कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किन थपिँदै छन् उपत्यका छिर्ने एम्बुलेन्स ?

कोरोना संक्रमणका कारण कतिपय स्वास्थ्य संस्थामा अन्य सेवा असहज हुनु र संक्रमण व्यापक भएका जिल्लाबाट बिरामी रेफर गरिएकाले पनि उपत्यका भित्रिने एम्बुलेन्सको चाप बढेको हो । सार्वजनिक सवारी नचल्दा सामान्य बिरामी पनि एम्बुलेन्स नै चढेर काठमाडौं आएका छन् ।
जनकराज सापकोटा

काठमाडौँ — ठूला अस्पतालहरू भएकाले देशभरिबाट बिरामी र तिनलाई लिएर एम्बुलेन्स काठमाडौं आइपुग्छन् । तर, लकडाउन सुरु भएयता काठमाडौं उपत्यका छिर्ने एम्बुलेन्सहरूको संख्यामा उल्लेख्य बढोत्तरी भएको छ । चैत ११ मा लकडाउन सुरु भएयता करिब ५ हजारभन्दा धेरै एम्बुलेन्स भक्तपुरको जगाती र काठमाडौंको नागढुंगा नाका हुँदै राजधानी प्रवेश गरेका छन् । जबकि लकडाउनअघि माघ र फागुनमा यो संख्या ३ हजार १ सय ५० मात्रै थियो ।

किन थपिँदै छन् उपत्यका छिर्ने एम्बुलेन्स ?

लकडाउनको सुरुवाती दिनमा भन्दा पछिल्ला दिनमा राजधानी छिर्ने एम्बुलेन्सको संख्या बढेको देखिन्छ । लकडाउनको पहिलो १० दिनमा ८ सय ५५ वटा एम्बुलेन्समा ३ हजार ४ सय ४१ जना उपत्यका प्रवेश गरेका थिए । जेठको पहिलो १० दिनमा १ हजार ३ सय ४१ एम्बुलेन्समा ४ हजार ४ सय २ जना उपत्यका भित्रिएको तथ्यांक छ ।

माघ महिनाभर जगाती र नागढुंगा नाकाबाट १ हजार ५ सय ४८ एम्बुलेन्स भित्रिएका थिए । यो संख्या जेठको पहिलो १० दिनमै १ हजार ३ सय ४१ थियो । स्वतन्त्र रूपमा पुष्टि नभए पनि यस्तो संख्याले उपत्यका बाहिरका अस्पतालमा उपचार हुन नसक्ने भएपछि बिरामीहरू राजधानी छिर्ने क्रम बढेको हुन सक्ने संकेत गर्दछ ।

लकडाउनको अवधि लम्बिँदै जाँदा उपत्यका बाहिरका अस्पतालहरूमा सेवा प्रवाह कमजोर हुँदा बिरामीहरू उपत्यका छिर्ने क्रम बढेको हो वा सार्वजनिक सवारी ठप्प भएका कारण सबैखाले बिरामी एम्बुलेन्समै उपत्यका भित्रिएकाले संख्या बढेको स्पष्ट भन्न सकिन्न । तर उपत्यका छिर्ने नाकामा कडाइ गरिएपछि एम्बुलेन्समा बिरामी बनेर आउनेको संख्यामा भने कमी आएको प्रहरीको दाबी छ । लकडाउनको सुरुवाती १० दिनमा एक एम्बुलेन्समा औसतमा चार जनाभन्दा धेरै सवार भएको देखिन्छ । जबकि जेठको पहिलो १० दिनमा यो संख्या तीनमात्रै छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले राजधानीका अस्पतालमा सामान्य अवस्थामा भन्दा बिरामी बढेका छन् कि छैनन् भन्नेबारे यकिन तथ्यांक नभएको बताए । उनले संक्रमणका कारण कतिपय प्रदेशमा स्वास्थ्य सेवा असहज भएकाले र संक्रमण व्यापक भएका जिल्लाबाट बिरामी रेफर गरिएकाले पनि काठमाडौंमा बिरामी बढेको हुन सक्ने आकलन गरे । उनले भने, ‘सामान्य अवस्थामा सानो संख्यामा भए पनि एम्बुलेन्सको दुरुपयोगका घटना भएजस्तै अहिले पनि त्यस्तो भएको हुन सक्छ । तर बढ्नुको कारण यही मात्र हो भन्न पनि सकिँदैन ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठ उपत्यका भित्रिने एम्बुलेन्सको संख्या बढ्नुका दुईवटा कारण भएको बताउँछन् । पहिलो, लकडाउनका सुरुवाती दिनमा बिरामीहरू अस्पताल नगई घरमै बसे, तर दिन बित्दै जाँदा थप स्वास्थ्य जटिलता हुने देखेर उनीहरू अस्पताल आउन थालेका हुन् । दोस्रोमा सार्वजनिक सवारी नचलेका कारण सामान्य बिरामी पनि एम्बुलेन्स नै चढेर उपत्यका भित्रिएका छन् । उनले भने, ‘एम्बुलेन्समा सवार बिरामी र कुरुवा दुवैसँग सोधपुछ गरिने भएकाले नक्कली बिरामी आउने सम्भावना भने निकै कम छ ।’

कति छन् एम्बुलेन्स ?

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा संक्रमितलाई अस्पताल तथा आइसोलेसन केन्द्रसम्म पुर्‍याउन आवश्यक एम्बुलेन्सकै संख्या अपुग छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अहिले देशैभर करिब २ हजार वटामात्रै एम्बुलेन्स सञ्चालन गर्न सकिने अवस्थामा छन् । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका एम्बुलेन्ससमेत जोडेर यति संख्या पुगेको हो ।

वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४ सय ९६ वटा एम्बुलेन्स छन् । सडक सञ्जालको कमजोर अवस्था रहेको कर्णालीमा अन्य प्रदेशको तुलनामा सबैभन्दा थोरै ६५ वटामात्रै एम्बुलेन्स छन् । जबकि काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै कर्णाली प्रदेशको भन्दा दोब्बर १ सय ४५ वटाको संख्यामा एम्बुलेन्स छन् । अन्य प्रदेशको तुलनामा जनघनत्व धेरै भएको र संक्रमणको दर बढिरहेको प्रदेश–२ मा २ सय ३४ वटामात्रै एम्बुलेन्स सञ्चालनमा छन् । देशभर सबैभन्दा बढी संक्रमित भेटिएको प्रदेश–५ मा ३ सय ४१ वटा एम्बुलेन्स रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

कुन प्रदेशमा कति एम्बुलेन्स ?

प्रदेश १ : ३७८

प्रदेश २ : ३२४

वाग्मती : ३५१

गण्डकी : २२२

प्रदेश ५ : ३४१

कर्णाली : ६५

सुदूरपश्चिम : १४४

काठमाडौं उपत्यका : १४५

नेपाली सेना : ८

नेपाल प्रहरी : ६

सशस्त्र प्रहरी : ४

जम्मा : १९८८

कुन महिनामा कति भित्रिए ?

माघ : १५४८

फागुन : १६०२

चैत : १८०५

वैशाख : २३११

जेठ १–१० : १३४१

प्रकाशित : जेष्ठ १३, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?