भारतबाट स्वदेश फर्किने क्रममा बाटैमा एक नेपालीको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — भारतको गुजरातबाट स्वदेश फर्किने क्रममा एक नेपालीको शनिबार दिउँसो लखनउनजिकै मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको स्वदेश फर्किने क्रममा मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीर्घनारायण पौडेलले बताए ।

उनका अनुसार अर्घाखाँचीवासी दुईवटा बसमा स्वदेश फर्किंदै थिए । त्यसैमध्येको एक बसमा गैरे सवार रहेको खुलेको छ । गैरे लखनउमा पानी पिउन बसबाट बाहिर निस्किएका थिए । लखनउबाट बस छुट्ने बेला उनले साथीहरूसँग आफूलाई छटपटी भएको, बान्ता र छाती दुखेको बताएका थिए ।

गैरेका भतिजाले प्रहरीलाई जानकारी दिएअनुसार त्यसपछि अस्पताल नपुर्‍याउँदै उनको बाटोमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, कृष्णनगरका निरीक्षक प्रताप पौडेलले गैरेको शव सोही बसमै राखेर ल्याइएको जानकारी दिए । उनका अनुसार मृतकले मदिरा पनि सेवन गरेको पाइएको छ । उनीहरू आइतबार बिहान ७ बजे कृष्णनगर नाकामा आएका थिए । दुईवटा बसमा गरेर ९८ यात्री सवार थिए । आइतबार दिउँसो सिर्सिहवा नाका हुँदै उनीहरू मुलुक भित्रिएका हुन् ।

कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमावर्ती बजार बढनीबाट शव ल्याएर आएको थियो । मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि भैरहवास्थित प्रदेश प्रयोगशाला पठाइएको छ । शवसँग हेलमेल भएका अन्य ९ जनाको पनि स्वाब संकलन गरिएको छ ।

थापाको शव घर पठाइयो

भारतको नौतनवास्थित क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएका स्याङ्जाको हरिनास गाउँपालिका-२, चिसापानी निवासी ३५ वर्षीय देवबहादुर थापाको शव आइतबार घर पठाइएको छ । लकडाउनका कारण स्वदेश आउन नपाएपछि उनी नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा थिए । स्वदेश आउने क्रममा सिमानाबाट फर्काइएपछि उनी क्वारेन्टाइनमा थिए ।

रूपन्देहीका डीएसपी खड्कबहादुर खत्रीले मृतक थापाको भारतको महाराजगन्जमा कोभिड-१९ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनको शव घर पठाइएको बताए । मृतक थापाको पोस्टमार्टम र कोभिड-१९ परीक्षण गर्नका लागि भारतीय प्रहरीले शवलाई जिल्ला सदरमुकाम महाराजगन्ज लगेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?