कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सीमा विवादबारे मोदी सरकारले जानकारी दिएन : गान्धी

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष तथा नेता राहुल गान्धीले नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादबारे नरेन्द्र मोदी सरकारले पारदर्शी ढंगले जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सीमा विवादबारे मोदी सरकारले जानकारी दिएन : गान्धी

कांग्रेसले मंगलबार मध्याह्न आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा उनले नेपाल र चीनसँग सीमा विवाद किन भइरहेको छ भन्ने प्रस्ट जानकारी आफूहरुलाई नभएको बताए । ‘जबसम्म हामीलाई जानकारी गराइँदैन तबसम्म विवादबारे प्रस्ट बोल्न सकिँदैन,’ उनले भने ।

गान्धी दुई वर्षअघि नेपालको बाटो हुँदै मानसरोवरको यात्रामा गएका थिए । त्यस क्रममा उनी केही दिन काठमाडौं पनि बसेका थिए । काठमाडौं बसाइका बेला उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याक उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनावपूर्ण स्थिति बनेको सन्दर्भमा गान्धीबाट पछिल्लो धारणा आएको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्समार्फत पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर लामो उक्त सडकको उद्घाटन गरेका थिए ।

सडकको १९ किलोमिटर खण्ड आफ्नो भूमिमा भएपछि नेपालले विरोधस्वरूप भारतलाई ‘प्रोटेस्ट नोट’ समेत पठाइसकेको छ । भारतको उक्त कदमलाई लिएर नेपालमा चर्को विरोध भइरहेका बेला भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले ‘अरू कसैको इसारामा’ पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएका थिए ।

नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको थिंक–ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले गरेको वेबनारमा नेपालले गरिरहेको विरोधमा चीनको हात रहेको तर्फ संकेत गर्दै उनले त्यस्तो धारणा राखेका थिए ।

विवादकै बीच नेपालले सन् १८१६ को सुगौली सन्धिलगायत अन्य ऐतिहासिक तथ्य र प्रमाणलाई आधार बनाएर नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म समावेश गर्दै नयाँ नक्सासमेत जारी गरिसकेको छ ।

नेपाल र भारतबीच सीमा विवाद उर्त्कषमा पुगे पनि भारतका कांग्रेसलगायतका विपक्षी दलहरुले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । कांग्रेसका प्रवक्ता अशोक सिंघ्वीले अघिल्लो साता व्यक्तिगत रूपमा ट्वीट गर्दै नेपालजस्तो दशकौं पुरानो घनिष्ट मित्रसँग पनि भारतको निकै ठूलो दूरी बढेकामा सरकारले जवाफ दिनुपर्ने माग गरेका थिए ।

भारतको नेपालसँगको सम्बन्धमा चिसोपन कायम रहेका बेला चीनसँगको सम्बन्धमा पनि तनावपूर्ण बनेको छ । लद्दाख र सिक्किमको सीमावर्ती क्षेत्रमा सीमालाई लिएर यी दुई छिमेकीबीच केही दिनयता तनाव बढेको हो ।

प्रकाशित : जेष्ठ १३, २०७७ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?