कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

समाजवादी-राजपा एकता किन जटिल ?

प्रक्रिया र पद्धतिभन्दा पनि अहमबाट चल्दै आएका कारण समाजवादी र राजपाको एकता प्रक्रिया टुंगिन सकेको छैन ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोबीचको मुख्य टकराबका कारण महन्थ ठाकुरको नेतृत्वमा पार्टी दर्ता गराउने अनौपचारिक समझदारी कार्यान्वयन हुनेमा नेताहरूले आशंका व्यक्त गरेका छन् ।

समाजवादी-राजपा एकता किन जटिल ?

पार्टी एकता मुख्य नेताहरूको व्यवस्थापन मात्रै हो कि, विचार, नीति र सिद्धान्तको पनि ? संघीय समाजवादी र राजपा एकीकरणपछि बन्ने भनिएको जनता समाजवादी पार्टीभित्र अहिले चलिरहेको रस्साकसी हेर्दा लाग्छ– आधा दर्जन नेताको व्यवस्थापन मिल्न सके एकीकरण टुंगोमा पुग्छ, नत्र सिद्धान्त र विचार मिले पनि दुई पार्टी एक हुन सक्दैनन् ।

एकता घोषणाको एक महिना बित्दा जनता समाजवादीमा विचारभन्दा नेताको विषय पेचिलो बनेको छ । नेता व्यवस्थापनको कुरा नमिलाई हतारमा एकता घोषणा भएकाले यस्तो समस्या बनेको नेताहरूको बुझाइ छ । ‘नेताहरूको व्यवस्थापनको समस्या नरहेको भए एकता डेढ वर्षअघि नै भइसक्थ्यो,’ राजपाका एक पदाधिकारी भन्छन्, ‘उपेन्द्रजीको पार्टी विभाजन हुन लागेपछि सबै कुरा थाती राखेर उहाँलाई जीवनदान दिइएको हो । जुन मुद्दा डेढ वर्षदेखि मिलेको थिएन, अहिले त्यसैले समस्या पारेको छ ।’

राजपाको बबरमहलस्थित कार्यालयमा बिहीबार बसेको बैठकमा वरिष्ठ नेता महन्थ ठाकुरलाई कार्यकारी प्रमुख बनाएर निर्वाचन आयोगमा पार्टी दर्ता गराउने एक खालको समझदारी बने पनि अन्य नेताको व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो लाग्न सकेन । समाजवादी पार्टीबाटै ठाकुरलाई कार्यकारी बनाउने प्रस्ताव आएकाले आफूहरूले स्वीकार गरेको राजपा नेताहरूको दाबी छ ।

‘वैशाख ३१ गते तीनकुनेमा बसेको बैठकमा केन्द्रीय समिति, कार्यकारिणी र राजनीतिक समितिको नेतृत्व छाड्दिन भनेका यादवले बिहीबार एकाएक महन्थ ठाकुरलाई कार्यकारी प्रमुख बनाएर पार्टी दर्ता गराउने प्रस्ताव ल्याउँदा हामी नै छक्क पर्‍यौं,’ बैठकमा सहभागी एक नेताले भने, ‘मनमा अझै उहाँ आफैं हुने भन्ने होला । त्यसखालको प्रयत्न गर्न सकिन्छ कि भनेर पनि होला, पार्टीभित्र छलफल गरेर मात्रै औपचारिक सहमति गर्ने भन्नुभएको छ ।’

समाजवादीका सांसद हरिनारायण रौनियारको तीनकुनेस्थित निवासमा वैशाख ३१ गते बुधबार बसेको बैठकमा तीनवटै समितिको अध्यक्ष आफैं हुने, नभए पार्टी एकता नहुने भनी राजपा नेता राजेन्द्र महतोलाई हकारेका यादवले एकाएक ‘यूटर्न’ कसरी लिए ? दुवै पार्टीका दोस्रो तहका नेताहरूका अनुसार हतारमा पार्टी एक गराइदिने शक्तिले मिलाइदिने भूमिका निर्वाह गर्‍यो । उनीहरूको संकेत लैनचौरतर्फ थियो । ‘नेताहरूबीच धेरै टकराब छ, अहिल्यैदेखि खट्टा तान्ने र आफूमाथि पुग्ने दाउपेच पनि चलेकै छ, यति हुँदाहुँदै पनि पार्टी मिल्ने कुरामा हामी ढुक्कजस्तै छौं,’ दोस्रो तहका ती नेताहरूको एउटै सार थियो, ‘नेताहरू आफैं मिलेनन् भने मिलाउने शक्ति पनि छ । पार्टी एकताका कुरालाई धेरै सतहमा नल्याउन हामीमाथि पनि दबाब छ ।’

उपेन्द्र भर्सेज राजेन्द्र

जनता समाजवादीको मुख्य टकराब समाजवादीका अध्यक्ष उपेन्द्र र राजपाका अध्यक्षमण्डलका राजेन्द्र महतोबीच छ । यी दुई नेताबीच हार्दिकताभन्दा बढी इगो छ । बुधबारको बैठक यी दुई नेताको मुख्य टकराबकै कारण भाँडिएको थियो । त्यसपछि अवरुद्ध बनेको बैठक बिहीबार बसेको हो । वरिष्ठ नेता ठाकुरलाई सेरेमोनियल अर्थात् पार्टीको निर्देशन समितिको सभापति, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई संंघीय परिषद्को सभापति बनाएर उपेन्द्र केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी र राजनीतिक समितिको अध्यक्ष हुने दाउमा थिए । तर, महतो मान्न तयार भएनन् । ठाकुरलाई सेरोमोनियल बनाउन तयार भए पनि कार्यकारिणी अधिकार बिनाको भूमिका आफूलाई मान्य नहुने तर्क महतोको थियो ।

केन्द्रीय समिति र राजनीतिक समिति यादवलाई दिएर महतो कार्यकारिणी (पदाधिकारी) समितिको नेतृत्वमा आउन चाहेका थिए । यादवलाई पार्टीको शक्तिशाली कार्यकारी प्रमुख बनाएर त्यस तलको सहअध्यक्ष वा वरिष्ठ नेतामा आफू खुम्चिन उनी तयार थिएनन् । अधिकारसहितको कार्यकारिणी तहको कुनै एक पदमा आफू रहनुपर्ने अडानमा उनी रहिरहेकै बेला ठाकुरलाई शक्तिशाली अध्यक्ष बनाएर जाने प्रस्ताव आएपछि जनता समाजवादी पार्टीमा नयाँ खालको तरंग खडा गरेको छ । यस्तो प्रस्तावले महतो र उनीपक्षीय नेताहरूको मुख थुनिएको छ भने यादवनिकट नेताहरू असन्तुष्ट छन् ।

उपेन्द्रनिकट केन्द्रीय सदस्य योगेन्द्र यादव अहिले बाहिर आएजस्तै ठाकुरलाई अधिकारसम्पन्न कार्यकारी अध्यक्ष बनाएर पार्टी नचल्ने बताउँछन् । ठाकुरलाई मानार्थ पद दिएर उपेन्द्रलाई कार्यकारी अध्यक्ष नबनाउँदा मधेसले त्यस्तै पार्टीको अपनत्व गर्न नसक्ने दाबी उनको छ । ‘ठाकुर संसदीय राजनीतिको लिगेसीबाट आएका हुन् भने उपेन्द्र क्रान्तिकारी विचारधारबाट, मास लिडर पनि हुन् उनी,’ यादवले भने, ‘कार्यकारीबिनाको उपेन्द्र हुने कुरा टाउको माने पनि मधेसको भूगोल र सतह मान्दैन, यसले पार्टीलाई अघि बढाउँदैन ।’

यादव र महतोको टकराबको बीचमा ठाकुरको नाम नेतृत्वमा आए पनि समाजवादीका दोस्रो र त्यस तलका नेता तथा कार्यकर्ताले सहजै मान्ने देखिन्न । उमेर र स्वभावका हिसाबले पनि ठाकुरले पार्टीको नेतृत्वमा रहेर खट्न कठिनाइ हुने दाबी दुवै पक्षका अधिकांश नेताहरूको छ । त्यसमा मधेसमा जनाधार भएका मुख्य दुई पात्र उपेन्द्र र राजेन्द्रबीचको एकता हुनुपर्ने उनीहरूको जोड छ ।

उपेन्द्र आफूलाई मधेस आन्दोलनको मसिहा ठान्छन् । आन्दोलनबाट उदाएका यादव मधेसले पछिल्लो पटक पाएको राजनीतिक उपलब्धिका पछि आफ्नो भूमिका रहेको बताउँछन् । महतो मधेसमा रहेको पुरानो दल सद्भावनाको विरासतबाट उचाइ लिएका नेता हुन् । कार्यकर्तादेखि संघर्ष गर्दै आएका महतोले पनि पछिल्लो परिवर्तनमा आफ्नो भूमिकालाई तल पार्न चाहन्नन् । मधेसको जनसांख्यिक हिसाबले पनि यादव र महतोबीचको प्रतिस्पर्धा देखिन्छ । २ नम्बर प्रदेशमा करिब १४ प्रतिशत पकड रहेको यादव समुदायभित्र यादवको प्रभाव गहिरो छ ।

महतोको प्रभाव वैश्य समुदायभित्र छ । यो समुदायको जनसंख्या पनि यादवको भन्दा कम छैन । मधेस विश्लेषक तुलानारायण साहका अनुसार राजनीतिक, सामाजिक आन्दोलन, जनाधारको प्रभाव र समकालीन आधारले पनि दुई नेताबीचको प्रतिस्पर्धाले जनता समाजवादी पार्टी कसरी अघि बढ्छ भन्ने निर्धारण हुने बताउँछन् । ‘आज मात्रै होइन, यी दुई नेता सक्रिय राजनीतिमा रहुञ्जेल प्रतिस्पर्धा र टकराब हुन्छ, जुन हिजोदेखि हुँदै आएको थियो,’ साह भन्छन्, ‘तत्कालीन संकट आएर एक भएका हुन् । यी दुई नेतालाई मिलाएर पार्टी एक बनाइराख्न सजिलो छैन किनकि यी दल प्रक्रिया र पद्धतिबाट भन्दा इगोबाट अघि बढ्दै आएका छन् ।’

महतो समाजवादी पार्टीभित्रै कमजोर बन्दै गएका कारण आफ्नो भूमिकालाई अघि बढाउने सोचमा छन् । औपचारिक रूपमा पार्टी विभाजन नभए पनि मानसिक रूपमा समाजवादी पार्टी अझै विभाजनको संघारमा रहेको बुझाइ महतो र उनीपक्षीय नेताहरूको छ । ‘उपेन्द्रको गलामा पासो लागकै बेला आफूले कार्यकारी पद लिनुपर्छ भन्ने मान्यता महतोमा देखिन्छ,’ समाजवादीका एक पदाधिकारी भन्छन्, ‘राजेन्द्रको महत्त्वाकांक्षालाई पूरा हुन दिने पक्षमा समाजवादी पार्टी जान सक्दैन ।’ त्यसो भए के त ? उनी भन्छन्, ‘कार्यकारी प्रमुखमा उपेन्द्रलाई राख्नुपर्छ, त्यसको सहअध्यक्ष, वरिष्ठ नेतामा महतो बसे भइहाल्छ । केही लागेन भने ठाकुरकै नेतृत्वमा पनि पार्टी दर्ता हुन सक्छ ।’

अन्य नेताको व्यवस्थापन के ?

यादव र महतोको टकराबका कारण अन्य नेताको व्यवस्थापनका विषयमा अहिले पार्टीभित्र खासै बहस भएको छैन । राजपाभित्र अध्यक्षमण्डलमा ६ सदस्य छन् । ठाकुर र महतोलाई छाड्ने हो भने अन्य नेताले कार्यकारी तहकै भूमिका खोजेका छैनन् । तर, महतोको भूमिकालाई खुम्चाउन भने राजपाभित्रको अध्यक्षमण्डल नै भित्रभित्रै सक्रिय छन् ।

महतो र अर्का नेता महेन्द्र राय यादवको राम्रो सम्बन्ध छैन । आँखा चिम्लेर पार्टी एकता गरेको भन्दै राजकिशोर र अनिल झासमेत असन्तुष्ट हुँदै आएका छन् । ठाकुर, भट्टराई, यादवपछि तेस्रो नम्बरको वरीयतासहितको कार्यकारी भूमिका महतोलाई दिने कि अशोक राईलाई भन्ने विवादसमेत पार्टीमा देखिन थालेको छ । तत्कालीन मालेमा रहेर झापा आन्दोलनताकाबाटै राजनीति गरेका राई तत्कालीन एमालेमा उपाध्यक्षसमेत भएका नेता हुन् । उनलाई समाजवादीले महतोभन्दा अघिको स्थानमा राख्न जोड गरिरहेको छ । त्यसलाई कतिपय राजपाका नेताहरूले समेत सकारात्मक ठानेका छन् ।

महतो र उनीपक्षीय नेताहरू राईलाई अघिल्लो वरीयतामा राख्ने प्रस्तावप्रति सकारात्मक छैनन् । ‘दोस्रो वरीयतामा बाबुरामजीलाई हामीले स्वीकार गरेका छौं तर महतोभन्दा अघि राईलाई स्वीकार गर्ने कुरा आउँदैन,’ महतोनिकट राजपाका एक पदाधिकारी भन्छन्, ‘उनीसँग कुनै सांगठनिक बल छैन, अघि जन्मेको र पछि जन्मेको आधारमा सिनियर र जुनियर भन्ने हुन्न । संगठनमा कसको कस्तो पकड छ र जनाधार कोसँग छ भन्ने हेर्नुपर्छ ।’

केही समयअघि समाजवादीका अध्यक्ष यादव भन्ने गर्थे, ‘मधेसवादी भनेको भीड हो । यसलाई संगठनको स्वरूप दिनुपर्छ । संगठनको स्वरूप दिइएन भने यो भीडलाई अरू कसैले तान्न सक्छ ।’

गैरसरकारी संस्थाको पृष्ठभूमिबाट राजनीतिमा उदाएका यादवले तत्कालीन संघीय मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्थालाई राजनीतिक दलका रूपमा अघि बढाए । संगठनको आकार दिएर यहाँसम्म आइपुग्दा उनको मान्यतासमेत बदलिएको छ । ‘पार्टी संगठनलाई भद्दा र मजाक बनाइनुहुन्न,’ दुई पार्टी एकीकरणपछि उनी भन्दै आएका छन् । उनले भनेजस्तै दुवै पार्टीको केन्द्रीय समिति र पदाधिकारी मर्ज गरेर मात्रै चलाउने हो भने चल्न सक्दैन । ‘धेरै अध्यक्ष बनाउँदा राजपाको संगठन संस्थागत बन्न सकेन,’ समाजवादीका नेता योगेन्द्र यादव भन्छन्, ‘धेरै अध्यक्ष बनाउने र भद्दा संगठनको स्वरूपमा जाने हो भने नयाँ दल बनाएर पनि संगठन अघि बढ्न सक्दैन ।’

समाजवादीमा २५ पदाधिकारी मात्रै छन् भने राजपामा १ सय ३५ छन् । नयाँ पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य राख्ने सहमति छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?