जेलभित्र झगडा भएपछि डिल्लीबजार कारागारका ‘चौकीदार’ बर्खास्त
काठमाडौँ — डिल्लीबजार कारागारका ‘नाइके’ गोकुल गिरी जिम्मेवारीबाट बर्खास्त भएका छन् । कारागारभित्र कैदी व्यवस्थापन, अनुशासन पालना र आर्थिक खटनपटनमा आकर्षक मानिने नाइके गिरीलाई आइतबार बर्खास्त गरिएको हो ।
गिरीलाई ‘क’ ब्लकबाट ‘ख’ मा सारिएको छ । गिरीसहित अन्य १३ जनालाई पनि ख ब्लकमा सारिएको छ ।
गिरी २०६५ साउनमा वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण, लागूऔषध खैरो हेरोइन कारोबार तथा डाका मुद्दामा अदलतबाट दोषी ठहर भएका कैदी हुन् । उनी अझै २०८२ चैत ४ गतेसम्म जेल भुक्तानी गर्नुपर्ने छ । गिरीलाई बर्खास्त गरिएसँगै उनले सम्हाल्दै आएको नाइके पद अर्को व्यवस्था नभएसम्मका लागि पिताम्बर पोखरेल र रामचन्द्र कुसवाह (प्यासी)को समूहलाई आन्तरिक प्रशासनको जिम्मा दिइएको छ ।
डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलले अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी व्यवस्थापन गर्न उनीहरुलाई नाइके लगायत आन्तरिक प्रशासनको जिम्मा दिइएको बताए । नाइके पदको जिम्मा पाएका पोखरेल नेपाल सरकारका पूर्व शाखा अधिकृत हुन् । आर्थिक घोटालामा अदालतबाट दोषी ठहर भएपछि उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
कुसवाह नेकपा एमाले बाराका तत्कालीन नेता मोहम्मद आलमको हत्या आरोपमा उच्च अदालतबाट दोषी ठहर भएपछि डिल्लबिजार कारागार आइपुगेका हुन् । डिल्लीबजार आउनुअघि कुसवाह केन्द्रीय कारागारमा थिए । त्यहाँ कैदीबन्दीलाई उक्साएर झगडा गराएको आरोपमा ३ महिना अघि डिल्लीबजार कारागार स्थानान्तरण भएका थिए ।
क्यान्टिनमा उधारो नदिएको भन्दै कैदीबन्दीहरुले गिरीविरुद्ध नाराबाजी गरेपछि आइतबार बिहान ७ बजे झगडा भएको थियो । बिहान चिया र खाजा खान गएका बन्दीलाई उधारो नदिने भनेपछि भनाभन भएको थियो ।
त्यहीक्रममा गिरी र अन्य कैदबीच झगडा भएको थियो । झगडाका क्रममा कारागारमै कैद भुक्तान गरिरहेका शमशेर तामाङको टाउकोमा चोट लागेको थियो । घटना लगत्तै कारागार व्यवस्थापन विभागले उपसचिव वेदनिधी अधिकारी र सूचना अधिकृत देवर्षी सापकोटा सम्मिलित छानबिन समिति गठन गरेको थियो ।
सापकोटाले लकडाउनका कारण आफन्त भेट्न नआएपछि कैदीबन्दीमा खाजा खर्च अभाव भएको र क्यान्टिनमा उधारो माग्दा नदिएपछि विवाद उत्पन्न भएको बताएका छन् ।
यो पनि पढ्नुहोस्ः
डिल्लीबजार कारागारमा झडप, एक जना घाइते
डिल्लीबजार कारागारमा भएको झडपबारे छानबिन गर्न समिति गठन
प्रकाशित : जेष्ठ ११, २०७७ १८:४८