कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

एसईईबारे सरकारले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ : प्रधानमन्त्री

नयाँ शैक्षिक वर्ष सञ्‍चालनको तयारी

काठमाडौँ — कोरोना भाइरसका कारण स्थगित भएको एसईईबारे सरकारले छिट्टै नयाँ घोषणा गर्ने भएको छ । राष्ट्रका नाममा सम्बोधन दिने क्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईबारे छिट्टै आवश्यक प्रबन्ध गरिने बताएका हुन् । 

एसईईबारे सरकारले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ : प्रधानमन्त्री

कोरोनाका कारण गत चैतमा निर्धारित तालिकाअनुसार एसईई दुई दिन अगाडि स्थगित गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्रीले नयाँ घोषणा हुने बताएका हुन् । 'महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्,' उनले भने, 'अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन । तसर्थ, एसईईका परीक्षार्थीहरूको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ ।'

संसदीय समिति र शिक्षा क्षेत्रसँग सरोकारवाला तथा विज्ञहरूले एसईई खारेज गरेर यो वर्ष आन्तरिक परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गर्नुपर्ने बताउँदै आएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने लकडाउन खुलेको तीन हप्तापछि एसईई हुने बताउँदै आएका छन् ।

त्यस्तै, नयाँ शैक्षिक वर्ष पनि सुरु गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भर्चुअल (अनलाइन) कक्षा तथा स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर नयाँ शैक्षिक वर्षको पठनपाठन सुरु गर्ने योजनामा सरकार रहेको बताए । 'आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठनपाठन सञ्चालनको काम अघि बढाउनेछ,' उनले भने ।

वैशाखदेखि सुरु हुनुपर्ने नयाँ शैक्षिक वर्ष सुरु हुन सकेको छैन । इन्टरनेटको सुविधा भएका केही विद्यालयमा अनलाइन कक्षा सुरु गरिए पनि अधिकांश विद्यालय बन्द छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?