कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चार्टर उडानमा २८५ अमेरिकीसहित ३०३ विदेशी नागरिक फर्किँदै

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका २ सय ८५ अमेरिकी नागरिकसहित ३ सय ३ यात्रु आइतबार साँझ कतार एयरवेजको चार्टर उडानमा स्वदेश फर्किंदै छन् ।

चार्टर उडानमा २८५ अमेरिकीसहित ३०३ विदेशी नागरिक फर्किँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, लकडाउन लागू भएको दुई महिनायता कतार एयरवेजले विदेशी नागरिकको उद्धारका लागि गरेको यो १२ औं उडान हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार, यो अवधिमा ६४ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भए । जसमा २८ वटा कार्गो उडान थिए भने बाँकी ३६ वटा यात्रु चार्टर उडान थिए ।

प्राधिकरणको तथ्यांकअनुसार, लकडाउनको अवधिमा सर्वाधिक यात्रु उडान गर्नेमा कतार पहिलो स्थानमा छ भने यसपछि दोस्रोमा नेपाल वायुसेवा निगम रहेको छ । यो चार्टर उडानसँग सम्बन्धित एक अधिकारीका अनुसार, यसमा २ सय ८५ अमेरिकी नागरिकबाहेक, बेलायती, क्यानेडियन, न्यूजिल्यान्ड, नेपाली र केही युरोपीयन मुलुककासहित ३ सय ३ यात्रु छन् । ती यात्रुसँग ९ वटा शिशु छन् । यात्रुबाहेक यसमा अमेरिकी दूतावासमा कार्यरत कर्मचारीका ३ वटासहित ४ कुकुर पनि अमेरिका फर्किँदै छन् ।

यो चार्टर उडानमा टिकट बिक्रीको जिम्मा लिएको प्रेसिडेन्ट ट्राभलले काठमाडौंमा रहेका दूतावाससँग संयोजन गर्दै बाहिर रहेका विदेशी तथा ती मुलुकका नागरिक, पीआरबाहेक भिसा भएका, डीभी लागेका नेपालीलाई जम्मा गर्ने जिम्मा लिएको ती अधिकारीले बताए । ‘जहाज ४ बजे काठमाडौं विमानस्थलमा अवतरण भइसक्यो तर काठमाडौंबाहिरबाट आउँदै गरेकाहरु ५ बजेसम्म विमानस्थलमा पुग्छौं भनिरहेका छन्,’ ती अधिकारीले भने, ‘जहाज टिकट बुक गर्ने सबै यात्रुलाई लिएर ७ :२० मा फर्किने समय तय गरिएको छ ।’

काठमाडौंबाट दोहासम्म जाने यी यात्रु त्यहाँबाट नियमित उडानमा आ–आफ्नो मुलुकको उडानमा फर्किने छन् । कतारले काठमाडौंमा अलपत्र विदेशीहरु स्वदेश फर्किन खोजिरहेकाले थप चार्टर उडान हुन सक्ने जनाएको छ ।

यसैबीच आइतबार राति नेपाल वायुसेवा निगमको वाइडबडी जापानको नारिता फर्किँदै छ । जसमा नेपालमा अलपत्र परेका जापानको भिसा भएका नेपाली र केही जापानी नागरिक छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?