आर्थिक सर्वेक्षण : बिदाइ गरिसकिएका शिक्षकको विवरण कार्यरतमै 

स्थायीको समेत तथ्याङ्क गलत– गत वर्ष २३ शिक्षकमात्र स्थायी !
मकर श्रेष्ठ

काठमाडौँ — सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा गोल्डेन ह्याण्डसेक दिएर बिदाई गरिसकेका अस्थायी शिक्षकलाई सामुदायिक विद्यालयमा अझै कार्यरत रहेको देखाएको छ । 

आर्थिक सर्वेक्षण : बिदाइ गरिसकिएका शिक्षकको विवरण कार्यरतमै 

आर्थिक सर्वेक्षणमा ३० हजार सात सय ९५ अस्थायी शिक्षक कार्यरत रहेको उल्लेख छ । यसमा कक्षा १ देखि ५ सम्म पढाउने २४ हजार ७ सय ३२, कक्षा ६ देखि ८ सम्म पढाउने दुई हजार आठ सय ३६, कक्षा ९ देखि १० सम्म पठाउने एक हजार तीन सय ९ र कक्षा ११ र १२ सम्म पढाउने एक हजार नौ सय १८ अस्थायी शिक्षक रहको अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो । कक्षा ११ र १२ मा अस्थायी शिक्षक भन्ने नै छैन । तर, सर्वेक्षणमा उल्लेख छ ।

‘सामुदायिक विद्यालयमा अहिले अस्थायी शिक्षक त छैनन्,’ शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तुलसी थपलियाले भने, ‘आर्थिक सर्वेक्षणमा आएको तथ्याङ्क मैले पनि हेरें । यो गत वर्ष विद्यालयले पठाएको तथ्याङक परेछ ।’

सरकारले शिक्षा ऐन आठौ संसोधन गरेर करिब २७ हजार अस्थायी शिक्षक व्यवस्था गरिसकेको छ । विद्यालय शिक्षक किताबखानाका महानिर्देशक दिनेश श्रेष्ठका अनुसार १० हजार ५ सय शिक्षकले गोल्डेन ह्याण्डसेक लिइसकेका छन् । अन्य शिक्षक प्रतिष्पर्धाबाट स्थायी भएका हुन् । ‘अब गोल्डेन ह्याण्डसेक पाउन बाँकी अस्थायी शिक्षक डेढ सय जति मात्रै छन,’ उनले भने, ‘उनीहरुको पनि कागजपत्र नपुगेर हो ।’ शिक्षा तथा विज्ञान मन्त्रालयका अनुसार उनीहरुका लागि करिब १० अर्ब रुपैयाँ गोल्डेन ह्याण्डसेकमा राज्यको खर्च भइसकेको छ । तर, सरकारको यस वर्षको आर्थिक बर्षको सर्वेक्षणमा विगतमा कार्यरतभन्दा पनि बढी अस्थायी शिक्षक कार्यरत रहेको गलत तथ्याङ्क सार्वजनिक भएको छ ।

‘यो तथ्याङ्क गलत हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यो तथ्याङ्कले सरकारको कामलाई नै गिज्यायो ।’ अर्थ मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको सर्वेक्षणमा अस्थायी शिक्षकको तथ्याङ्क ३० हजार १ सय २८ देखाएको थियो । यस वर्ष थप अस्थायी शिक्षक बढेको देखाएको छ । ‘अस्थायी त छँदै छैन । यो पछिल्लो दुई वर्षमा अवकास भएका शिक्षकको सट्टामा ११ हजारजति करार शिक्षक हुनसक्छ,’ महानिर्देशक थपलियाले भने ।

आर्थिक सर्वेक्षणमा स्थायी शिक्षकको तथ्याङ्कसमेत गलत छ । गत वर्षको आर्थिक सर्वेक्षणमा सामुदायिक विद्यालयमा ८० हजार तीन सय १२ शिक्षक स्थायी भएको भनिएको थियो । यस वर्ष थप २३ जनामात्रै स्थायी भएको देखाएर स्थायी शिक्षक ८० हजार ३ सय ३५ रहेको सर्वेक्षणमा उल्लेख छ । सामुदायिक विद्यालयमा एक लाख ७ हजार स्थायी शिक्षकको दरबन्दी छ । यसवर्ष खुला र आन्तरिक प्रतिष्पर्धाबाट करिब २७ हजार शिक्षक स्थायी भएका छन् । यो संख्या पनि स्थायी शिक्षकको संख्यामा थप भएको छैन ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?