कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आइसोलेसनको ढोका फोडेर संक्रमित फरार

अजित तिवारी

जनकपुर — प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा उपचाररत सर्लाहीका एक कोरोना संक्रमित शनिबार राति ढोका फोडेर भागेका छन् ।

आइसोलेसनको ढोका फोडेर संक्रमित फरार

वैशाख २९ गते संक्रमण पुष्टि भएपछि उनलाई जनकपुरको आइसोलोसन वार्डमा राखेर उपचार भइरहेको थियो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी रमेश बस्नेतले शनिबार राति आइसोलेसन वार्डको तेस्रो तलाको ढोका फोडेर संक्रमित फरार भएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति सुस्त मनस्थितिका छन् ।

‘सुस्त मनस्थितिका भएकाले आइसोलेसनमा आएदेखि उपद्रो मच्चाइरहेका थिए,’ बस्नेतले भने, ‘तीन दिनअघि सीसी क्यामेरा फुटाइदिए । अहिले फरार नै भए ।’ उनको खोजीमा धनुषा र सर्लाहीबाट प्रहरी खटाइएको छ । ‘पीपीई लगाएका प्रहरी उनको खोजीमा खटिएका छन्,’ बस्नेतले भने, ‘शनिबार राति नै फरार भए पनि प्रहरीलाई आइतबार बिहान मात्र जानकारी दिइयो । फरार भएको हो कि भगाइयो, दुवै कोणले अनुसन्धान भइरहेको छ ।’

प्रादेशिक अस्पतालको आइसोलेसनमा तीन दिनयता संक्रमितको संख्या बढेको छ । अहिले ३० जना उपचाररत छन् ।

फरार संक्रमितलाई मानसिक रोगको औषधि चलाइएको थियो । ‘मानसिक स्थिति ठीक नभएकाले आइसोलेसनमै दिनदिनै होहल्ला र उपद्रो गरिरहेका थिए,’ प्रादेशिक अस्पतालका मेसु नागेन्द्र यादवले भने, ‘चार दिनअघि झ्याल फोडेर त्यहीँबाट पिसाब फेरिदिए ।’ उनका ती संक्रमितको दोस्रो पटक स्वाब परीक्षण भइसकेको छ ।

सर्लाहीका एसपी विश्वमणि पोखरेलले जनकपुरको आइसोलेसनबाट फरार भएकाको खोजी त्यहाँ पनि भइरहेको बताए । ‘हिँडेरै आउने होला । उसको गाउँ र नाकाहरूमा प्रहरी खटाइएको छ,’ उनले भने, ‘राजमार्गका प्रहरीलाई पनि चनाखो राखिएको छ ।’

प्रकाशित : जेष्ठ ११, २०७७ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?