२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सीमाबाट २ दिनमै साढे १० हजार भित्रिए

भारतबाट फर्किएका अधिकांशलाई परीक्षण नगरी भित्र्याइएको छ । त्यसमाथि क्वारेन्टाइनको कमजोर व्यवस्थापन र असमन्वयका कारण देशैभर संक्रमण फैलिने जोखिम उच्च छ ।
जनकराज सापकोटा

काठमाडौँ — सीमावर्ती भारतीय नाकाबाट आवश्यक जाँच र परीक्षणबिनै दुई दिनमा साढे १० हजार नेपाली स्वदेश भित्रिएका छन् । प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राख्न सक्रियता नदेखाइँदा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिने जोखिम बढेको छ ।

सीमाबाट २ दिनमै साढे १० हजार भित्रिए

सुरक्षा स्रोतबाट कान्तिपुरलाई प्राप्त तथ्यांकअनुसार वैशाख १२ यतामात्रै ३५ हजार ९३ जना विभिन्न नाकाबाट नेपाल प्रवेश गरेको देखिन्छ । गत बिहीबार र शुक्रबारमात्रै सीमावर्ती १९ जिल्लाबाट १० हजार ४ सय ३६ जना स्वदेश भित्रिएका छन् । सुरक्षाकर्मीको आँखा छलेर भित्रिनेको संख्या जोड्दा यो संख्या अझै बढी हुन आउँछ । तर यसरी छिरेकामध्ये धेरैजसो बिनास्वास्थ्य जाँच र क्वारेन्टाइनमा नबसी सोझै गृहजिल्लातिर सोझिएका छन् । कतिपय स्थानीय तहले आफ्नै सक्रियतामा सीमावर्ती जिल्लाबाट नागरिकहरूलाई ल्याए पनि क्वारेन्टाइनमा राख्ने, सबैको स्वास्थ्य परीक्षण गराउने काम हुन सकेको छैन ।

पछिल्लो एक साताको विवरण केलाउँदा विभिन्न जिल्लाका नाकाबाट सरकारी समन्वय र लुकीछिपी प्रत्येक दिन औसतमा ४ हजारभन्दा धेरै नेपाल छिर्ने गरेको पाइएको छ । यो संख्या प्रत्येक दिन झन्डै दोब्बरले बढेको देखिन्छ । कपिलवस्तुको सीमा नाकामा खटिएका एक सशस्त्र प्रहरीका अनुसार नाकामा ओइरिनेको संख्या प्रत्येक दिन दोब्बर हुँदै छ । जेठ ६ मा सरकारी समन्वयमा २ हजार ५ सय ८३ र लुकीछिपी २६ गरेर २ हजार ६ सय ९ जना नेपाल छिरेका छन् । यसैगरी, जेठ ७ मा ६ हजार ८२ लाई समन्वयमा र ३९ जना लुकीछिपी गरेर ६ हजार १ सय २१ जना भित्रिए । ९ र १० गते त यो संख्या १० हजारको हारहारीमा पुगेको थियो ।

प्रभावकारी समन्वयको अभावमा जोखिम मोलेरै लुकीछिपी सीमा नाकाबाट प्रवेश गर्नेहरूको संख्या पनि उल्लेख्य छ । लुकीछिपी छिर्ने र सोझै आफ्नो गाउँघर पुग्नेहरूको संख्या हेर्दा सीमा नाकामा फितलो व्यवस्थापनमात्रै झल्काउँदैन, राज्यले संक्रणमको जोखिम कसरी निम्त्याइरहेको छ भन्ने पनि बुझाउँछ । वैशाखमा ३ सय ३० जना र जेठमा ७२ जना लुकीछिपी नेपाल छिरेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को तथ्यांक छ । जबकि सीमावर्ती क्षेत्रमा खटिने सुरक्षाकर्मीहरू भने लुकीछिपी छिर्नेको संख्या सयौं रहेको बताउँछन् । सेन्टरले जम्मा पारेको तथ्यांक प्रहरीको रेकर्डमा भएको संख्यामात्रै हो ।

रातको समयमा खोला किनार, जंगल, खेतबारी हुँदै तथा सीमावर्ती भारतीयलाई पैसा तिरेर नेपाल छिर्ने प्रवृत्ति पनि उत्तिकै छ । जसरी पनि स्वदेश छिर्ने नाममा अवैध रूपमा सीमा प्रवेश गर्नेहरूले जोखिमपूर्ण यात्रा गरिरहेका छन् । जेठ ६ मा बैतडीको स्वराड क्षेत्रबाट महाकालीमा पौडी खेलेर ५ जना आए । भोलिपल्ट पनि सोही क्षेत्रबाट १४ जना पौडी खेलेरै स्वदेश छिरे ।

संक्रमणको उच्च जोखिम रहेका भारतीय सहरबाट समूह–समूहमा नेपाल छिरेकाहरूलाई सीमावर्ती जिल्ला वा उनीहरूको गृहजिल्लामा क्वारेन्टाइनमा राख्न व्यवस्थित पहल भएको देखिन्न । शुक्रबारमात्रै कञ्चनपुरबाट काठमाडौं भित्रिएको एउटा बसलाई नागढुंगामा प्रहरीले जाँच गर्दा त्यसमा सवार २९ जना भारतबाट आएको थाहा भयो । प्रहरी स्रोतका अनुसार त्यसरी आएकामध्ये काठमाडौं बसोबास भएका ५ जनालाई क्वारेन्टाइनमा राखेर बाँकीलाई भने सम्बन्धित स्थानीय तहमा पठाइएको छ । बसमा रामेछाप घर भएका १५, सिन्धुपाल्चोक र काभ्रेका ५/५ जना सवार थिए । नागढुंगामा खटिएका एक प्रहरीले गुनासो गरे, ‘कति साता सीमा नाकामा बसेर नेपाल छिरेका छन् । रोकेर फकाईदिउँm पनि कता जाऊ भन्ने ? माथिकाले रोक्नुस् भन्छन् । तर तिनीहरूलाई कहाँ पठाइदिने भन्ने थाहा छैन ।’

भारतले रेल सञ्चालन गर्न थालेपछि सीमा नाकामा नेपाली थुप्रिने क्रम पछिल्ला दिनमा झनै बढेको छ । गृह स्रोतका अनुसार शनिबारमात्रै सीमावर्ती १३ जिल्लाको सीमापारि १ हजार ५ सय ३१ जना अड्किएका छन् । सुरक्षा स्रोतले संकलन गरेको विवरणबाहेक कपिलवस्तुपारि दशगजा क्षेत्रमा ८ सय ९६, कञ्चनपुरपारि करिब ६ सय ५० जना, बैतडीपारि झुलाघाट नाकामा करिब ३५ जना गरी झन्डै १ हजार ६ सय नेपाली अड्किएका छन् । विस्तृत विवरण भएका र नभएका गरी ३ हजारभन्दा धेरै नेपाली सीमा नाकामा स्वदेश फर्किने प्रतीक्षामा छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार चैतको पहिलो सातायता मात्रै यहाँका विभिन्न नाका हुँदै एक लाखभन्दा धेरै नेपाली स्वदेश भित्रिएको अनुमान छ । त्यसरी भित्रिएकामध्ये कति क्वारेन्टाइनमा छन् र कति छैनन् भन्ने तथ्यांक न त प्रदेश सरकारसँग छ, न संघीय सरकारसँग नै । शुक्रबार मात्रै महेन्द्रनगर नाकाबाट ५ सय, झुलाघाट नाकाबाट ३ सय भित्रिएका थिए । प्रहरीका अनुसार सुदूरपश्चिमका विभिन्न नाकाबाट मात्रै पछिल्ला तीन दिनमा औसतमा ३ हजारको हाराहारीमा नेपालीहरू भित्रिएका छन् ।

कतिपय सीमावर्ती जिल्लाहरूले भित्रिएकालाई सम्बन्धित जिल्ला वा स्थानीय तहले समन्वय गरी लिएर जान सक्ने बताएका छन् । तर सबै जिल्ला वा स्थानीय तहले आफ्नो क्षेत्रका मानिसलाई सुरक्षितसँग ल्याउने र क्वारेन्टाइनमा राख्ने काममा समन्वय नगर्दा भारतबाट आएका धेरैजसो आफ्नै पहलमा जिल्लातिर हिँडेका छन् । सुदूरपश्चिम प्रहरीका डीआईजी उत्तमराज सुवेदीले पछिल्लो समय संक्रमित पुष्टि भएकामध्ये भारतबाट भित्रिएकाहरूको संख्या धेरै भएकाले भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा नराख्ने र बिनापरीक्षण गाउँ फर्किन दिने हो भने संक्रमण सबैतिर फैलिने जोखिम रहेको बताए ।

प्रदेश ५ प्रहरीका डीआईजी रवीन्द्र धानुकका अनुसार प्रत्येक दिन सीमा नाकामा नेपालीहरू थुप्रिने क्रम बढ्दो छ । उनले शनिबारमात्रै ६ हजारको हाराहारीमा नेपालीहरू छिरेको हुन सक्ने अनुमान गरे । ठूलो संख्यामा नेपाल छिर्नेहरूको संख्या प्रत्येक दिन बढे पनि देशभित्र सोहीअनुसार क्वारेन्टाइनको क्षमता विस्तार भएको देखिन्न । प्रदेश १ र कर्णाली प्रदेश सरकारले आगामी केही दिनमा करिब २० हजार नेपाली आफ्नो प्रदेश हुँदै स्वदेश छिर्ने आकलन गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका सीमावर्ती जिल्ला नाका हुँदै करिब ८० हजारदेखि १ लाख भित्रिन सक्ने अनुमान प्रदेश सरकारको छ । कान्तिपुरले सीमावर्ती प्रदेशका सुरक्षा निकायबाट संकलन गरेको विवरणअनुसार आगामी एक सातामा १ लाखभन्दा धेरै नेपाली सीमावर्ती क्षेत्रबाट नेपाल छिर्न सक्नेछन् । जबकि स्वास्थ्य मन्त्रालयका अनुसार देशैभर करिब ७६ हजारको हाराहारीमा मात्रै क्वारेन्टाइन बेडको संख्या छ । जसमा अहिले नै करिब २८ हजार बसिरहेका छन् । ४८ हजार क्वारेन्टाइन बेड अबका दिनमा अपुग हुने देखिन्छ । त्यसो त अहिले नै क्वारेन्टाइनहरू मापदण्डअनुसार नरहेको र भारतबाट आएकाहरू फितलो व्यवस्थापन र भीडका कारण क्वारेन्टाइनमा बस्न नखोजिरहेको देखिन्छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?