कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुदूरपश्चिमका नाकामा सम्हाल्नै गाह्रो, शुक्रबार आएका करिब १५ सयलाई परीक्षणबिनै गाउँ पठाइँदै

कैलालीको गौरीफन्टा नाकाबाट एक सातामा ५ हजारभन्दा बढी भित्रिए
मोहन बुढाऐर

धनगढी — भारतका विभिन्न सहरबाट सुदूरपश्चिमको गौरीफन्टा सीमा नाकामा दिनहुँ हजारभन्दा बढी संख्यामा नेपालीहरू आइपुग्न थालेका छन् । एक सातामा करिब ५ हजार जना भित्रिसकेका छन् । शुक्रबार मात्रै १५ सयभन्दा बढी नेपाली सीमामा आइपुगेका छन् ।

सुदूरपश्चिमका नाकामा सम्हाल्नै गाह्रो, शुक्रबार आएका करिब १५ सयलाई परीक्षणबिनै गाउँ पठाइँदै

यसरी भित्रिएकालाई नाकामा परीक्षण गरिएको छैन । आरडीटी किट अभाव भएको भन्दै प्रदेश सरकारले नाकामा गरिँदै आएको परीक्षण रोकेको छ । भारतबाट भित्रिएकालाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बस्ने सर्तमा मात्रै स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न दिइरहेको छ । पर्याप्त मात्रामा किट नभएकाले सीमा नाकामा परीक्षण गर्न रोकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए । ‘स्थानीय तह र जिल्लामा पनि आरडीटी किट पठाएका छौं,’ उनले भने, ‘स्थानीय तहको क्वारेन्टाइनमा बस्न जाने भएकाले उतै उनीहरूको कोरोना परीक्षण गरिनेछ ।’

बुधबार र बिहीबार भित्रिएका २ हजार ४ सय ९८ जनामध्ये ७ सय ७० जनाको मात्रै आरडीटी परीक्षण गरिएको सेती अस्पतालले जनाएको छ । तीमध्ये १२ जनामा कोरोना पोजिटिभ देखिएपछि उनीहरूलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । बाँकीलाई स्थानीय प्रशासनले परीक्षणबिनै सम्बन्धित जिल्ला पठाएको छ ।

यसअघि जेठ २ र ३ गते आएका ९ सय ५० जनालाई आरडीटी टेस्ट गरी सम्बन्धित जिल्ला पठाइएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बुधबारदेखि सीमा नाकामा भारतबाट आउने भीड सम्हाल्नै गाह्रो भएको बताए । ‘बिहीबार घर पठाउन नसकिएका ६ सय जना नाकामै थिए,’ उनले भने, ‘शुक्रबार दिउँसो फेरि १५ सय जनाभन्दा बढी आइपुगेका छन् ।’

जोशीले जेठ २ देखि ९ गतेसम्ममा नाकामा आइपुगेका ५ हजार ४ सय जनाभन्दा बढी नेपाल भित्रिएको जानकारी दिए । ‘उनीहरूलाई सम्बन्धित जिल्ला पठाउने, क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँच गर्ने काम चुनौतीपूर्ण छ,’ उनले भने, ‘तर पनि सीमामा आइपुगेकालाई प्रदेश र स्थानीय सरकारको समन्वयमा व्यवस्थित र सुरक्षित रूपमा भित्र्याउने काम गरिरहेका छौं ।’

सूचना अधिकारी जोशीका अनुसार सीमामा आइपुगेकालाई लिन प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरेका छन् । ‘यहाँ आइपुगेकालाई व्यक्तिगत विवरण लिएर सम्बन्धित जिल्लामा पठाइरहेका छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ ९, २०७७ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?