बालुवाटारमा नेकपा सचिवालयको अनौपचारिक बैठक

काठमाडौँ — सत्तारुढ नेकपा सचिवालयको अनौपचारिक बैठक बालुवाटारमा सुरु भएको छ । नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता एजेन्डामा छलफल गर्न भन्दै बैठक बसेको हो । 

बालुवाटारमा नेकपा सचिवालयको अनौपचारिक बैठक

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता मुद्दामा छलफल हुने सम्भावना छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिने संकेत देखिएको छ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नयाँ नक्सा समावेश गर्न संसद्‍मा संविधान संशोधन प्रस्ताव दर्ता भइसकेको छ । संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागिएको हो । यस विषयमा पनि नेकपा बैठकमा छलफल हुने बताइएको छ । यसबाहेक १५ जेठमा आउने आगामी वर्षको बजेट तयारीका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

यसैगरी एमसीसीको विषय पनि बैठकमा छलफल हुने छ । सचिवालयका अर्का एक सदस्यले एमसीसी मुख्य मुद्दा हुन सक्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसद्‌मा सम्बोधन गर्दा एमसीसी पारित गर्ने/नगर्ने संसद्को जिम्मा भएको बताएका थिए । शनिबारको बैठकमा नेकपाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा बनाएको एमसीसीको कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ ।

संसद्‌मा नीति तथा कार्यक्रमको २११ नं. बुँदा लप्सिफेदी–रातमाटे–हेटौँडा, लप्सिफेदी–रातमाटे–दमौली–बुटवलको ट्रान्समिसन लाइन बनाउने विषयलाई एमसीसी पछाडिको ढोकाबाट ल्याउन खोजेको भन्दै नेकपामा विरोध भएको छ । पार्टीको अध्ययन कार्यदलले यथास्थितिमा एमसीसी संसद्‌बाट अनुमोदन गर्न नहुने बताएको छ । तर, प्रधानमन्त्री ओली जतिसक्दो चाँडो एमसीसी संसद्‍बाट अनुमोदनको पक्षमा छन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?