कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कर्णालीका सांसदले भने- 'भयावह स्थिति सामनाका लागि तयार रहौं'

चाँदनी कठायत

वीरेन्द्रनगर — आइतबारदेखि सुरु भएको कर्णाली प्रदेशसभाको बजेट अधिवेशनमा प्रमुख राजनीतिक दलका नेताहरुले विशेष परिस्थितिमा सबैले हातेमालो गरेर चुनौतीको सामना गर्नुपर्ने बताएका छन् । उनीहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कर्णालीमा बढ्दै गएको प्रति सरकारको ध्यानाकर्षण गराए ।

कर्णालीका सांसदले भने- 'भयावह स्थिति सामनाका लागि तयार रहौं'

भारतबाट कर्णाली भित्रिनेको संख्या बढ्दै गएको अवस्थामा आइलाग्ने भयावह स्थितिको सामना गर्न सरकार पूर्वतयारी गरेर अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कर्णालीका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारले कोरोनालक्षित योजना बनाउन आग्रह गर्दै सांसदहरुले क्षेत्र विकास कोषबाट पैसा दिनुपरे पनि तयार रहेको बताए । ‘पैसाको कमी प्रदेश सरकारसँग छैन,’ उनले भने, ‘विभिन्न क्षेत्रबाट सहयोग पनि आइरहेको छ, तर हामीले हात फैलाउनै पर्दैन, चालु आवमा खर्च नभएको बजेट पनि प्रशस्तै छ ।’ शाहीले आगामी वर्षको बजेटमा स्वास्थ्य, शिक्षा र उत्पादन तथा रोजगारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेता शाहीले भारतबाट फर्किनेहरुलाई सम्बन्धित प्रदेशको सीमासम्म पुर्‍याउने काम केन्द्र सरकारले गर्नुपर्ने बताए । उनले भारतीय सीमानाकामै क्वारेन्टाइन बनाउन सके जोखिम कम हुने पनि सुझाव दिए ।

नेकपाका नेता एवं सांसद यामलाल कँडेलले भारतबाट भित्रिनेको संख्या सोचेभन्दा पनि बढिरहेको भन्दै सरकारले व्यवस्थित रुपमा कदम चाल्नुपर्नेमा जोड दिए । समन्वयको अभावमा जनताले दुःख पाइरहेको भन्दै सांसद कँडेलले विज्ञ, सरकार र जनताबीच समन्वय गर्नुपर्ने बताए । स्रोत साधनको अभाव भएको समयमा विश्व बन्धुत्वको भावनालाई लिएर अघि बढ्नुपर्ने भन्दै उनले सहकार्य गरेर चुनौतीसँग जुध्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं सांसद सोशीला शाहीले भारतबाट फर्किएकाहरुलाई सुरक्षित तरिकाले प्रदेशमा प्रवेश गराई क्वारेन्टाइनमा राख्नुपर्ने बताइन् । अहिले प्रदेश सरकारले बुद्धि नपुर्‍याए भविष्यमा स्थिति नियन्त्रणबाहिर जाने उनको भनाइ थियो । आगामी बजेटमा जनतालाई कृषिमा आत्मनिर्भर बनाउने खालका योजनालाई प्राथमिकता दिनुपर्ने बताइन् । विदेशबाट फर्किएकालाई रोजगारी दिनेतर्फ पनि सरकारले समयमै विचार पुर्‍याउनुपर्ने सांसद शाहीको भनाइ छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?