२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस

भूषण यादव

वीरगन्ज — पीसीआर रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव परिवारलाई जिम्मा लगाएको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान एवं कारबाही गर्ने जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गरेको छ । 

नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । नेशनल मेडिकल कलेजमा जेठ २ गते भर्ना गरिएको र जेठ ४ गते नै मृत्यु भएका बारा कलैया उपमहानगरपालिका ७ निवासी एक ७० वर्षीय व्यक्तिमा कोभिड १९ संक्रमणको आंशकामा पीसीआर जाँचको लागि स्वाब संकलन गरिएकोमा पीसीआर नतिजा नआउँदै शव आफन्तलाई जिम्मा लगाइएको र मृतकको सदगदसमेत गरिएको थियो । यो घटनामा थप छानबिन एवं कारबाही प्रक्रिया अघि बढाउन संघीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

कोरोना पोजेटिभ देखिएका मृतकको सम्पर्कमा आएका उक्त कलेजका स्वास्थ्यकर्मीलगायत अन्य सबै व्यक्तिहरुको कनट्याक्ट ट्रेसिङ गर्ने र उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी लगायत संलग्न सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखी पीसीआर चेकजाँच गर्ने निर्णय पनि बैठकले गरेको छ । नेशनल मेडिकल कलेजले मृतकको उपचार गरेको कक्ष तत्काल सिल गर्ने समेत संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको सहायक प्रजिअ बस्नेतले जनाए ।

प्रकाशित : जेष्ठ १२, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?