२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संक्रमित ओसार्न फोहोर बोक्ने ट्र्याक्टर !

मापदण्डअनुसार क्वारेन्टाइनस्थलमा चौबीसै घण्टा एम्बुलेन्स रहनुपर्नेमा अधिकांशमा उपलब्ध छैनन् । धेरै एम्बुलेन्स चालक संक्रमित ओसार्न भनेपछि विभिन्न बहाना बनाएर आउन आलटाल गर्छन् ।

कपिलवस्तु, रुपन्देही — क्वारेन्टाइनमा रहेका युवक बिरामी परेपछि कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले मंगलबार एम्बुलेन्स खोजी गरे । आसपासका तीन स्थानीय तहमा रहेका पाँचवटा एम्बुलेन्स चालकलाई फोन त गरे । तर, कसैले आउन मानेनन् ।

संक्रमित ओसार्न फोहोर बोक्ने ट्र्याक्टर !

‘बिरामी छट्पटाइरहेका थिए । तारन्तार फोन गरिरहेको थिएँ,’ उनले भने, ‘एम्बुलेन्स नपाएपछि ठूलो तनाव भयो ।’ त्यसपछि नगरपालिकाको फोहोर बोक्ने ट्याक्टरका चालक राजेन्द्र बारीलाई अनुरोध गरे । बारीले त्यो अवस्था बुझेपछि आँखाबाट आँसु झारे र मानवीयता देखाए ।

कपिलवस्तु–१२, बिठुवामा रहेको कालिका जन मावि क्वारेन्टाइनमा बिरामी परेका युवालाई बारीले ट्याक्टरमा सदरमुकाम तौलिहवास्थित अस्पताल ल्याए । उपचारपछि उनैले क्वारेन्टाइन फर्काए । त्यहाँबाट फर्केर नगरपालिका कार्यालय आएका थिए । लगत्तै कपिलवस्तु–४, मलपरवास्थित एक प्राविको क्वारेन्टाइनका पुरुष बिरामी परेर थलिएको खबर आयो । त्यहाँ एम्बुलेन्स खोज्दा पाइएन । त्यसपछि बारीकै सहयोगमा बिरामी अस्पताल ल्याएको गुप्ताले सुनाए ।

वैशाख ३१ को साँझ कृष्णनगरमा चार सुरक्षाकर्मी र दुई कर्मचारीसहित आठ जना संक्रमित भएको सूचना आयो । सुरक्षाकर्मी र कर्मचारीलाई अर्को दिन बिहान प्रहरीले तौलिहवास्थित आइसोलेसन सेन्टरमा पुर्‍यायो । दुई सर्वसाधारणलाई ओसार्न एम्बुलेन्स पाइएन । त्यसपछि जेठ २ गते साँझ मात्र एम्बुलेन्स खोजेर दाङको बेलझुन्डीस्थित कोरोना अस्पताल पुर्‍याइएको थियो ।

मापदण्डअनुसार पर्याप्त छैनन् एम्बुलेन्स

जिल्लामा क्वारेन्टाइनस्थलअनुसार एम्बुलेन्सको उपलब्धता दयनीय छ । क्वारेन्टाइनको अनुपातमा न्यून संख्यामा मात्रै एम्बुलेन्स छन् । उपलब्ध एम्बुलेन्सले अन्य बिरामीलाई पनि सेवा पुर्‍याउनुपर्छ । सरकारी मापदण्डअनुसार वाणगंगा नगरपालिकामा मात्र एम्बुलेन्स उपलब्ध छन् । त्यहाँका ६ वटा क्वारेन्टाइनमा ६ वटै एम्बुलेन्स छन् । क्वारेन्टाइनमा १ सय ३५ जना छन् । तर सदरमुकाम तौलिहवा रहेको कपिलवस्तु नगरपालिकाको अवस्था कहालीलाग्दो छ । यहाँ ३५ क्वारेन्टाइन बनाइएको छ । नगरमा दुईवटा मात्र एम्बुलेन्स चालु अवस्थामा छन् । दुईवटा बिग्रिएका छन् । क्वारेन्टाइनमा अहिले ९ सय जना छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र कृष्णनगरमा ३० क्वारेन्टाइन छन् । तिनका लागि दुईवटा मात्रै एम्बुलेन्स छन् । क्वारेन्टाइनमा १ हजार ४ सय ८१ जना बसिरहेका छन् । यशोधरा गाउँपालिकामा २७ क्वारेन्टाइन छन् । त्यहाँ एउटा मात्र एम्बुलेन्स छ । बिहीबारसम्म क्वारेन्टाइनमा १ हजार ३ सय ४५ जना छन् । यहाँको महाराजगन्ज नगरपालिकामा ४५ क्वारेन्टाइन छन् । नगरपालिकामा दुईवटा एम्बुलेन्स रहेका छन् । क्वारेन्टाइनमा १ हजार ६ सय ३० जना छन् ।

शुद्धोदन गाउँपालिकामा २८ क्वारेन्टाइनमा ९ सय ६५ जनालाई राखिएको छ । यहाँ दुईवटा एम्बुलेन्स छन् । मायादेवी गाउँपालिकामा ३० वटा क्वारेन्टाइन छन् । जम्मा ६ वटा एम्बुलेन्स सञ्चालनमा छन् । क्वारेन्टाइनमा ६ सय ५२ जना छन् । विजयनगर गाउँपालिकामा आठ क्वारेन्टाइन र एउटा एम्बुलेन्स छ । क्वारेन्टाइनमा ६ सय ५२ जना रहेका छन् । बुद्धभूमि नगरपालिकामा १६ क्वारेन्टाइन छन् । त्यहाँ दुई एम्बुलेन्स छन् । क्वारेन्टाइनमा ६ सय ३१ जना छन् । शिवराज नगरपालिकामा ९ क्वारेन्टाइनका लागि दुईवटा एम्बुलेन्स छन् । उक्त नगरपालिकामा ४ सय ६० जना क्वारेन्टाइनमा छन् ।

स्वाब संकलनमा पनि एम्बुलेन्सकै भर

स्थानीय तहमा रहेका एम्बुलेन्सले बिरामी मात्र ओसार्दैनन्, स्वाब संकलनमा पनि तिनै प्रयोग भइरहेका छन् । जिल्लाका १० स्थानीय तहमा २ सय ३४ क्वारेन्टाइन सञ्चालनमा छन् । त्यहाँ बिहीबारसम्म ८ हजार ८ सय ५१ जना बसिरहेका छन् । ‘काम गर्न निकै चुनौती छ,’ यशोधरा गाउँपालिकाका एम्बुलेन्स चालक राजेश पाण्डेले भने, ‘सधैं असुरक्षित महसुस गरिरहेका छौं ।’ बिरामी बोक्नका लागि पीपीई र पन्जाको भर रहेको उनले बताए । त्यसबाहेक सुरक्षात्मक उपाय अपनाउन नसकेको उनको भनाइ छ ।

एम्बुलेन्समा सुरक्षाका लागि बिरामी बस्ने भागलाई चेम्बर बनाउन आफूहरूले माग गरिरहेको उनले सुनाए । कृष्णनगरमा पर्याप्त एम्बुलेन्स नहुँदा समस्या भोगिरहेको नगरप्रमुख रजतप्रताप शाह बताउँछन् । ‘आवश्यक परेका बेला एम्बुलेन्स आउन मान्दैनन्,’ उनले भने, ‘त्यसले गर्दा संक्रमित व्यवस्थापन गर्न समस्या छ ।’ जिल्लाका क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको व्यवस्थापन पनि कमजोर छ । एक जना मेडिकल अधिकृत, स्वास्थ्य परिचारिका र पारामेडिक राख्नुपर्ने व्यवस्था छ । तर, कतै चिकित्सक छैनन् । ल्याब टेक्निसियन र फर्मासिस्ट पनि राख्नुपर्छ । यी सुविधा पनि छैनन् । जिल्लाभरिका क्वारेन्टाइनलाई तीन/चार जना हेल्थ असिस्टेन्ट र अहेबले चलाइरहेका छन् । सीमित स्वास्थ्यकर्मीले नगरका सम्पूर्ण क्वारेन्टाइन रेखदेख गरिरहेको महाराजगन्ज नगरपालिकास्थित सिसवा स्वास्थ्य चौकी इन्चार्ज वेदपाल चौधरीले बताए ।

मागेर चलाउँदै

गत आइतबार बाँकेको नरैनापुर–५ का २५ वर्षीय युवकको स्थानीय क्वारेन्टाइनमा रहेका बेला मृत्यु भयो । शनिबार रातिबाट झाडापखाला चल्न थालेपछि उनी सिकिस्त भए । क्वारेन्टाइनमा रहेका व्यक्तिले छिटो अस्पताल लैजान दबाब दिए । त्यहाँ खटिएका स्वयंसेवकले गाउँपालिकामा रहेका एम्बुलेन्स चालकलाई फोन गरे । चालक आउन तयार भएनन् । गाउँपालिकाको स्वास्थ्य शाखाले पनि चासो दिएन । युवकको आइतबार बिहान मृत्यु भयो । आइतबार अपराह्न उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आयो । त्यसपछि उनको मृत्युलाई कोभिड–१९ संक्रमणबाट भएको मृत्युमा गणना गरियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टाइनस्थलमा चौबीसै घण्टा एम्बुलेन्स र चालक रहनुपर्छ । तर, प्रदेश ५ का जिल्लामा यो मापदण्ड कतै लागू भएको छैन । सीमासित जोडिएको रूपन्देहीको सिद्धार्थनगर नगरपालिकासित एउटा पनि एम्बुलेन्स छैन । नगरपालिकाले अन्य गाडीलाई आवश्यकताअनुसार क्वारेन्टाइनमा रहेका र अन्य बिरामी बोक्ने गरी प्रयोग गरिरहेको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए ।

‘बहानाबाजी गरेर एम्बुलेन्स नआइदिँदा नगरकै फरकफरक गाडीमा क्वारेन्टाइन र अन्य बिरामीलाई आवश्यक स्थानमा पुर्‍याउने काम गरिरहेका छौं,’ उनले भने, ‘परिस्थितिअनुसार व्यवस्थापन गरिएको छ ।’ सिद्धार्थनगरमा अहिले चारवटा क्वारेन्टाइन छन् । सीमापारि नेपाल भित्रिन चाहनेको चाप रहेकाले संख्या बढ्ने नगरपालिकाले जनाएको छ ।

अहिलेसम्म ११ संक्रमित पुष्टि भइसकेको लुम्बिनी सांस्कृतिक नगरपालिका पनि एम्बुलेन्सविहीन छ । त्यहाँ रहेको एउटा एम्बुलेन्स दुर्घटनामा परेपछि थन्किएको छ । खाँचो बढेपछि स्थानीय संघसंस्थासँग सहयोग मागेर दुईवटा एम्बुलेन्स सञ्चालन गरिरहेको नगरप्रमुख मनमोहन चौधरीले बताए । ‘दुईवटैलाई मिलाएर चलाएका छौं,’ उनले भने, ‘औषधि छिटेर पालैपालो संक्रमित र अन्य बिरामी बोक्ने गरेका छौं ।’ मापदण्डमा उल्लेख भए पनि व्यवस्थापनको पाटो जटिल भएको चौधरी बताउँछन् ।

मर्चवारी गाउँपालिकामा एम्बुलेन्स छैन । जसले गर्दा समस्यामा परेको गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले बताए । ‘आफूसँग छैन, छिमेकीले सहयोग गर्दैनन्,’ उनले भने, ‘भैरहवाबाट बस वा एम्बुलेन्स जे पाइन्छ, त्यही मगाउने गरेका छौं ।’

रूपन्देहीका सबै स्थानीय तहमा बिहीबारसम्म ८९ क्वारेन्टाइन छन् । तिनमा अलग्गै एम्बुलेन्सको व्यवस्था छैन । आवश्यकता परेपछि बोलाउने गरिएको छ । स्वास्थ्य सुरक्षा सामग्रीलगायत कारणले सबै एम्बुलेन्स बिरामी बोक्न मान्दैनन् । जिल्लामा अहिले ५० एम्बुलेन्स चालु अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले बताए । ‘ती सरकारी, निजी अस्पताल र विभिन्न संघसंस्थाका हुन्,’ उनले भने, ‘आवश्यकता परेको खण्डमा प्रशासनले समन्वय गरी जिल्लाभरि चलाउने गरिएको छ ।’

एम्बुलेन्स नरहेका स्थानीय तहले खरिदका लागि बजेट विनियोजन गरेका छैनन्, जसले गर्दा क्वारेन्टाइनपिच्छे एम्बुलेन्स व्यवस्थापन मापदण्डमा सीमित भएको छ । यहाँका क्वारेन्टाइनमा रहेका व्यक्ति, संक्रमित र अन्य बिरामी ओसार्ने फरकफरक एम्बुलेन्स छैनन् । जसले गर्दा संक्रमण सर्ने जोखिम पनि उत्तिकै छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?