१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोरोना नियन्त्रणमा खटिने प्रहरी आफैं असुरक्षित

नाकाबाट भित्रनेहरूलाई निगरानी गर्न बसेका प्रहरीसँग पन्जासम्म छैन । मास्क भए पनि कमसल छ । एउटै मास्क पाँच दिनसम्म लगाउनुपर्ने बाध्यता छ ।
लीला श्रेष्ठ

काठमाडौँ — कालिमाटी वृत्तका दुई प्रहरी कोरोना संक्रमित भएपछि सातादेखि बलम्बुस्थित अस्पतालको आइसोलेसनमा छन् । वृत्त सिल गरिएको छ । त्यहाँ कार्यरत करिब २ सय २० प्रहरी अहिले ब्यारेकमै सीमित छन् । उनीहरूको आइतबारदेखि स्वाब संकलन थालिएको छ ।

कोरोना नियन्त्रणमा खटिने प्रहरी आफैं असुरक्षित

‘सँगै खाने, एउटै गाडीमा चढ्ने र एकै ठाउँ सुत्ने साथीलाई कोरोना देखिएपछि हामीलाई नदेखिएला भन्ने के छ र ?,’ एक प्रहरी अधिकृतले भने, ‘हामी जनताका लागि काम गर्छौं तर सरकारले मास्क, पन्जालगायत सामग्रीे दिँदैन । त्यसैको परिणाम आफैंले भोग्ने भयौं ।’

कोरोना संक्रमणका बेला लकडाउन पालना गराउनुपर्ने प्रहरीहरू मागेकै सामग्रीका भरमा फिल्डमा खटिरहेका छन् । एक इन्स्योरेन्स कम्पनीले महानगरीय टाफिक प्रहरी महाशाखालाई केएन ९५ मास्क १ हजार ५ सय, मेडिकल मास्क ५ हजार, चस्मा १ हजार ५ सय, फेस सिल्ड (भाइजर) १ हजार ५ सय थान र सेनिटाइजरलगायत सामग्री सहयोग गरेको थियो । यिनै सामग्री टाफिक प्रहरीलाई वितरण गरिएको महाशाखाले जनाएको छ ।

कालिमाटी वृत्तमा कार्यालय प्रमुखले विभिन्न संघसंस्था र व्यक्तिसँग स्वास्थ्य–सुरक्षाका सामग्री मागेर प्रहरीलाई वितरण गर्ने गरेका थिए । ‘अरूले दिएको मास्क सुरक्षित खालको थिएन । एउटा मास्कले चार–पाँच दिनसम्म पुर्‍याउनुपर्छर्,’ एक प्रहरीले भने, ‘केहीले कपडाको मास्क लगाउने गरेका थिए । उनीहरू नै संक्रमित भए ।’

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली शुक्रबार कालिमाटी वृत्त पुगेर सेल्फ क्वारेन्टाइनमा रहेका प्रहरीलाई ‘आत्मबल बलियो बनाउन’ सुझाए । साबुनपानीले हात धुन, मास्क, सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी पालन गर्न निर्देशन दिए । महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेल र काठमाडौं परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पनि मनोबल उच्च बनाउन आग्रह गरे ।

फिल्डमा खटिनेका लागि प्रहरी प्रधान कार्यालयले आवश्यक सामग्री उपलब्ध गराउन सकेको छैन । यो विषय प्रहरीबाट गृह मन्त्रालय हुँदै कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति, क्राइसिस म्यानेजमेन्ट सेन्टर तथा जिल्ला प्रशासन कार्यालयसम्म पनि पुगिसकेको छ । तर, आवश्यक पहल नहुँदा संक्रमित प्रहरीको संख्या बढिरहेको छ ।

अग्रपंक्तिमा खटिनेलाई दिएका छौं : प्रहरी प्रवक्ता

फिल्डमा खटिने कतिपय प्रहरी मास्कसमेत एम्बुलेन्स चालकसँग माग्नुपरेको गुनासो गर्छन् । उनीहरूका अनुसार सरकारले न गुणस्तरीय मास्क, पन्जा र स्यानिटाइजर दिएको छ न त पीपीई पर्याप्त छ । प्रहरीका उच्च अधिकारी भने फिल्डमा खटिएका तल्लो दर्जाका प्रहरीलाई समेत समान रूपमा स्वास्थ्य–सुरक्षा सामग्री पुर्‍याएको दाबी गर्छन् । ‘सुरक्षा समन्वय समितिमार्फत विभिन्न निकायसँग समन्वय गरेर अग्रपंक्तिमा खटिने कर्मचारीलाई कपडाको र सर्जिकल मास्क दिएका छौं,’ डीआईजी शाहीले भने, ‘एन–९० मास्कलगायत केही सामग्री दाता र स्थानीय तहले उपलब्ध गराएका छन् ।’

तर अरनिको राजमार्गअन्तर्गत साँगामा खटिएका एक प्रहरी जवानको अनुभव सुन्दा त्यस्तो लाग्दैन । ‘हामीसँग राम्रो किसिमको मास्कसमेत छैन,’ उनले भने, ‘सामान्य मास्कको भरमा विभिन्न स्थानबाट उपत्यका भित्रिने यात्रुसँगको प्रत्यक्ष सम्पर्कमा ड्युटी गरिरहेका छौं ।’

उपत्यकाका नाकाबाट दैनिक २ हजार ५ सयभन्दा बढी मानिस भित्रिने गरेको पछिल्लो तथ्यांक छ । नाकामा यात्रुको ज्वरो नाप्ने स्वास्थ्यकर्मीले पीपीई सेट लगाए पनि प्रहरीसँग पन्जासम्म छैन । ‘फिल्डमा खटिएकामध्ये ट्राफिक प्रहरीका एक जनालाई पीपीई उपलब्ध गराइएको छ, बाँकीले जोखिम मोलेर ड्युटी निर्वाह गर्नुपरेको छ,’ राजधानीको सवारी जाँचमा खटिएका एक डीएसपीले कान्तिपुरसँग भने, ‘सवारी रोक्ने र मानिससँग डिल गर्ने हरेकलाई पीपीईको व्यवस्था हुनुपर्थ्यो ।’

ब्यारेकमा भौतिक दुरी कायम गरेर खान, सुत्न मिल्ने ठाउँ अनि उपयुक्त शौचालय र बाथरुमको व्यवस्था छैन । ‘सबैभन्दा ठूलो चुनौती हामी समूहमा बस्छौं,’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले भने, ‘एक जना संक्रमित भए युनिटमै संक्रमण फैलने अवस्था छ ।’ अहिले नगरपालिकाको समन्वयमा विद्यालयका कक्षाकोठालाई ब्यारेक बनाउन थालिएको उनले बताए ।

लकडाउन कार्यान्वयनसँगै अपराधीलाई पक्राउ गर्दा, हिरासतमा राख्दा पनि प्रहरी संक्रमणको जोखिममा रहन्छन् । ‘क्वारेन्टाइन, आइसोलेसन, अस्पताल, हेल्थ डेस्कमा खटिएको अवस्थामा कोरोना संक्रमण हुन सक्छ,’ एक प्रहरी अधिकारीले भने, ‘संक्रमित भएर आउन सक्ने स्थान वा विदेशबाट आएकाहरूको खोजतलास, कन्ट्याक्ट ट्रेसिङको काम पनि प्रहरीले नै गर्नुपरेको छ ।’ यति मात्र होइन, संक्रमित क्षेत्र सिल गर्नेदेखि स्वाब संकलनसम्मका काममा प्रहरीलाई खटाइएको छ ।

भाडाका कोठामा बसेर ड्युटीमा खटिने प्रहरी थप समस्यामा छन् । ‘घरबेटीले घरबाट निकाल्ने धम्की दिन्छ, ड्युटी नगरी पनि भएको छैन,’ एक प्रहरी जवानले भने, ‘विभिन्न संक्रमितलाई भेटेर आएको भन्दै कोठा छोड्न दबाब आइरहेको छ ।’

नौ प्रहरी संक्रमित

नेपाल प्रहरीका प्रवक्ता डीआईजी नीरजबहादुर शाहीका अनुसार आइतबारसम्म मुलुकभर ९ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तुमा दुई, बारामा दुई, धनकुटामा २, काठमाडौं २ र बाँकेमा १ जना छन् । क्वारेन्टाइनमा रहेका प्रहरीको तथ्यांक प्रधान कार्यालयसँग पनि छैन । ‘संक्रमित बढेसँगै क्वारेन्टाइनमा बस्ने प्रहरी पनि बढ्छन । यसको यकिन तथ्यांक छैन,’ उनले भने ।

४ वृत्तलाई जिम्मेवारी थप

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिल गरिएका वृत्त, प्रभाग र बिटले हेर्दै आएका कामको जिम्मा अहिले नजिकैका ४ वटा वृत्तलाई दिइएको छ । भोटेबहाल, टेकु र त्रिपुरेश्वर क्षेत्र हेर्ने जिम्मा महानगरीय प्रहरी वृत्त जनसेवालाई तोकिएको छ ।

यस्तै, बल्खु र कुलेश्वर क्षेत्र प्रहरी वृत्त कीर्तिपुर, कलंकी/स्युचाटार र ढुंगेअड्डा क्षेत्र थानकोट वृत्त र बाफल, ताहाचल र कालिमाटी क्षेत्र स्वयम्भू वृत्तले हेर्दै छन् । सिल गरिएका युनिटमा कार्यरत जनशक्तिको स्वास्थ्य रिपोर्ट नआएसम्मका लागि नजिकका वृत्तलाई जिम्मेवारी थपिएको परिसरले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?