कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोराना संक्रमितमध्ये ६० प्रतिशत युवा

हाल नेपालमा सक्रिय उमेर समूहका व्यक्ति र पुरुष सबैभन्दा बढी कोभिड–१९ संक्रमणको जोखिममा छन्
अतुल मिश्र

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युवामा बढी देखिएको छ । नेपालमा हाल संक्रमण पुष्टि भएकामध्ये करिब ६० प्रतिशत २१ देखि ४० वर्ष उमेर समूहका छन् । यो संख्या २ सय ७३ छ । शुक्रबारसम्म ४ सय ८७ संक्रमित भेटिएका छन् ।

कोराना संक्रमितमध्ये ६० प्रतिशत युवा

‘हाल मुलुकमा सक्रिय उमेर समूहका व्यक्ति र पुरुष सबैभन्दा बढी कोभिड–१९ संक्रमणको जोखिममा छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘कामको सिलसिलामा घर बाहिर बढी निस्किने वर्गमै बढी संक्रमण देखिएको हो ।’

कुल संक्रमितमध्ये ८४ प्रतिशत पुरुष छन् । उनका अनुसार ७५ जना महिला र ३ सय ४१२ जना पुरुषमा संक्रमण देखिएको छ । ६० वर्षमाथिको उमेर समूहमा कुल संक्रमित १८ जनामध्ये आधा पुरुष र आधा महिला छन् । अहिलेसम्म सबैभन्दा कम २ महिने शिशुमा र सबैभन्दा बढी ८१ वर्षीया महिलामा संक्रमण भएको छ । एक वर्षभन्दा कम उमेरका २ जना संक्रमित छन् । ५ वर्षमुनिका ६ जना, ४१ देखि ६० वर्षसम्मका ६७ जना रहेको छ ।

बिहीबार गुल्मीका एक जनाको मृत्यु भएपछि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको मृत्यु भएको थियो । नेपालमा कोरोनाको मृत्युदर ०.६५ प्रतिशत छ । विश्वका अन्य देशहरूको तथ्यांक हेर्दा रोग प्रतिरोधक क्षमता कम भएका वा बुढापाकामा मृत्युदर बढी देखिए पनि हालसम्म नेपालमा मृत्यु भएका सबै युवा हुन् ।

मृत्यु भएका ४१ वर्षीय पुरुष र २९ वर्षीया महिलालाई कोरोना संक्रमण हुँदा मुख्य रूपले देखिने लक्षणहरू सुक्खा खोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने तथा निमोनिया देखिएको थियो भने २५ वर्षीय पुरुषमा ज्वरो र बान्तालगायतका लक्षण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन् । हालसम्म मुलुकमा ८० प्रतिशतभन्दा बढी संक्रमितमा कोरोनाको लक्षण नदेखिएको (एसिम्प्टोम्याटिक) वा धेरै मधुरो लक्षण देखिएको अवस्था छ । प्रदेश ५ मा मृतक र संक्रमितको संख्या अन्यको भन्दा बढी छ । त्यहाँ २ जनाको मृत्यु र २ सय जना संक्रमित भेटिइसकेका छन् । मृतक महिला भने वाग्मती प्रदेशकी हुन् ।

कोरोना संक्रमण भएकाहरूमध्ये ४९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुने दर करिब ११ प्रतिशत रहेको जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताए । उनका अनुसार अधिकतम ३३ दिनसम्ममा संक्रमित निको भएका छन् । कोरोना संक्रमितको औसत अस्पताल बसाइ २० दिनको छ ।

देशभर हाल कोरोना संक्रमितहरू १० वर्षसम्मका १७ जना, ११ देखि २० वर्षसम्मका ८९ जना, २१ देखि ३० वर्षसम्मका १७३ जना, ३१ देखि ४० वर्षसम्मका १२० जना, ४१ देखि ५० वर्षसम्मका ४७ जना, ५१ देखि ६० वर्षसम्मका २१ जना, ६१ देखि ७० वर्षसम्मका १२ जना, ७१ देखि ८० वर्षसम्मका ४ जना र ८१ वर्षमाथिका १ जना रहेको डा. अधिकारीले जानकारी दिए ।

नेपालमा गत फागुन मसान्तसम्म १ जना मात्र संक्रमित भेटिएका थिए । यो संख्या बढेर चैत मसान्तसम्म १२ पुग्यो । वैशाख मसान्तसम्म २ सय १९ जना र बाँकी संक्रमित जेठमा थपिए ।

प्रकाशित : जेष्ठ ९, २०७७ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?