्मा भन्छिन्– ‘दोषीले सजाय पाओस्’ 

‘भारतीय नागरिककै काम हो कि ? दुई देशको झगडमा नेपाली अभिनेत्रीलाई यस्तो नगर्नुपर्ने हो ?’ उनको मनमा अनेकन प्रश्न उब्जियो, जब मेसेन्जरमै ती साथीले फेरि ‘इन्डियन स्पाइडर स्क्वाड’ समूहको एउटा पोस्ट आँचललाई पठाइन् ।

उक्त पोस्टमा लेखिएको थियो, ‘अरु कलाकारको पनि यस्तै भिडियो चाँडै लिक हुँदैछ । हामी १२ जना नेपाली कलाकारको डिभाइसभित्र छिरिसकेका छौं । कालापानी, लिम्पियाधुरा र लिपुलेक इन्डियाको हो । तिमीहरु बाँच्न चाहन्छौं भने कोभिड–१९ सँग लड, भारतसँग होइन ।’

यस किसिमको धम्कीसहितको अश्लिल भिडियोले आँचल डराइन् । दर्शकले भिडियोलाई वास्तविक पो ठान्ने हो कि भनेर उनको मन बैचन भयो । ‘गाउँ/गाउँका दर्शकले टाउको जोडेर भिडियो बनाइएको हो भनेर थाहा पाउनु हुन्न । नराम्रो छाप पर्ला भन्ने डर भयो,’ उनले सुनाइन् ।

भिडियोबारे थाहा पाउनसाथ सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट पनि गरेकी थिइन् ।

‘आफ्नो देशको बारे बोल्दा राष्ट्रिय एकताको विषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपालीले यस्तो सहनुपर्ने ?’ उनले लेखेकी थिइन्, ‘जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन्, तीनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यतिबेला तपाई साथीभाइको अनि शुभचिन्तकको साथको जरुरी छ मलाई ।’

उनको पोस्टले फिल्म क्षेत्रमा यस विषयबारे चर्चा भयो । धेरै अभिनेत्रीहरुले यसको विरुद्धमा आवाज उठाए । हुन त पति उदिप श्रेष्ठले विदेशका सेलिब्रेटीको पनि यस्ता भिडियो बनिरहने कुरा बताएपछि उनलाई आफूमात्रै पीडित होइन भन्ने लागेको थियो । तर, त्यतिकैमा अन्य अभिनेत्रीहरुका त्यस्तै भिडियो सार्वजनिक हुन थालेपछि भने उनलाई कानुनी बाटो अपनाउनुपर्ने लाग्यो ।

मंगलबार कलाकार संघका अक्ष्यक्ष रवीन्द्र खड्काले उनलाई फोन सम्पर्क गरेर नआत्तिन ढाडस दिए । त्यसपछि कलाकार संघले महानगरीय अपराध अनुसन्धान महाशाखामा यसविरुद्ध उजुरी दिएको छ । आँचल संघकी कार्यसमिती सदस्य पनि हुन् । प्रविधिको दुरुपयोग गरेर चलचित्रसँग सम्बन्धित कलाकारको चरित्र हत्या गर्ने प्रयास भइरहेको र यसबारे आवश्यक अनुसन्धान गरी यस्ता गतिविधि रोक्न र पीडितलाई न्याय दिन मागसहित उजुरी दिएको खड्काले बताए ।

अभिनेत्री शर्मा यस्तो गलत काम गर्ने अपराधीले सजाय पाओस् भन्ने चाहन्छिन् । ‘मलाई त यो कसको काम हो भन्ने बुझ्ने मन छ । यस्तो तल्लोस्तरको काम कसले गर्‍यो पत्ता लागेको छैन । जसले यस्तो गलत काम गर्‍यो, त्यसले सजाय पाओस्,’ उनले भनिन् ।

महाशाखाका एसपी होविन्द्र बोगटीले अनुसन्धान सुरु भइसकेका जनाएका छन् । ‘कलाकारको अश्लिल भिडियो पोर्नसाइटमा बदनाम गरेर हाल्यो भनेर अपराध महाशाखामा उजुरी आएको छ । कलाकार संघले उजुरी गरेको हो । भिडियोको इडिटिङ नक्कली किसिमको देखिएको छ । अनुसन्धान सुरु भइसकेको छ ।’

प्रकाशित : जेष्ठ १४, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?