प्रदेश २ मा एकैदिन ५६ जना संक्रमित

 संक्रमित अधिकांश भारतबाट फर्किएका, क्वारेन्टाइनको सुरक्षार्थ खटिएकासहित ४ प्रहरीमासमेत पोजिटिभ
प्रदेश २ ब्युरो

जनकपुर — प्रदेश २ मा सोमबार एकै दिन ५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये धनुषाका ३, रौतहटका २६, सप्तरीका २, पर्साका १ र बाराका २४ जना छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या २ सय १ पुगेको छ ।

प्रदेश २ मा एकैदिन ५६ जना संक्रमित

सोमबार थपिएका संक्रमितमध्ये ४ जना प्रहरीसमेत छन् । बारामा प्रहरी निरीक्षक र जवान तथा धनुषामा असई र जवानमा संक्रमण पुष्टि भएको हो । प्रदेश सरकारले सञ्चालनमा ल्याएको धनुषाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनको सुरक्षामा खटिएका ४५ वर्षीय असई र ३१ वर्षीय जवानमा संक्रमण देखिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार उनीहरू इलाका प्रहरी कार्यालय फूलगामामा कार्यरत छन् । संक्रमित दुवै सुरक्षाकर्मी गंगुली क्वारेन्टाइनमा करिब दुई महिनादेखि सुरक्षार्थ खटिएका थिए । यस्तै, धनुषाका अर्का ३० वर्षीय संक्रमित पुरुष पनि गंगुली क्वारेन्टाइनमै बसिरहेका व्यक्ति हुन् । हालसम्म उक्त क्वारेन्टाइनमा बसेका ८ जनामा संक्रमण देखिएको छ ।

भारतको नयाँदिल्लीस्थित एक छापाखानामा काम गर्ने ती ३० वर्षीय पुरुषलाई जेठ ६ मा घर फर्केपछि गंगुली क्वारेन्टाइनमा राखिएको थियो । जेठ ७ मा उनको स्वाब संकलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । संक्रमण पुष्टि भएका तीनै जनामा कुनै लक्षण नदेखिएको उक्त क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरले बताए । उनका अनुसार प्रादेशिक क्वारेन्टाइनका ५ जनामा संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन सिल गरेर त्यहाँ बसिरहेका बाँकी ८१ जनाको स्वाब संकलन गरिएको थियो ।

सप्तरीमा पनि सोमबार थप २ जना संक्रमित थपिएका छन् । डाकनेश्वरी नगरपालिका–४ र ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए । गत जेठ २ मा भारतबाट आएका उनीहरू आफ्नै पालिकाको क्वारेन्टाइनमा बसिरहेका थिए । संक्रमण देखिएपछि उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा ल्याइएको छ । योसँगै सप्तरीमा कोरोना भाइरस संक्रमितको संख्या ४ पुगेको छ । यसअघि, डाकनेश्वरी र बलान बिहुल गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको थियो ।

२६ जना भारतबाट फर्केका

रौतहटमा भारतबाट आएका २६ नेपाली कामदारमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा बसेकामा संक्रमण पुष्टि भएको हो । रौतहटमा अब संक्रमितको संख्या ४७ पुगेको छ । अहिलेसम्म ३ जना निको भएका छन् । १८ जना संक्रमितको गौरमा रहेको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा उपचार भइरहेको छ ।

राजपुर नगरपालिकाका ९६ जनाको स्वाब परीक्षणका लागि लगिएकामा २४ जनाको रिपोर्ट पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । इशनाथमा २६ जनाको स्वाब लिइएकामा २ जनामा संक्रमण देखिएको हो । भारतबाट फर्किएपछि उनीहरू सिधै स्थानीय तहको क्वारेन्टाइनमा बसेका थिए । उनीहरूलाई राजपुरमै निर्माण भएको आइसोलेसनमा राखिने प्रजिअ घिमिरेले सुनाए ।

बारामा २४ संक्रमित

यहाँ एकै दिन २४ जनामा संक्रमण भेटियो । काठमाडौं–१५ डल्लु घर भई बारा प्रहरीमा कार्यरत २८ वर्षीय प्रहरी निरीक्षक, पर्साको बिजबनिया–७ घर भई मुद्दा फाँटमा कार्यरत २५ वर्षीय जवान संक्रमित भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

प्रहरी निरीक्षकको कलैया अस्पतालमा गत जेठ ७ मा स्वाब संकलन भएको थियो । वीरगन्जस्थित नारायणी अस्पतालमा भएको परीक्षणमा शंकास्पद देखिएपछि उनको स्वाब थप परीक्षणका लागि टेकु अस्पताल पठाइएको थियो । जवानको भने वैशाख ३१ मा कलैया अस्पतालमा स्वाब संकलन गरिएको थियो । सोमबारै स्वास्थ्य मन्त्रालयले पुष्टि गरेका बाराकै ३२ वर्षीय संक्रमितको भने ठेगाना स्पष्ट हुन नसकेको मिश्रको भनाइ छ ।

यसैगरी, चार दिनअघि महागढीमाई नगरपालिकास्थित बबुआइन विद्यालयको क्वारेन्टाइनमा बसिरहेका ४२ मध्ये ३० जनाको स्वाब परीक्षण गर्दा २१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । १८ देखि ५० वर्ष उमेरका ती सबै संक्रमित एक साताअघि भारतबाट आएका हुन् । ‘सबैलाई सीमाबाटै एम्बुलेन्समा ल्याएर सिधै क्वारेन्टाइनमा पुर्‍याइएको थियो,’ महागढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय कुशवाहले भने, ‘सबै जनाको हेटौंडास्थित प्रयोगशालामा परीक्षण भएको हो ।’ जिल्लामा हालसम्म एक निरीक्षक, एक नायब निरीक्षक, हवल्दार र जवान गरी ७ जना प्रहरी, एक जना रेडियोकर्मीसहित ४० जना संक्रमित भइसकेका छन् । जसमध्ये २ जना संक्रमित नारायणी अस्पतालबाट निको भएर घर फर्किसकेका छन् ।

-अजित तिवारी (जनकपुर), अवधेशकुमार झा (सप्तरी), शिव पुरी (रौतहट) र लक्ष्मी साह (बारा)

प्रकाशित : जेष्ठ १३, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?