बारामा फेरि ४ प्रहरीमा कोरोना संक्रमण

जिल्लामा १६ संक्रमितमध्ये २ जना कोरोना जितेर घर फर्केका छन् 
लक्ष्मी साह

बारा — जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरीक्षकसहित चार जनामा आइतबार कोरोना पोजिटिभ देखिएको छ ।

बारामा फेरि ४ प्रहरीमा कोरोना संक्रमण

सर्लाहीको हरपुर घर भएका ४९ वर्षीय प्रहरी नायव निरीक्षक, कलैया उपमहानगरपालिका–१६ का ३४ वर्षीय हवल्दार, रौतहट यमुनामाई–४ सरुआठा घर भएका ३२ वर्षीय जवान, वीरगन्ज महानगरपालिका लक्ष्मणवा घर भएका ३४ वर्षीय प्रहरी जवान गरी चार जना संक्रमित भएका हुन् ।

यसअघि जेठ ३ मा मुद्दा फाँटका एक २९ वर्षीय प्रहरी जवान संक्रमित भएको पुष्टि भएपछि त्यसको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा सम्पर्कमा आएका ५० जनाको स्वाब संकलनपछि परीक्षण गर्दा यी चारै जनाको रिपोर्ट पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । चारै जनाको नारायणी अस्पताल वीरगन्जमा पीसीआर परीक्षण भएको उनले बताए । ‘कोरोनाको घेरामा काम गर्नु परेको छ,’ उनले भने, ‘सावधानी अपनाउँदा अपनाउँदै जोखिम मोल्नु परिरहेको छ ।’

जिल्लामा संक्रमित १६ मध्ये ५ जना जिल्ला प्रहरी कार्यालयमै कार्यरतलाई संक्रमणले छोएपछि जोखिम बढेको उनले बताए । प्रहरी प्रवक्ता गौतमका अनुसार गत जेठ ३ गतेदेखि नै संक्रमित चारै जनालाई छुट्टै क्‍वारेन्टाइनमा राखिएको थियो । योसँगै जिल्लामा ५ प्रहरीमा कोरोना पुष्टि भएको हो । उनीहरुलाई कलैया जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको उनले बताए । ‘संक्रमित ४ जनाको थप कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ,’ उनले भने ।

यसअघि सिम्रौनगढ नगरपालिकाका १, २, ७ र ११ का गरी ६ जनामा कोराना पुष्टि भएको थियो । त्यसपछि शनिबार करैयामाई गाउँपालिका–५ तेतरियाका ३७ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । ती महिला संक्रमित ३८ वर्षीय रेडियोकर्मीका पत्नी हुन् ।

यसैगरी विश्रामपुर गाउँपालिका–४ बलिरामपुरमा १४ वर्षीय किशोरमा कोरोना पुष्टि भएको थियो । १४ वर्षीय किशोरबाहेक सबैको कलैया अस्पतालको आइसोलेसनमा राखिएको छ ।

किशोरको भने नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा राखिएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–७ का ४३ वर्षीय र सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर घर भई जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वासिरा मस्जिदमा बस्दै आएका ३१ वर्षीय कोरोना जितेर वीरगन्ज नारायणी अस्पतालबाट शनिबार घर फर्केका छन् । जिल्लामा संक्रमित १६ मध्ये २ जना कोरोना जितेर घर फर्किसकेका छन् । १४ जना उपचारमै छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?