पैदलै घर फर्कन लागेका १४५ भारतीय मजदुर साँगाबाट फिर्ता 

मजदुर भन्छन् : उता बालबच्चा भोकै छन्, बोर्डरसम्म पुर्‍याइदिनुस्
लीला श्रेष्ठ

भक्तपुर — पैदलै घर फर्किन लागेका २ इँटा भट्टाका १ सय ४५ भारतीय मजदुरलाई प्रहरीले इँटाभट्टामै फिर्ता गरेको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित कुमारी र चाँगुनारायण इँटाभट्टामा कार्यरत भारतीय मजदुरलाई काभ्रे र भक्तपुरको सिमाना साँगाबाट फर्काइएको हो ।

पैदलै घर फर्कन लागेका १४५ भारतीय मजदुर साँगाबाट फिर्ता 

शुक्रबार राति हिँडेर साँगा हुँदै सिन्धुलीको बाटो पैदल जान तयार भारतीय मजदुरलाई प्रहरीले च्याम्हासिंहबाट फिर्ता गरे पनि भित्री पैदल मार्ग हुँदै उनीहरु साँगासम्म पुगेका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्ण विष्ट र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा इँटाभट्टाबाटै ५ वटा ट्रक मगाएर ती मजदुरलाई इँटाभट्टामै फिर्ता गरिएको हो । प्रहरीले कुमारी र चाँगुनारायण इँटाभट्टा सञ्चालकलाई आवश्यक सोधबुझका लागि भन्दै नियन्त्रणमा लिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनलाई थप कडाई गर्दै जाँदा इँटाभट्टाको काम ठप्प छ । काम रोकिएपछि इँटाभट्टाका मजदुर कामविहीन बनेका छन् । स्वदेशी मजदुर महिना दिनअघि नै गन्तव्यमा पुगिसकेका छन् भने भारतीय मजदुरहरु मात्र इँटाभट्टामा अल्झिएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानका अनुसार जिल्लाको ६३ इँटाभट्टामा कार्यरत २ हजार ९ सय ४० भारतीय मजदुर छन् । विशेषगरी इँटा पोल्ने काममा कार्यरत उनीहरु कामविहीन भएपछि घर जान आँतुर छन् । ‘उता बालबच्चा भोकै छन्, हामी यत्ता भोकै छौं,’ भारत बिहारका एक मजदुरले भने, ‘हामीलाई भारतको बोर्डरसम्म पु¥याइदिनुस् ।’ मजदुरलाई धान्न गाह्रो भएपछि इँटाभट्टा सञ्चालकले प्रतिव्यक्ति १ हजार रुपैयाँ बाटो खर्च दिएर पठाएको भारतीय मजदुरले बताएका छन् ।

इँटाभट्टा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातीभाइ हेम्बाका अनुसार लकडाउन सुरु भएयता इँटाभट्टाले प्रतिव्यक्ति मासिक २५ सय रुपैयाँ रासन खर्च उपलब्ध गराउँदै आएको छ । ग्यास, बत्ती, पानी निःशुल्क वितरण गर्दै आएको समेत जनाएको छ । ‘काम छैन, समूह–समूह मिलेर झै–झगडा गर्छन्, हामीलाई भारतीय मजदुर धान्न निकै गाह्रो भइसक्यो,’ अध्यक्ष हेम्बाले भने, ‘कूटनीतिक पहलमा उनीहरुलाई आफ्नो घर फिर्ता गर्नु जरुरी छ ।’ प्रशासनको अनुमति पाए इँटाभट्टा व्यवसायीले आफ्नै गाडीमा भारतीय मजदुरलाई बोर्डरसम्म पुर्‍याउन तयार रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?