कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओपीडी र इमर्जेन्सीमा आउने बिरामीबाटै चिकित्सकहरु जोखिममा, स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमै समस्या

ठूला अस्पताल भन्छन्– ‘सकेको गरेका छौं, मन्त्रालयले पनि केही गर्नुपर्‍यो’

काठमाडौँ — पछिल्लो समय विभिन्न अस्पतालको ओपीडी तथा इमर्जेन्सीमा विभिन्न अन्य समस्याका कारण उपचारका लागि पुग्ने बिरामीबाटै चिकित्सक तथा स्वास्थ्यकर्मी जोखिममा पर्न थालेका छन् । ओपीडी र इमर्जेन्सीमा पुगेका बिरामीमा कोरोना संक्रमण देखिन थालेपछि यो अवस्था सिर्जना भएको हो ।

ओपीडी र इमर्जेन्सीमा आउने बिरामीबाटै चिकित्सकहरु जोखिममा, स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमै समस्या

यस्तै केही घटनाहरुले सरकारले तीन महिनादेखि कोरोना महामारीविरुद्ध लड्न धेरै तयारी गरेको दाबी गरे पनि वास्तविकता भने त्यस्तो नरहेको उजागर गरिदिएको छ । राजधानीमा रहेका ठूला सरकारी तथा निजी अस्पतालले आ–आफ्नो हिसाबमा सकेको तयारी गरे पनि मन्त्रालय तथा विभागबाट आश्वासन र निर्देशनबाहेक ठोस सहयोग प्राप्त नभएको देखिन्छ ।

अन्य समस्या लिएर उपचारका लागि अस्पताल पुग्ने बिरामीमा कोरोनाको संक्रमण देखिन थालेपछि चिकित्सक तथा अस्पताललाई त्यसको व्यवस्थापन गर्न हम्मे पर्न थालेको छ । एकातर्फ सरकारले कोभिड–१९ अस्पताललाई ओपीडी सञ्चालन गर्न निर्देशन दिएको छ, अर्कोतर्फ ओपीडीमा बिरामीको जाँच गर्दा चिकित्सक संक्रमितको सम्पर्कमा आए गर्नुपर्ने व्यवस्थाका लागि कुनै तयारी गरेको छैन । अहिले पनि स्वास्थ्यकर्मीलाई पीपीईलगायतका सामान अभाव छ ।

हालसम्म देशभर लेभल–१ अस्पताल १६ वटा छन् भने लेभल–२ का अस्पताल १२ वटा छन् । त्यसैगरी लेभल–३ अस्पताल तीनवटा छन् । लेभल–१ मा सामान्य केस, लेभल–२ मा गम्भीर र लेभल–३ मा विशिष्टीकृत सेवालगायत बहुविज्ञ सेवासहितका सुविधा दिने गरी अस्पतालहरू तोकिएका छन् । सामाजिक विकास मन्त्रालय, वाग्मती प्रदेशको तथ्यांक हेर्ने हो भने काठमाडौंमा २२४, भक्तपुरमा ४२ र ललितपुरमा १२४ वटा आइसोलेसन बेडको संख्या छ ।

सरकारले हाललाई सरकारी अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार गर्ने नियम बनाएको छ । त्यसमा पनि उपत्यकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ललितपुरस्थित पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताललाई संक्रमितको उपचार गर्ने केन्द्रको रूपमा तोकेको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लेभल–३ मा पर्छ । संक्रमित हुनेको संख्या बढेमा सीमित अस्पतालले मात्र नभई सबै अस्पतालले बिरामी भर्ना लिएर उपचार गर्नुपर्ने अवस्था आउने निश्चित छ ।

‘अहिले जे–जति समस्या देखिएको छ, त्यो मन्त्रालयले आफैं निर्माण गरेको हो,’ एक विज्ञ चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘न पर्याप्त आइसोलेसन बेड छ, न स्वास्थ्यकर्मीलाई बस्नेखाने व्यवस्था छ न परीक्षण नै ठीक ढंगमा भइरहेको छ । यस्तोमा अस्पतालले आफ्नो व्यवस्था आफैं गरिरहेको छ भने मन्त्रालय र त्यहाँका विज्ञ निर्देशिका बनाउन र सामान खरिद गर्नमै व्यस्त छन् ।’

ओपीडीका बिरामीबाट जोखिम
नेपालको सबैभन्दा पुरानो तथा ठूलो वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार अहिले व्यवस्थापनलाई इमर्जेन्सी तथा ओपीडीमा आउने बिरामी सबैभन्दा ठूलो जोखिम भएका छन् ।

‘सरकारको निर्देशनअनुसार हामीले ओपीडी सञ्चालन गरिरहेका छौं, वीर अस्पतालको इमर्जेन्सी बन्द गर्ने विषयको त कल्पनै गर्न सकिन्न,’ उनले भने, ‘यस्तोमा इमर्जेन्सी वा ओपीडीमा आएका बिरामीमा संक्रमण देखिए हामीलाई निकै कठिन हुनेवाला छ ।’ उनका अनुसार अस्पतालले शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्ने गरेको छ । तर, आइसोलेसन बेडको संख्या ५ वटा मात्रै छ ।

‘हामीकहाँ आइसोलेसन रुम ५ वटा छ, जुन एकजना बिरामीका लागि एउटा कोठा हो,’ उनले भने, ‘भोलि धेरै पोजिटिभ केस आए नयाँ बनेको जाइका भवनमा १० वटा बेड पनि तयार अवस्थामा राखेका छौं तर त्यहाँ शंकास्पदभन्दा पनि सबै पोजिटिभ केसलाई मात्र राख्न मिल्छ । किनकि त्यो खुला हलमा छ ।’

शिक्षण अस्पतालमा भेटिएकी पहिलो संक्रमित बालिका पनि ओपीडीबाटै घाँटीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गर्नुपूर्व पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै कुलेश्वरस्थित राजधानी अस्पतालमा पनि सडक दुर्घटनामा परेर उपचार गराउन तराइबाट आएका युवकमा कोरोना पोजिटिभ देखिएको थियो । उनी तिनै युवा हुन् जो सात घण्टा एम्बुलेन्समै अलपत्र परेका थिए । उनको सोमबार पाटन अस्पतालमा शल्यक्रिया भइसकेको छ ।

सिभिलका निर्देशक डा‍. दीर्घराज आरसीका अनुसार पनि अहिले चिकित्सकहरुलाई सबैभन्दा धेरै जोखिम ओपीडी र इमरजेन्सीमा अरु नै कुनै समस्या लिएर जचाउन आउने बिरामीहरुबाट छ । 'समस्या अरु नै हुन्छ । त्यसको उपचार गर्न खोज्दा कोरोना देखिन्छ,' उनले भने, 'अनि कसरी व्यवस्थापन गर्ने त्यस्ता बिरामीको भन्ने समस्या नै हुन्छ ।'

थोरै आइसोलेसन बेड
मीनभवनस्थित सिभिल अस्पताललाई पनि सरकारले हब अस्पताल त घोषणा गरिदिएको छ तर तयारीका लागि भने थोरैमात्र सहयोग गरेको छ । सिभिल अस्पतालका निर्देशक डा. दीर्घराज आरसीका अनुसार अस्पतालले शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नका लागि दुईवटा कोठा छुट्याए पनि त्यो पर्याप्त नहुने देखिएको छ ।

‘हामीसँग जम्मा १३२ बेड छ, पूर्वाधार पनि ठूलो छैन तर उपचारका लागि आएका बिरामीलाई अन्त जाऊ भन्न मिलेन । त्यसैले तनावमा छौं,’ उनले भने, ‘दुईवटा कोठा छुट्याएका छौं तर त्यसले केही हुनेवाला छैन । उपचारका लागि आएका धेरै बिरामी पोजिटिभ देखिए के गर्ने थाहा छैन ।’

उनका अनुसार सरकारले यथेष्ट रूपमा पीपीई, पीसीआर जाँचका लागि नमुना हालेर पठाउनुपर्ने भीटीएमलगायत सामग्री उपलब्ध गराएको छैन । सरकारले लेभल–३ कोरोना अस्पताल भनेर तोकेको शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार त्यहाँ कोरोना संक्रमितकै उपचारका लागि भनेर ५० वटा बेड छुट्याइएको छ । जसमा भेन्टिलेटरसहितको आईसीयू, वार्ड र इमर्जेन्सी सेवा सबै छन् ।

‘हामीले हाम्रो तहबाट गर्नसक्ने सबै व्यवस्था गरेका छौं,’ उनले भने, ‘भोलि यतिले पनि पुगेन भने के गर्ने भन्ने निर्णय त सरकारले नै गर्नुपर्‍यो । हामीले अरू बिरामी हेर्दाहेर्दै पनि यत्तिको व्यवस्था गरेका छौं । थप गर्न त कठिन हुन्छ ।’

शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार पनि अस्पतालले कुल ५० बेड कोरोना उपचारकै लागि भनेर छुट्याए पनि त्यो कम हुने देखिएको छ ।

'शंकास्पद बिरामी आएपछि रिपोर्ट नआएसम्म आइसोलेसन मै राख्नु पर्‍यो । झन् यहाँ त ओपीडीबाटै भर्ना भएको बिरामीमा नै कोरोना देखिएपछि थप सजगता अपनाएका छौं,' उनले भने, 'संक्रमितको संख्या बढ्दै गएमा आइसोलेसन बेड पनि बढाउनुपर्छ ।'

निजी अस्पतालहरूले पनि सक्दो आइसोलेसन बेडको व्यवस्था गरेको जानकारी दिएका छन् । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा ३३ बेडको आइसोलेसन युनिट तयार छ भने धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले १२ बेडको आईसीयूसहित ३१ बेड कोरोना उपचारका लागि छुट्याएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले पनि आइसोलेसनका लागि १९ बेड छुट्याएको छ । यसका साथै उपत्यकामा रहेका लगभग सबै निजी अस्पतालले आफ्नो क्षमताअनुसार आइसोलेसन बेड छुट्याएका छन् ।

स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा समस्या
उपत्यकाका सबै अस्पतालले आइसोलेसन वार्ड सञ्चालनमा ल्याएर त्यसलाई प्रयोग पनि गरिरहेका छन् । तर, चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापनको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ क्वारेन्टाइन ।

‘हामीले शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेका छौं, उनीहरूको उपचार सँगसँगै पीसीआर निकालेर राष्ट्रिय प्रयोगशाला पठाउँछौं । भोलि त्यो रिपोर्ट नेगेटिभ आए त ठिकै छ, पोजिटिभ आए समस्या हुन्छ,’ सिभिल अस्पतालका निर्देशक डा. आरसीले भने, ‘उपचारका क्रममा बिरामीसँग सम्पर्कमा आएका चिकित्सक तथा नर्सलाई त क्वारेन्टाइनमा राख्नुपर्छ । कहाँ राख्ने ? हामीसँग स्थान अभाव छ, होटलहरूले दिन मान्दैनन् ।’

उनको भनाइमा शिक्षण अस्पतालका निर्देशक डा. खड्गा पनि केही हदसम्म सहमत छन् । तर, यस्तो विषम परिस्थितिमा पनि आमनागरिकबाट भने सहयोगको साटो बाधा नै धेरैपरको उनको भनाइ छ । ‘हामीले आफैं क्वारेन्टाइनको व्यवस्था गर्छौं भनेर होटल खोज्यौं तर होटलवरपरका बासिन्दा बस्न दिन्नौं भन्छन्,’ उनले भने, ‘यस्तो हो भने त कि सरकारले नै होटल व्यवस्था गर्नुपर्‍यो । होइन भने, आमनागरिकले सहयोग गर्नुपर्‍यो ।’

उनले फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई घरबेटीले डेरा छोड्न दबाब दिने, समाजले घरै नआए हुन्थ्यो जस्तो गरेर व्यवहार गर्ने र होटलमा बस्न पनि नदिने मानसिकताले सबैलाई दुःखी बनाएको गुनासो गरे । ‘आमनागरिकलाई सजिलो होस् भनेर सबै डाक्टर उपचारमा खटिने अनि हामीलाई नै छिछिः दुरदुर गर्नु त ठीक भएन नि,’ उनले भने ।

वीर अस्पतालका निर्देशक डा. सेन्चुरीले भने आफूहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आए त्यसको व्यवस्था गरेको दाबी गरे । ‘हामीले होटलमा राख्ने व्यवस्था गरेका छौं,’ उनले भने ।

यस्तै निजी अस्पताल सञ्चालकहरूले आफूकहाँ शंकास्पद बिरामी भेटिए स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्न कठिन हुने बताएका छन् । एक निजी अस्पताल सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामीकहाँ सेवा दिने प्रायः चिकित्सक अन्य स्थानमा पनि काम गर्नुहुन्छ, यही मात्र काम गर्ने चिकित्सक कम हुनुहुन्छ । यस्तोमा एउटा अस्पतालमा कोरोना संक्रमित भेटिएर चिकित्सक क्वारेन्टाइनमा जानुपरे धेरै अस्पतालको सेवा प्रभावित हुने डर छ ।’

समयमा पीसीआर रिपोर्ट नआउँदा समस्या
सरकारले कोभिड–१९ उपचारका लागि तोकेको अस्पतालबाहेक अन्य अस्पताललाई ओपीडी पनि चलाउन निर्देशन दिएको छ । यस्तोमा त्यहाँ उपचारका लागि पुग्ने कुनै पनि बिरामीलाई भर्ना गर्नुपर्ने वा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । शंकास्पद लागे ती बिरामीलाई आइसोलेसनमा राखेर पहिला पीसीआर परीक्षणका लागि नमुना पठाउने गरिन्छ । पीसीआरको रिपोर्ट समयमै नआउँदा बिनाकारण बिरामीको अस्पताल बसाइ लम्बिइरहेको छ ।

पीसीआरको रिपोर्ट आउन ढिला भएकै कारण बिरामीले आइसोलेसन वार्डमा बेड ओगटिदिँदा समस्या परेका बिरामीले उपचार नपाउने जोखिमसमेत बढेको छ । यस्तै पहिले नै अभाव रहेको पीपीईलगायत सामग्री पनि शंकास्पद बिरामीकै उपचारमा खर्च हुन थालेपछि अस्पताल व्यवस्थापनलाई थप तनाव र दबाब थपिएको छ ।

‘हामीले बल्लबल्ल पीपीई जोहो गरेका हुन्छौं तर शंकास्पद बिरामीको रिपोर्ट ४ दिनसम्म आउँदैन । चिकित्सक, स्वास्थ्यकर्मीलाई बिना सुरक्षा उपचार गर भन्नुभएन, अनि कहाँबाट ल्याउने सुरक्षा सामग्री हामीले ?’ सिभिल अस्पतालका निर्देशक डा. आरसीले भने, ‘आज पठाएको रिपोर्ट भोलिपल्टसम्म आए त व्यवस्थापन गर्न सकिन्छ । नत्र त गाह्रो हुन्छ ।’

वीर अस्पतालका निर्देशक डा. सेन्चुरी पनि सरकारले पीसीआर परीक्षण गर्नका लागि निर्देशन दिए पनि किट अभाव भएका कारण धेरै परीक्षण गर्न कठिन भइरहेको बताउँछन् । ‘हामीकहाँ दिनमा लगभग ६० वटा जति परीक्षण हुन्छ,’ उनले भने, ‘किनभने हाम्रो मेसिन सानो छ तर त्यही मेसिन सञ्चालनका लागि पनि चाहिने सामग्रीहरू विभागले समयमै नदिँदा समस्या हुन्छ,’ उनले भने, ‘केही दिनपहिला पनि किट्सकै अभावमा सात दिनजति परीक्षण रोक्नुपरेको थियो ।’

शिक्षण अस्पतालका निर्देशक डा. खड्गाका अनुसार मन्त्रालयले अस्पताललाई पीसीआर परीक्षणकै लागि पीसीआर मेसिन उपलब्ध गराएको छ । उनका अनुसार अब त्यो मेसिन केही दिनभित्रै प्रयोगमा आउँछ । ‘हामीले मेसिन पाएका छौं । यहीं परीक्षण हुने भएपछि रिपोर्ट ढिला आयो भन्ने गुनासोबाट केही मुक्ति मिल्छ,’ उनले भने, ‘साथै, आइसोलेसन बेडबाट शंकास्पद बिरामीलाई निकाल्न पनि धेरै समय कुर्नुपर्दैन ।’

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालका अनुसार सो अस्पतालले पनि पीसीआर परीक्षण गर्ने अनुमतिका लागि निवेदन दिइसकेको छ । ‘निजी अस्पतालले पनि पीसीआर परीक्षण गर्न पाउने कुरा सरकारले गरेसँगै हामीले यसका लागि निवेदन पनि दिइसकेका छौँ । सरकारले आदेश दियो भने संक्रमितको उपचार गर्न तयार छौँ । भयावह स्थिति आयो भने अस्पताललाई कोभिड अस्पताल बनाउन पनि सक्छौँ,’ उनले भने । उनका अनुसार यसका लागि अस्पतालले जनशक्तिलाई समयसमयमा तालिम पनि दिइरहेको छ ।

यस्तै नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले अस्पतालमा आउने हरेकको हिस्ट्री राम्ररी बुझेर मात्रै उपचार प्रक्रिया अगाडि बढाउने गरेको बताए । कुनै अपरेसन गर्नका लागि पनि आइसोलेसनमा भर्ना गरेर त्यसपछि कोरोनाको रिपार्ट नआउन्जेल अप्रेसन नगरिने उनी बताउँछन् । उनले भने, ‘अस्पतालमा बिरामी आएपछि उपचार गर्दिनँ भन्न पाइएन, सरकारले उपचार गर भन्यो भने हामी गर्छौं ।’

देशको अर्को ठूलो निजी अस्पताल ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्र पाण्डेले पनि सरकारलाई सहयोग गर्न इच्छा रहेको बताए । उनी भन्छन्, ‘हामीले पहिलेदेखि नै कुरा गर्दै आएका हौं, आफ्नो स्रोतसाधनले भ्याएसम्म सहयोग गर्न तयार रहेका छौं । अहिलेसम्म सहकार्यको कुरा भएको छैन । तर, हामी जहिल्यै पनि तयार नै छौं ।’

प्रकाशित : जेष्ठ १३, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?