२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मेचीपारि अलपत्र ५ सय बढी नेपाली तीन दिनदेखि भोकै 

प्रदेशको निर्णय केन्द्रले मानेन
पर्वत पोर्तेल

काँकडभिट्टा — मेचीपारि अलपत्र करिब ५ सय बढी नेपाली घर फिर्न नपाउँदा तीन दिनदेखि भोकै छन् । उनीहरु भारतको पानीट्यांकी क्षेत्रमा सडक पेटीमा रात काट्न बाध्य छन् ।

मेचीपारि अलपत्र ५ सय बढी नेपाली तीन दिनदेखि भोकै 

भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा गत साता हजार बढी नेपालीलाई ‘लुकिछिपी’प्रवेश दिइएको थियो । तर, तीन दिनयता त्यसरी आउन समेत नपाएपछि उनीहरु अलपत्र बनेका हुन् । ‘तीन दिनदेखि भोकै छौ’,नाकामा अलपत्र नुवाकोटका सन्जोग थापाले फोनमा भने,‘मर्ने अवस्था भइसक्यो, सरकारले हाम्रो कुरा सुनेन ।’ मेचीपारि झापासहित विभिन्न जिल्लाका नेपाली घर फर्किने आशामा भौतारिरहेका छन् ।

मेचीपारि अलपत्रलाई प्रवेश दिने विषयमा सोमबार अपरान्ह इलाका प्रहरी कार्यालय काँकडभिट्टा परिसरमा प्रदेशका सांसद, जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व र सुरक्षा संयन्त्रबीच सर्वपक्षीय छलफल भएपनि अलपत्रलाई सोमबार साँझ प्रवेश दिइने कुरामा सहमति जुट्न सकेन । ‘उनीहरुलाई मंगलबारदेखि मात्रै प्रवेश दिने निर्णय भएको छ’,मेचीनगरका मेयर विमल आचार्यले भने,‘अलपत्र नेपालीले मुलुक फर्किन पाउनु पर्छ, व्यवस्थित गर्ने जिम्मा हामी सबैको हो ।’

उनीहरुलाई वैधानिक बाटोबाट भने ल्याइने छैन । ‘लुकिछीपी’प्रवेश गराएर क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिने छ । झापाका लाई विभिन्न पालिकाहरुको क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिने छ । भने जिल्ला बाहिरका लाई सम्बन्धित जिल्ला पठाइने छ ।

प्रदेशको निर्णय भएन कार्यान्वयन

भारतमा अलपत्र नेपालीलाई प्रवेश गराउन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापा प्रशासनलाई पटक पटक निर्देशन दिए । तर, केन्द्र सरकार मातहतको जिल्ला प्रशासनले ‘माथिको आदेश’नआएको भन्दै निर्देशन मानेन । गत बुधबार सामाजिक विकास मन्त्री घिमिरेले बिर्तामोडको पत्रकार सम्मेलनमा संघीय सरकारबाट पत्र आइसकेकाले बिहीबारदेखि वैधानिक ढंगबााटै नेपालीलाई प्रवेश गराइने जनाए । तर, उनको भनाईको पनि कुनै तुक देखिएन ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले अलपत्र नेपाली ल्याउनु भनेर ‘माथि’बाट कुनै पत्र नआएको दाबी गरे । कोइरालाले भने,‘माथिको आदेश नआएसम्म नेपाली ल्याउन सकिने अवस्था छैन ।’ ‘प्रदेशको आदेश प्रहरी र प्रशासनले कार्यान्वयन गर्नै अन्कनाइरहेको पाइएको छ’,मेचीनगरका मेयर आचार्यले भने,‘२ सय जनासम्म हामी क्वारेन्टाइन र होल्ङि सेन्टरमा राख्छौ भन्दा पनि ल्याउन दिएकै छैन ।’

जिल्ला प्रशासन स्रोतका अनुसार संघीय सरकारको अनुमति बेगर अलपत्रलाई ल्याउनै नसकिने जनायो । प्रशासनका एक अधिकारीले भने,‘नाकाबन्दीको अवस्था छ, भारतबाट ह्वारह्वार्ती नेपाली प्रवेश गराउने अवस्था छैन, नल्याउनु भन्ने केन्द्रको निर्देशन छ ।’

यद्यपि नेपालीहरुको अवस्था बुझेर भारतीय सुरक्षा प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट नेपालीलाई प्रवेश गराउने काम भइरहेको जनाइएको छ । प्रशासन स्रोतका अनुसार सकेसम्म नेपालीलाई अहिले ल्याउदै नल्याउने केन्द्र निर्देशन केन्द्रको छ । त्यसलाई प्रहरी प्रशासनले अवज्ञा गर्न मिल्दैन ।

प्रकाशित : जेष्ठ १२, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?