कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सगरमाथा आरोहणको ६०औं वार्षिकोत्सव मनाउँदै चीन

हुलाक टिकट प्रकाशनदेखि सगरमाथाको उचाइ मापनसम्म
लक्ष्मी लम्साल

बेइजिङ — चीनले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ६०औं वार्षिकोत्सव मनाउँदैछ । चीनले हुलाक टिकट निष्कासनदेखि सगरमाथा लक्षित विभिन्न कार्यक्रम गरेको छ  । अघिल्लो दिन मात्रै उचाइ मापनका लागि गएको चिनियाँ टोली चुचुरोतर्फ लागेको छ।

सगरमाथा आरोहणको ६०औं वार्षिकोत्सव मनाउँदै चीन

सन् १९६० को मे २५ तारिखका दिन तिब्बती मोहडाबाट तीन जना पर्वतारोहीले पहिलो पटक सगरमाथामा पाइला राखेका थिए। पर्वतारोही वाङ फुचौ, कुङ् पु र छ्वी यिन्ह्वाले उत्तरी मोहडाबाट सगरमाथामा प्रथम पाइला राखेको ६० वर्ष पुगेको छ।

सन् १९६० मा तिब्बती मोहडाबाट आरोहण गर्ने तीन आरोही

सन् १९५३ मे २९ मा न्यूजिल्याण्डका सर एडमण्ड हिलारी र नेपाली तेन्जिङ नोर्गेले नेपालबाट सगरमाथामा पहिलो पाइला राखेको इतिहास छ। १५ मिनेटजति चुचुरोमा रहेका उनीहरूले नेपाल, भारत, बेलायत र राष्ट्रसंघको झण्डा फहराएका थिए। सोही वर्षको अक्टोबरमा भारतले पहिलो पटक हुलाक टिकट निकालेको थियो। त्यस्तै सन् १९६५ को मे २५ मा चीनले यस्तो टिकट निष्कासन गरेको थियो। अहिले तिब्बती मोहडाबाट सगरमाथा आरोहणको ६०औं वार्षिकोत्सवमा पनि चीनले हुलाक टिकट निकालेको छ।

चिनियाँ टोली सगरमाथाको चुचुरोतर्फ

विगतमा दुई पटक सगरमाथाको उचाइ नापेको चीनले पुनः यसको उचाइ मापन गर्दैछ। नेपालले २०१९ मा आफ्नो तर्फबाट उचाइ मापनका लागि एउटा विशेषज्ञ टोली सगरमाथा पठाएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष असोजमा भएको नेपाल भ्रमणका क्रममा दुवै पक्षले मापन गरिसकेपछि एकैसाथ नतिजा सार्वजनिक गर्ने सहमति भएको थियो। नेपालमा सन् २०१५ को भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भए/नभएको बारेमा विश्वव्यापी चासो राखिएको छ।

सगरमाथाको उचाइ मापन गर्न निस्किएको टोली

चिनियाँ सर्वेक्षण तथा पर्वतारोहीहरू आइतबार ७ हजार २८ मिटर उचाइमा पुगेको र २७ तारिखसम्ममा शिखरमा पुग्ने अपेक्षा गरिएको चिनियाँ प्राकृतिक श्रोत मन्त्रालयले जनाएको छ। यसअघि ६ हजार ५०० मिटरमा रहेको ३० सदस्यीय टोलीले खराब मौसमका कारण दुई पटक उचाइ चढ्दै फर्कँदै गरेको थियो। पश्चिमा जगतमा माउन्ट एभरेस्ट भनिने सगरमाथालाई चिनियाँमा छोमोलाङ्मा भनिन्छ। नेपाल र चीनको सीमामा पर्ने सगरमाथाको उत्तरी भाग तिब्बतको सिगात्से प्रिफेक्चरमा पर्दछ।

सन् १९७५ मा पहिलो पटक सगरमाथा मापन गरेको चीनले ८ हजार ८४८.१३ मिटर र सन् २००५ मा ८ हजार ८४४.४३ मिटर उचाइ रहेको नतिजा सार्वजनिक गरेको थियो।

प्रकाशित : जेष्ठ १२, २०७७ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?