१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बैठकमै गाउँपालिका अध्यक्षले वडाध्यक्ष कुटे

एजेन्डापिच्छे छलफल भइरहेका बेला सुनिलस्मृति गाउँपालिका अध्यक्षले एक्कासि वडाध्यक्षमाथि आक्रमण गरेका हुन् ।
काशीराम डाँगी

रोल्पा — पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिकाको कार्यपालिका बैठकमै अध्यक्ष गुणेन्द्र घर्तीमगरले एक वडाध्यक्षमाथि आक्रमण गरेका छन् । शनिबार आयोजित गाउँपालिकाको १४औं कार्यपालिका बैठकमा निर्णय गर्ने क्रममा अध्यक्ष घर्तीमगरले ४ नं वडाध्यक्ष गञ्जबहादुर महरा क्षत्रीमाथि कुटपिट गरेका हुन् ।

बैठकमै गाउँपालिका अध्यक्षले वडाध्यक्ष कुटे

लकडाउनको अवधिमा बैंकहरु खुलाउने दिन तोक्न निर्णय गर्ने विषयमा प्रवेश गर्ने क्रममा बैठकको अध्यक्षता गरिरहेका घर्तीमगरले आक्रोशित हुँदै वडाध्यक्ष क्षत्रीमाथि एक्कासि आक्रमण गरेका हुन् । वडापालिका स्तरीय निर्णयका आधारमा बैंकहरु सातामा दुई दिन खुलाउने निर्णय यसअघि नै भइसकेको थियो ।

बैठकमा सहभागी प्रत्यक्षदर्शी वडा नं १ का अध्यक्ष केशव कंवरले अध्यक्ष घर्तीमगरलाई रोक्न सकेकाले थप दुर्घटना नभएको बताए । ‘करिब ३ मिटर पर रहेका अध्यक्षले एक्कासि वडाध्यक्ष क्षत्रीमाथि आक्रमण गरे,' उनले भने, ‘जनप्रतिनिधि र कर्मचारी मिलेर रोक्दा पनि वडाअध्यक्ष क्षत्रीमाथि हातले हिर्काउनुभयो ।’ बैठकमा एजेन्डापिच्छे छलफल भइरहेकाले आक्रोशित भई आक्रमण गर्नुपर्ने कुनै वातावरण नभएको उनको भनाइ छ ।

सुलिचौर बजारका कुनकुन बैंक खोल्न सहमति दिने र सघाउने भन्नेबारे छलफल सुरु हुनासाथ आक्रमण भएको थियो । ‘एक्कासि ममाथि आक्रमण गरेपछि मात्रै थाहा भयो’, कुटपिटमा परेका वडाअध्यक्ष क्षत्रीले भने, ‘अध्यक्षले हातले टाउको र जिउमा हिर्काएपछि सबैले देखे ।’

घटनालगत्तै उपाध्यक्ष बागमती थापा क्षत्रिनी र प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्देलगायतले अध्यक्ष घर्तीमगरलाई नियन्त्रणमा लिएका थिए । हल्लाखल्ला भएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालयबाट बैठक स्थलमा प्रहरी पुगेको थियो । पीडित वडाअध्यक्ष क्षत्रीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । ‘उहाँले न्याय माग्दै ठाडो उजुरी दिनुभएको छ,’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रनि सुरेन्द्र धमलाले भने, ‘छलफल गरेर कुरा मिलाउने प्रयास गरिएको छ भन्ने सुनेको छु । यहाँ कोही अएको छैन ।’

नेकपा गाउँपालिका स्तरीय कमिटीका अध्यक्ष मणिराम बुढाथोकीले घटनाबारे सामान्य जानकारी पाएको बताए । ‘घटना भएको सुनेको छु’, उनले भने, ‘यसबारे थप बुझ्ने क्रममा छु । घटना दुःखद् छ ।’

स्रोतका अनुसार यसअघिदेखि नै दुवैबीच सुमधुर सम्बन्ध थिएन । अध्यक्ष घर्तीमगर तत्कालीन नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए भने वडाअध्यक्ष क्षत्री कांग्रेसबाट निर्वाचित हुन् । घर्तीमगर माओवादी लडाकुका पूर्वकमान्डरसमेत हुन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?