३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नागरिकको जीवनप्रति खेलबाड नगर्न कांग्रेसको चेतावनी

‘अप्ठ्यारोमा परेका नागरिकलाई चाँडै नेपाल ल्याउँ’
सामाजिक सुरक्षा भत्ता कटौतीमा आपत्ति
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कोरोना भाइरसविरुद्ध प्रभावकारी काम गर्न नसक्‍नु सरकारको गैरजिम्मेवारी र असक्षमता भन्दै कांग्रेसले आलोचना गरेको छ ।

नागरिकको जीवनप्रति खेलबाड नगर्न कांग्रेसको चेतावनी

आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले संक्रमित भेटिएको ४ महिना र लकडाउन भएको २ महिना पूरा हुँदासम्म पनि परीक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ्य सामग्री नहुनु, क्‍वारेन्टाइन नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध नसकेको भन्दै आलोचना गरेको हो । उसले नि:शुल्क पीसीआर परीक्षण व्यापक बनाउन पनि आग्रह गरेको छ ।

भारतका विभिन्न सहरबाट सीमामा आइपुगेका नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन, क्वारेन्टाइनमा राख्न र पीसीआर परीक्षणपश्चात् मात्रै घर पुर्‍याउने प्रबन्ध गर्न बैठकले सरकारसमक्ष माग गरेको छ । कोरोना विरुद्धको संघर्षको क्रममा सरकारले समयमै गम्भीरता नराख्दा संक्रमितको संख्या बढेको ठहरसमेत कांग्रेसको छ ।

सरकारले यो गम्भीर विषयमा व्यवस्थित योजना साथ कार्य नगरिरहेको चित्रले आगामी दिनमा स्थिति झनै जटिल बन्न सक्नेतर्फ सरकारलाई सतर्क गराउँदै नागरिकको जीवनप्रति खेलबाड नगर्न सरकारलाई चेतावनी दिइएको छ ।

‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्दार गर्ने ब्यवस्थित कार्य योजना निर्माण गर्न सरकारले गरेको ढिलाइलाई आफ्ना नागरिकप्रतिको असंवेदनशील व्यवहार ठहर गर्दै बैठकले यथाशीध्र आवश्यक योजना सार्वजनिक गरेर अप्ठ्यारोमा परेका नेपालीको उद्दार थाल्न सरकारसमक्ष माग गरेको छ’बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य विविध कारणले विदेशमा मृत्यु भएका करिब दुई सयभन्दा बढी नेपालीको शव नेपाल ल्याउने प्रबन्ध तत्काल मिलाएर शोकमा रहेका परिवारजनको पीडामा मल्हम लगाउन पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

यस्तै सरकारले एकल महिला, अपांगता भएका व्यक्तिलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेकोमा आपत्ति जनाएको छ । सरकारले केही दिनअघि एकल महिला र अपांगता भएका नागरिकहरुको भत्ता कटौती गरेको जनाएको थियो । त्यसलाई पुनर्कान्वयनमा ल्याउन र समयअनुकूल वृद्धि गर्न पनि कांग्रेसको माग छ ।

जेलमा रहेका कांग्रेस सांसद अफताब आलमको रौतहटास्थित घर घेरेर तोडफोड गरी प्रहरीले आतंक मच्चाएको भन्दै कांग्रेसले निन्दा प्रकट गरेको छ ।


प्रकाशित : जेष्ठ ११, २०७७ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?