कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आर्थिक अनियमितता गरेको आरोपमा जर्नेल र कर्नेल सैनिक हिरासतमा

जगदीश्वर पाण्डे

काठमाडौँ — आर्थिक अनियमितता गरेको अरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई सैनिक हिरासतमा राखिएको छ । सैनिक उच्च स्रोतका अनुसार सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नवीन सिलवाललाई छानबिनको लागि सैनिक हिरासतमा राखिएको हो ।

आर्थिक अनियमितता गरेको आरोपमा जर्नेल र कर्नेल सैनिक हिरासतमा

उनीहरु दुवैलाई जेठ ८ गते देखि सुन्धरास्थित राष्ट्रिय सेवा दलस्थित कार्यालय परिसरमा हिरासतमा राखिएको छ ।

‘प्रमाण नष्ट नहोस् र छानबिनमा सहज होस् भनेर उनीहरुलाई सैनिक हिरासतमा राखिएको हो,’ सैनिक स्रोतले भन्यो ।

राणा र सिलवालले दुई वर्ष अघि वीरेन्द्र शान्ति तालिम केन्द्र (संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गर्ने स्थान) काभ्रेको पाँचखालमा अनियमितता गरेको अरोप लागेको हो । त्यस बेला महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए भने सिलवाल उनको मातहतमा काम गर्थे ।

सेनाले आर्थिक अनियमितता भएको संकेत पाएपछि सैनिक ऐन–२०६३ अनुसार उपरथीको नेतृत्वमा कोर्ट अफ् इन्क्वायरी गठन गरी छानबिन भइरहेको छ । उनीहरुको छानबिन अन्तिम चरणमा पुगेको र केही दिनमा सैनिक समरी अदालतले फैसला गर्ने सैनिक स्रोतले बतायो ।

उक्त आर्थिक अनियमितताको छानबिनका क्रममा कोर्ट अफ् इन्क्वायरी १२ जना अधिकृतसँग पनि बयान लिएको छ । एक जना सुवेदार मेजरलाई पनि थुनामा राखिएको छ ।

सेनाले शुक्रबारमात्र सैनिकले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा आर्थिक अनियमितता गरेको ठहर भएपछि महासेनानी भुपालमान अधिकारीसहित तीन सैनिक अधिकृत र दुई अन्य दर्जालाई कारबाही गरेको थियो । जसमा महासेनानी भुपालमान अधिकारीसँग बिगो रकम एक करोड ८५ लाख ४० हजार एक सय आठ रुपैयाँ ११ पैसा असुल उपर गर्ने फैसला गरेको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?