कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हेटौंडाका ३ डाक्टरसहित १९  स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

संक्रमण पुष्टि भएकी हेटौंडा–४ हुप्रचौरकी ५४ वर्षीय महिलाको उपचारमा संलग्न ३ जना डाक्टरसहित १९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।
सुवास विडारी

मकवानपुर — काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएकी हेटौंडा–४ हुप्रचौरकी ५४ वर्षीय महिलाको उपचारमा संलग्न ३ जना डाक्टरसहित १९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

हेटौंडाका ३ डाक्टरसहित १९  स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

ती महिलालाई जेठ ४ गते हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । शुक्रबार उनमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न हेटौंडा अस्पतालका डाक्टरसहित अन्य स्वास्थ्यकर्मीलाई हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा रहेको क्वारेन्टाइनमा राखिएको हेटौंडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संलकन गरिसकेको उनले बताए ।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले ती महिला पेट फुलेको, दम बढेको अवस्थामा उपचारका लागि आएकी थिइन् । ‘बिरामीमा दम र रक्तचाप बढी देखिएको थियो । उहाँ मधुमेहको पनि बिरामी हुनुहुँदो रहेछ । थप उपचारका लागि काठमाडौं रिफर गरेको छैटौं दिनमा कोरोना देखिएको हो’, डा. श्रेष्ठले भने, 'क्वारेन्टाइनमा रहेको डाक्टर तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ ।'

शनिबार हेटौंडा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी तथा विकास समितिका सदस्यहरुसहित ७८ जनाको स्वाब संलकन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ । ‘हेटौंडाको किटजन्य ल्याबमा गरिएको परीक्षणअनुसार १२ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ’, डा. श्रेष्ठले भने, '६६ जनाको स्वाबको पीसीआर रिपोर्ट आइतबार आउनेछ ।'

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायका अनुसार हेटौंडा अस्पतालको ओपीडी, प्रसूति, फिबर क्लिनिक तथा इमर्जेन्सी सेवाहरु सञ्चालन नै रहनेछन् । ‘अहिले क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि थप सात दिन क्वारेन्टाइनमा राखिने निर्णय सर्वपक्षीय छलफलबाट भएको छ’, उनले भने ।।

हेटौंडा अस्पतालबाट दैनिक ३ सय ५० जनाले ओपीडी सेवा लिइरहेका छन् । यस्तो अवस्थामा थप सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाह गरिने र कुनै पनि सेवा बन्द नहुने उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?