कारागारभित्रै अपहरणकारीका ४ ठाउँमा व्यापार

झगडापछि चौकीदार बर्खास्त
मातृका दाहाल

काठमाडौँ — कारागारभित्रै अपहरणकारीले ४ ठाउँमा व्यापार सञ्चालन गरेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुस्, अपहरण तथा शरीर बन्धक, खैरो हेरोइनको कारोबार र डाका मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जना कैदीबन्दीले डिल्लीबजार कारागारभित्र ४ स्थानमा किराना पसल तथा क्यान्टिन र मेस सञ्चालन गरिरहेका छन् ।

२०६५ साउनमा वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाकी छोरी मेघा अपहरण गरी १ करोड ३० लाख फिरौती मागेको अपराधसहित हेरोइन कारोबार र डाका मुद्दामा दोषी ठहर भएका काभ्रेका गोकुल गिरीले व्यापार चलाएका छन् । कारागारभित्र एकछत्र व्यापार गर्न उनका लागि सजिलो आधार कैदीबन्दीको आन्तरिक प्रशासन हेर्ने ‘चौकीदार’ पद बन्यो । २०७१ वैशाख ९ गते प्रवेश गरेका गिरी २०७५ असोज १९ गते चौकीदारमा नियुक्त भएका थिए । चौकीदार नियुक्तिलगत्तै उनको नेतृत्वमा मेस सञ्चालन हुन थाल्यो ।

‘क’ ब्लकको भवनमा ठूलो मेस सञ्चालनमा छ । अहिले ६ सय ३० जना बन्दीले त्यही मेसमा खाना खाने गरेका छन् । दीर्घरोगी तथा खाना नखाने बन्दीबाहेक अधिकांशले त्यही मेसमा बिहान–बेलुका खाना खान्छन् । सरकारले कैदीबन्दी तथा पुर्पक्षका लागि राखिएका बन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ नगद दिन्छ । अधिकांश कैदीले त्यही रासन तथा नगदबाट चौकीदारले सञ्चालन गरेको मेसमा सामूहिक खाना खान्छन् । गिरीकै स्वामित्वमा चिया/खाजा पसल (क्यान्टिन) तथा प्रवेशद्वारभित्र र कारागारभित्र एक/एक वटा किराना पसल पनि सञ्चालनमा छन् ।

गिरीले प्रशासनबाटै स्वीकृति लिएर चौकीदार नियुक्त भएको ५ दिनपछि क्यान्टिन स्थापना गरेका थिए । जेलर अरुण पोखरेलले बन्दीहरूको मागअनुसार नै क्यान्टिन तथा किराना पसल सञ्चालनको अनुमति दिइएको दाबी गरे । उनले भने, ‘हामीले मूल्य निर्धारण र आर्थिक अनियमितता भए/नभएका हेर्छौं, मागअनुसार बाहिरबाट सामान ल्याउन सहजीकरण गर्दिन्छौं, अरू विषय कारागारभित्रको आन्तरिक प्रशासन उनीहरूले नै चलाउँछन् ।’

झगडापछि चौकीदारसहित १४ बर्खास्त, अर्को ब्लकमा सारियो

आइतबार कारागारमा आपसी झगडा भएपछि गिरी जिम्मेवारीबाट बर्खास्त भएका छन् । कैदीबन्दीबीच अनुशासन, आर्थिक खटनपटन, चालचलन अभिलेखलगायत आन्तरिक प्रशासनमा खटिएका अन्य १३ जना पनि जिम्मेवारीबाट बर्खास्त भएका छन् । उनीहरूलाई आइतबारबाटै ‘ख’ ब्लकमा सारिएको छ । आन्तरिक प्रशासनको जिम्मा अर्को व्यवस्था नभएसम्मका लागि पीताम्बर पोखरेल र रामचन्द्र कुशवाह प्यासीको समूहलाई दिइएको जेलर पोखरेलले बताए ।

अस्थायी रूपमा चौकीदारको जिम्मेवारी पाएका पोखरेल भ्रष्टाचार अभियोगमा अदालतबाट दोषी ठहर भएका पूर्वशाखा अधिकृत हुन् भने कुशवाह पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेबाट बाराका सभासद हुन् । कुशवाह एमाले बाराका नेता महमुद आलमको हत्या अभियोगमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भई डिल्लीबजार कारागार आइपुगेका हुन् । डिल्लीबजार आउनुअघि उनी केन्द्रीय कारागारमा थिए । २०७० असोज १८ गतेको हत्या प्रकरणमा जिल्ला अदालत बारा हुँदै उच्च अदालत जनकपुरले २०७६ वैशाख १७ गते कुशवाहलाई १५ वर्ष तीन भारतीयलाई १०/१० वर्ष कैद सजाय सुनाएको थियो । दोषी ठहरपछि बाराबाट केन्द्रीय कारागार ल्याइएका कुशवाह ३ महिनाअघि मात्रै कैदीलाई उक्साएर झगडा गराएको आरोपमा डिल्लीबजार कारागार स्थानान्तरण भएका थिए ।

आइतबारको घटनापछि कारागार व्यवस्थापन विभागले निर्देशक वेदनिधि अधिकारी र शाखा अधिकृत देवर्षी सापकोटा सम्मिलित छानबिन समिति गठन गरेको थियो । समितिले स्थलगत अनुसन्धान गरेलगत्तै गिरीको समूहलाई जिम्मेवारीबाट हटाइएको हो । लकडाउनका कारण कैदीबन्दीमा आर्थिक अभाव देखिएपछि खाजा तथा अन्य सामान उधारो मागेका थिए । तर अब उधारो दिन नसक्ने भनाइ गिरीले राखेपछि विवाद भएको थियो । लकडाउनपछि बन्दीहरूलाई आफन्तले पैसा नपठाएका कारण त्यसको असर आन्तरिक प्रशासन व्यवस्थापनमै परेको जेलर पोखरेलले बताए ।

‘बिहान–बेलुका खाने व्यवस्था त सरकारले गर्छ तर खाजा, चियालगायत अन्य वस्तु किन्नलाई बन्दीसँग पैसा छैन, क्यान्टिन सञ्चालकले पनि बाहिरबाट उधारोमा सामान नदिएका कारण आफूले पनि दिन नसक्ने बताएपछि यो विवाद सिर्जना भएको हो,’ जेलर पोखरेलले भने । विवादका कारण आइतबार उधारो माग्ने शमशेर तामाङको टाउकामा चोट लागेको थियो ।

सम्बन्धित समाचार

जेलभित्र झगडा भएपछि डिल्लीबजार कारागारका ‘चौकीदार’ बर्खास्त

डिल्लीबजार कारागारमा भएको झडपबारे छानबिन गर्न समिति गठन

डिल्लीबजार कारागारमा झडप, एक जना घाइते

प्रकाशित : जेष्ठ १२, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

सीमाका सुरक्षाकर्मीलाई हात्तीको डर

पर्वत पोर्तेल

काँकडभिट्टा — सीमामा पहरा दिएर बसेका नेपाली सुरक्षाकर्मीलाई हावा–पानीको भन्दा भारतीयले पटकपटक गर्ने आक्रमणको डर ज्यादा छ ।  त्यसमाथि अब अर्को पनि थपिएको छ, हात्तीको डर । 

नेपालको पूर्वी सीमानामा पहरा दिएर बसेका सुरक्षाकर्मीलाई हात्तीको डर छ । केही दिन अघि राति मेची तरेर नेपालतिर आउन लागेको हात्तीको झुन्ड देखेर मेची किनारामै खटिएका एक सुरक्षाकर्मी छक्क परे । उनले त्यत्रो संख्यामा अहिलेसम्म हात्ती देखेकै रहेनछन् । भने, ‘हात्तीको समूह झन्डै मेची तरेर आयो । स्थानीयवासीको सहयोगमा लखेटियो ।’

अहिले मकै पाक्ने समय हो । यतिबेला हात्तीहरु आहाराको खोजीमा भारतबाट नेपाल छिर्ने गरेका छन् । जसको सबैभन्दा धेरै डर सुरक्षाकर्मीलाई छ । कोरोना रोक्न सीमाका पहरेदार बसेका उनीहरुको बसाइँ ज्यादै कष्टकर छ । सामान्य पालको भरमा बस्नु परेको छ । ‘हात्तीले आक्रमण गरी हाल्यो भने भाग्न सक्ने अवस्था पनि छैन’, बाहुनडाँगी क्षेत्रमा खटिएका एक सुरक्षाकंर्मीले भने, ‘हामीलाई कोरोनाभन्दा पनि हात्तीको डर धेरै छ ।’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले हात्ती आउने मुख्य बाटो (गौंडा)मै सुरक्षाकर्मीका अस्थायी क्याम्पहरु भएकाे बताए । जसका कारण पनि हात्तीको डर धेरै छ । सुरक्षाकर्मी निदाएको मौकामा आक्रमणको सम्भावना पनि छ । ‘हात्ती हिँड्ने बाटोमै क्याम्पहरु छन्, सुरक्षाकर्मीलाई कतिबेला आक्रमण गर्ने हो थाहा छैन,’ डीएसपी पोख्रेल भन्छन् । स्थानीयवासीका अनुसार दैनिकजसो हात्ती आइरहेको छ । आइतबार राति समेत मेची खोला नजिकै हात्ती आएको थियो । तर, सुरक्षाकर्मीले थाहा पाएर लखेटेका थिए ।


प्रकाशित : जेष्ठ १२, २०७७ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×