कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कन्ट्याक्ट ट्रेसिङमा लापर्बाही, घर पठाइएका ३ जनामा संक्रमण

दाङमा जिल्लाभित्र र बाहिर पुष्टि भएका कसैको पनि कन्ट्याक्ट ट्रेसिङ भएको छैन । जसका कारण संक्रमण भयावह बन्न सक्ने सरोकारवालाले चेतावनी दिएका छन् ।

दाङ, रुपन्देही र बाँके — दाङमा कोरोना भाइरस संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा लापर्बाही देखिएको छ । अहिलेसम्म जिल्लामा ६ जना संक्रमित देखिएकामा ३ जना जिल्लाबाहिरका छन् । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएकाको कोरोना परीक्षणमा कसैको ध्यान पुगेको छैन ।

कन्ट्याक्ट ट्रेसिङमा लापर्बाही, घर पठाइएका ३ जनामा संक्रमण

काठमाडौंमा परीक्षण गर्दा जेठ ५ गते घोराही–९ का ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । एक सातापछि सोमबार मात्रै ट्रेसिङ गर्न थालिएको छ । उनी चैत १० गते घोराही आएर विभिन्न सामाजिक काममा सहभागी भएर वैशाख ३१ गते एम्बुलेन्सबाट काठमाडौं फर्किएको थाहा भएको छ । सोमबारदेखि भगवार गाउँ सिल गरेर ट्रेसिङ भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । संक्रमितको भगवारस्थित घर र तुलसीपुरमा रहेको ससुरालीमा सिल गरेर आवश्यक परीक्षणको तयारी गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए । संक्रमितको परीक्षण काठमाडौंमा भएको र सबै जानकारी लिँदा ट्रेसिङमा समय लागेको उनले बताए । ‘संक्रमितले काठमाडौंमा सेक्युरिटी गार्डको काम गर्ने गरेको खुलेको छ,’ खड्काले भने, ‘अन्य विस्तृत बुझ्ने क्रममा छौं । उनको सम्पर्कमा आएका सबैलाई होम क्‍वारेन्टाइनमा राखेर पीसीआर परीक्षण हुन्छ ।’

गुल्मी मदानेका कोरोना संक्रमित शिक्षक (जसको मृत्यु भइसकेको छ) को घरमा डेरा गरी बस्ने एक पुरुषमा संक्रमण पुष्टि भएको छ । उनको पनि ट्रेसिङ भएको छैन । जिल्लाभित्र र बाहिर पुष्टि भएका कसैको पनि अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङको काम भएको छैन । अहिलेसम्म जिल्लाभित्र गढवा गाउँपालिकाका २ र घोराही उपमहानगरपालिका–३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले बताए । एक जना तुलसीपुर–४ का ४७ वर्षीय पुरुषको काठमाडौंको शिक्षण अस्पतालमा आफन्तको उपचारमा गएका बेला जेठ २ गते संक्रमण पुष्टि भएको थियो । पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनी पाटन अस्पतालबाट आइतबार डिस्चार्ज भइसकेका छन् ।

घोराही–३ का पुरुषको स्थानीय कुइरेपानीस्थित क्‍वारेन्टाइनमा रहेका बेला संक्रमण पुष्टि भएको थियो । उनी जेठ ३ गते कृष्णनगर हुँदै भारतबाट आएका थिए । उनी भालुबाङसम्म बसमा र त्यहाँबाट घोराही उपमहानगरको टिपरमा चढेर क्‍वारेन्टाइनमा आएका थिए । उनीसँग ३२ जना आएको खुले पनि खोजी र परीक्षणमा कसैले ध्यान दिएको छैन ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नभएका कारण सबैलाई त्रसित बनाएको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन् । ‘हामीले परीक्षणमा पोजिटिभ देखिएका व्यक्तिको सम्पूर्ण विवरण प्रहरी, प्रशासन र सम्बन्धित स्थानीय तहमा पठाउने गरेका छौं,’ उनले भनिन्, ‘सबै बुझेर ट्रेसिङ गर्नुपर्ने हो तर अहिलेसम्म त्यस्तो भएको देखिँदैन ।’ ट्रेसिङ नहुँदा संक्रमण कहाँ कसरी फैलिइरहेको छ भन्ने थाहा हुन नसकेको उनले बताइन् । उनले भनिन्, ‘हामीलाई पनि कुन ठाउँका बिरामीको उपचारमा ख्याल गर्ने भन्ने नै थाहा भएको छैन ।’ यसअघि भारतबाट आएका मानिसको मात्रै निगरानी गर्ने गरेकामा अहिले स्थानीय स्तरमा वास्ता नगरिएको उनको भनाइ छ । ‘अहिले त संक्रमित धेरै ठाउँमा घुमिसकेको थाहा भएको छ तर त्यसको केही सोधीखोजी भएको छैन,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीलाई यसको जानकारी भयो भने उपचारमा सजिलो हुन्छ ।’

प्रतिष्ठानमा अहिलेसम्म १ हजार ६ सय ४४ जनाको स्वाब परीक्षण भएकामा ३६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । तीमध्ये ३ जना दाङका हुन् भने अन्य बाँके र बर्दियाका । अझै २ सय ६६ जनाको परीक्षणकै प्रक्रियामा रहेको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले बताए । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न हरेक स्थानीय तहमा ३ जनाको टिम बनाएर काम गर्न अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले बताइन् । ‘कति स्थानीय तहले टिम बनाएर काम गरिरहेका छन्, कतिमा अझै भएको छैन,’ उनले भनिन्, ‘ट्रेसिङको काम भइरहेको छ । सम्पर्कमा आएका मानिसको सबै अवस्था बुझेर क्‍वारेन्टाइनमा राखिरहेका छौं ।’

घर पठाइएका ३ जनामा संक्रमण

रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका २ क्‍वारेन्टाइनबाट घर पठाएका ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार बिहान प्रकाशित विज्ञप्तिमा ३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । जेठ ६ गते संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको स्वाब परीक्षणको रिपोर्ट आइतबार आएको हो ।

क्‍वारेन्टाइनमा रहेका ३५ मध्ये २० जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले सामाजिक सञ्जालमा गाउँपालिकाकै अध्यक्षको उपस्थितमा शनिबार रिपोर्ट नेगेटिभ आएको भन्दै इदको शुभकामनासहित सबैलाई घर पठाइएको उल्लेख गरेका थिए । तिनैमध्ये संक्रमित पाइएपछि आइतबार घरमा गएर फिर्ता ल्याइयो । मन्त्रालयको जानकारीपछि गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लले संक्रमित फेला परेको र उनीहरूलाई कहाँ पठाउने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थसित सल्लाह गरेका थिए । यहाँका अस्पतालमा स्थान नभएकाले तीनै जनालाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल पठाइएको प्रजिअ पन्थले बताए ।

स्वास्थ्य शाखा प्रमुख माझीले स्वास्थ्य कार्यालयको सहयोगमा सम्मरीमाई–३ स्थित क्‍वारेन्टाइनका ४० को आरडीटीमा एक जनाको पोजिटिभ आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यस्तै वडा ५ मा रहेका ४६ र वडा ७ मा रहेका २० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले इद उल फित्रको उपलक्ष्यमा क्‍वारेन्टाइनबाट घर पठाइएको उल्लेख छ ।

गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखले नेगेटिभ रिपोर्ट आएकाले घर पठाउनु भनेपछि बिदाइ कार्यक्रममा सामेल भएको सम्मरीमाई–५ का वडाध्यक्ष श्रवणकुमार यादवले बताए । ‘गाउँपालिका अध्यक्षले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो,’ उनले भने, ‘उहाँले बोलेपछि विश्वास नगर्ने कुरो आएन ।’ त्यसपछि क्‍वारेन्टाइनमा रहेका ४३ जनालाई घर पठाइएको यादवले जनाए । उक्त वडाका ४३ मध्ये २ जनामा आइतबार संक्रमण पुष्टि भएको हो । उनीहरू भारतको मुम्बईबाट आएका थिए । घर गएपछि परिवार र छिमेकीसँग घुलमिल भएको उनले बताए । उनीहरूलाई अस्पताल लगिएपछि परिवार र सम्पर्कमा आएका व्यक्तिलाई ‘होम क्‍वारेन्टाइन’मा राखिएको र केही दिनमा कोरोना परीक्षण गरिने उनले जानकारी गराए ।

सम्मरीमाई–७, रामनगरका संक्रमितले पनि घर गएपछि नजिकको चिया पसलमा गई चिया पिएको, खेतबारी र घरवरपर हिँडडुल गरेको एक स्थानीयको भनाइ छ । गाउँपालिकाबाट फोन आएपछि बिदाइ कार्यक्रममा सामेल भएको वडा ७ का वडाध्यक्ष नारायण यादवले बताए । अध्यक्ष शुक्लका अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाट गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेका कसैको पनि रिपोर्ट पोजिटिभ नभएकाले घर पठाउन सक्ने जानकारी गराएपछि बिदाइ गरिएको थियो । शनिबार घर पठाएका मध्ये आइतबार ३ जनाको शंकास्पद रिपोर्ट आएको जानकारी स्वास्थ्य कार्यालयले गराएको उनले बताए । संक्रमित ३ जनाको आइतबार आरडीटी जाँच गर्दा पुनः नेगेटिभ नतिजा आएको उनको दाबी छ । शुक्लले पीसीआर परीक्षणमा विश्वास गर्ने कि आरडीटीमा भन्नेबारे अन्योलमा परेको बताए ।

क्‍वारेन्टाइनमा जोखिम

दाङको लमही–१, नर्तीस्थित अभिभावकविहीन मुक्त कमलरीको छात्रावास रहेको सूर्यविनायक माविमा क्‍वारेन्टाइन राखिएको छ । क्‍वारेन्टाइन राखिएपछि मुक्त कमलरी त्रसित भएका छन् । छात्रावास र स्कुलमा एउटै गेट, ग्राउन्ड र धारा प्रयोग हुने गरेकाले उच्च जोखिममा रहेको मुक्त कमलरीको गुनासो छ । छात्रावासमा ५७ जना मुक्त कमलरी रहेकामा २२ जना आफन्तको घरमा गएपछि अहिले ३५ जना बसिरहेका छन् । अभिभावक नभएपछि उनीहरू सधैं छात्रावासमा बस्न बाध्य छन् । कोरोना संक्रमणको जोखिममा रहेका मानिसहरू छात्रावाससँगै जोडिएको स्कुलमा आएपछि मुक्त कमलरी निकै त्रसित भएको होस्टेल वार्डेन बिर्जा चौधरीले बताइन् । ‘एउटै गेटबाट भित्रबाहिर गर्नुपर्छ । खानेपानीको धारा एउटै छ । ग्राउन्ड एउटै छ,’ उनले भनिन्, ‘यसले बालिकाहरू उच्च जोखिममा छन् । डराइडराई बस्नुपरेको छ ।’ मुक्त कमलरी बसिरहेको स्कुलमा क्‍वारेन्टाइन नराख्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘शनिबारदेखि क्‍वारेन्टाइन बनाएर मानिस राख्न थालिएको छ । अहिलेसम्म ४ जना बसिसकेका छन् । हामी बाहिरभित्र गर्न सकिरहेका छैनौं,’ उनले भनिन् ।

विद्यालयमा क्‍वारेन्टाइन राख्ने विषयमा आफूसँग कुनै सल्लाह र समन्वय नभएको प्रधानाध्यपक विष्णु पौडेलले बताए । भारतबाट आउने मानिसको संख्या बढिरहेकाले सबै विद्यालयमा क्‍वारेन्टाइन बनाउनुपरेको लमही नगरपालिका प्रमुख कुलबहादुर केसी बताउँछन् । ‘मानिसहरू थपिइरहेका छन् । अब उनीहरूलाई राख्न स्कुललाई प्रयोग नगरी नहुने भएको छ,’ उनले भने, ‘मुक्त कमलरीका अभिभावक भनेका हामी नै हौं । उनीहरूलाई जोखिम हुन नदिनेतर्फ सचते छौं । डोरी लगाएर क्षेत्र छुट्याउँछौं । पानीको पाइप पनि छुट्टै गराइदिन्छौं, डराउनुपर्दैन ।’

रोकथाम गर्न आदेश

दाङस्थित उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले कोरोना रोकथाममा पर्याप्त सावधानी अपनाउन आदेश दिएको छ । अदालतले रोकथाम र नियन्त्रणका लागि सोमबार ११ बुँदे आदेश जारी गरेको हो । जसअनुसार क्‍वारेन्टाइन, आइसोलेसन सञ्चालन, वुद्धवृद्धाका लागि घरदैलोमा सामाजिक सुरक्षा भत्ता, सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक, सरोकारवालासँगको परामर्शमा कोरोना महामारी रोकथाम न्यूनीकरण नीति निर्देशिका तत्काल बनाई कार्यान्वयन गर्न, सीमा नाकामा प्रभावकारी सुरक्षा व्यवस्था अपनाउन, नेपाल आउनेहरूका लागि अनिवार्य क्‍वारेन्टाइनको व्यवस्थापनलगायत बुँदा छन् ।

नेपालगन्ज बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता सुनिलकुमार श्रेष्ठ, वसन्त गौतम, सुरेशकुमार गौतम, प्रल्हादबहादुर कार्की, रामकुमार दीक्षित, प्रभाकर भट्टराई, पत्रकार पोषण केसी, मानवअधिकारकर्मी कृष्णमुरारी, लक्ष्मी तिवारी लगायतले संयुक्त रूपमा उच्च अदालतमा निवेदन दायर गरेका थिए ।

रिटमा बाँके र बर्दियाका सबै स्थानीय तह, प्रहरी प्रशासन र प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयलगायत ३७ निकायलाई विपक्षी बनाइएको छ । कानुन व्यवसायी र अधिकारकर्मीले सरकारी प्रयास प्रभावकारी नहुँदा बाँके र बर्दियामा कोरोना संक्रमण फैलिँदै गएको बताए । सरोकारवाला निकायले उचित जिम्मेवारी बहन नगर्दा आमनागरिकको बाँच्न पाउने जीवनको अधिकारमा असर परिरहेको अधिवक्ता वसन्त गौतमले बताए । ‘स्वास्थ्य, खाद्यान्न लगायत आधारभूत मानवअधिकार उपभोगमा असर परेको छ,’ उनले भने, ‘त्यसैले तत्काल अन्तरिम आदेश जारी गरी पाउन माग गरिएको हो ।’ रिटको सुनुवाइमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले लक्षित वर्गलाई मापदण्डअनुसारको मात्र र गुणस्तरीय राहत वितरण गर्न सरोकारवालासँगको परामर्शमा कोरोना महामारी रोकथाम न्यूनीकरण नीति निर्देशिका तत्काल बनाई कार्यान्वयनमा ल्याउन विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो ।


प्रकाशित : जेष्ठ १३, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?