२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाबाट मृत्यु भएका गुल्मीका संक्रमितको ३१ घण्टापछि अन्त्येष्टि

सेनाका जवानले गरे शवको व्यवस्थापन, शव निकालेको एक घण्टामै सकियो अन्तिम संस्कार
घनश्याम गौतम

रूपन्देही — कोभिड–१९ संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकको ३१ घण्टापछि अन्येष्टि गरिएको छ । 

कोरोनाबाट मृत्यु भएका गुल्मीका संक्रमितको ३१ घण्टापछि अन्त्येष्टि

शव कसले उठाउने भन्ने विषयमा सहमति नहुँदा अस्पतालबाटै शव उठेको थिएन । नेपाली सेनाका बुटवलस्थित २२ नम्बर बाहिनीमा कार्यरत दुई जवान शव उठाउन सहमत भएपछि शवको अन्तिम संस्कार गरिएको हो । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले पनि अस्पतालबाट शव निकाल्न र अन्तिम संस्कारका लागि नेपाली सेनालाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

संकट व्यवस्थापन केन्द्रको निर्णय, अनुरोध र आवश्यक तयारीपछि नेपाली सेनाको टिमले शव अस्पतालबाट निकाल्नेदेखि अन्तिम संस्कारका सबै काममा जिम्मेवारी अनुसारको भूमिका निर्वाह गरेको बाहिनीपति एवं सहायक रथी सुदर्शन सिलवालले बताए । ‘संकटका बेला नेपाली सेना जस्तो जोखिम भएपनि अघि बढेर काम गर्छ,’ उनले भने, ‘त्यही अनुसारको जिम्मेवारी निर्वाह गर्दै कोरोना संक्रमितको शव व्यवस्थापनको काम गरेका छौं ।’ केन्द्रको निर्णय अनुसार अस्पतालबाट शव निकाल्नेदेखि अन्तिम संस्कार अनुसार व्यवस्थापन गर्ने कार्य नेपाली सेनाको टिमबाटै भएको उनले बताए । नेपाली सेनासहित टोलीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको थियो ।

नेपाली सेना र नेपाल प्रहरीको टोलीले शुक्रबार दिउँसो २ बजे अस्पतालबाट शव उठाएका थिए । स्थानीय प्रशासनले यसअघि रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ मगरघाट र तिनाउ खोला किनारमा शव व्यवस्थापनको प्रयास गरेको थियो । स्थानीय समुदायबाट विरोध भएपछि जिल्ला विपद व्यवस्थापन समितिले शव बुटवल उपमहानगरपालिका–१० चरङ्गेमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यही अनुसार नै शव व्यवस्थापन भइसकेको सुरक्षा स्रोतले बतायो ।

जेठ १ गतेबाट क्रिमसन अस्पतालमा उपचार गराइरहेका शिक्षकमा सोमबार कोरोना संक्रमण देखिएको थियो । परिवारले गाउँमा कोही पनि संक्रमित नभएको र दाइ गाउँबाहिर कतै पनि नगएको अवस्थामा देखिएको कोरोना संक्रमण नै शंकास्पद रहेको अस्पतालकै क्वारेन्टाइनमा रहेका भाइले गुनासो गर्दै आएका छन् । दाजुको नियमित हेरचाह र उपचारमै खटिएका आफूसहित अस्पतालको २९ जनाकै रिपोर्ट नेगेटिभ आएको अवस्थामा बिरामीमा संक्रमण नभएको उनले बताए । परिवारले सुरुदेखि नै कोरोना संक्रमण नभएको भन्दै पुन: परीक्षणको माग गर्दै आएका थिए । अहिलेसम्म संक्रमितको नजिकको सम्पर्कमा रहेका र उपचारमा संलग्न ३९ जनाको परीक्षण नेगेटिभ आएको छ । घर परिवारसहित अन्य ३० जनाको रिपोर्ट आउन बाँकी छ ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जनक थापाले परिवारको सहमतिमा शवको अन्तिम संस्कार गरिएको बताए । परिवारले राखेका मागका विषयमा थप छलफल गर्ने उनले बताए । परिवारले कोरोना संक्रमण नभइ अस्पतालको लापरवाहीले मृत्यु भएको दाबी गर्दै छानबिनको माग गरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?