सेती अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु 

मोहन बुढाऐर

धनगडी — कैलालीको गौरीगंगा ७ का ५५ वर्षीय एक पुरुषको सेती अस्पतालको आइसोलेसन कक्षमा  बुधबार बिहान ६ बजे मृत्यु भएको छ । उनलाई हिजो मंगलबार गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो ।

सेती अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सीमा नाकामा बेहोस अवस्थामा उद्धार गरिएका उनलाई सेती अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो । ‘बेहोस अवस्थामै अस्पताल पुर्‍याइएका उनलाई सुरुमा इमर्जेन्सी वार्डमा भर्ना लिइएको थियो,’ उनले भने, ‘उनमा मृगीको समस्या देखिएको जस्तो थियो । भारतबाट फर्किएको भएकाले मात्रै कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको हो ।’

ती व्यक्ति भारतको महाराष्ट्रबाट गौरीफन्टा नाकासम्म बसमा चढेर आएको बताइएको छ । बसबाट उत्रिँदै गर्दा सिमानामा बेहोस भएर ढलेपछि सीमामा रहेको नेपाली एम्बुलेन्समा राखेर अस्पताल पुऱ्याइएको थियो ।

सूचना अधिकारी श्रेष्ठले मृतकको कोरोना परीक्षणका लागि थ्रोट स्वाब पनि लिएको बताए । उनले भने, ‘यसअघि इमर्जेन्सी वार्डमा गरिएको आरडीटी परीक्षणमा एन्टिबडी नेगिटेभ देखिएको छ । पीसीआरको रिपोर्ट आउन बाँकी छ ।’

प्रकाशित : जेष्ठ १४, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?