१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रुकुम पश्‍चिम घटना : अर्का व्यक्तिको शव फेला

हरि गौतम

रुकुम पश्चिम — सोती घटनाका अर्का एक व्यक्तिको शव भेटिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ अधेरेस्थित भेरी नदीमै भेरी नगरपालिका–११, जाजरकोटका १८ वर्षीय लोकेन्द्र सुनारको शव भेटिएको छ । शव खोज्ने क्रममा परिवार तथा आफन्तले सुनारको शव भेटाएका हुन् ।

रुकुम पश्‍चिम घटना : अर्का व्यक्तिको शव फेला

उनको शव जाजरकोट लगिएको छ । सुनारसित सोतीमा भएको घटनाका कारण ४ जनाको मृत्यु भएको छ ।

यसअघि जाजरकोटकै भेरी नगरपालिका–४, का २१ वर्षीय नवराज विक, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का २० वर्षीय टीकाराम नेपालीको शव भेरी नदीमै गत आइतबार भेटिएको थियो भने सोमबार भेरी नगरपालिका–४, जाजरकोटका १९ वर्षीय गणेश बुढा मगरको शव भेटिएको थियो । उक्त घटनामा अरु २ जना अझै बेपत्ता छन् । भेरी नगरपालिका–४, जाजरकोटका सञ्जु विक र ११ नम्वर वडाका १७ वर्षीय गोविन्द शाही बेपत्ता छन् ।

जेठ १० गते शनिबार चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले जाजरकोटतर्फबाट आएका युवालाई लखेटेर भेरीमा पुर्‍याएका थिए । सोतीकै एक १७ वर्षीया किशोरीसित प्रेम सम्बन्ध रहेको र उनलाई बिहेका लागि भगाउन भनेर आएका युवाहरुलाई गाउँलेले लखेटेका थिए । लखेट्ने क्रममा भेरीमा हाम्फल्दा उनीहरुको मृत्यु भएको गाउँलेको दाबी छ भने पीडित परिवारले भने जानाजान कुटपिट गरेर मारेपछि भेरीमा फालेको आरोप लगाएका छन् ।

पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धीको किटानी जाहेरी दिएका छन् । जसमध्ये रुकुम पश्चिम प्रहरीले १२ जनालाई पक्रेको छ भने ८ जनाको खोजी जारी रहेको बताएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले हराएकामध्यका अर्का एक जनाको शव भेटिएको बताए । घटना संलग्न भएका केहीलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको उनले बताए । अरु व्यक्तिको व्यक्तिको खोजी भइरहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?