कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

वार्ताबाहेक विकल्प छैन : भारतीय कूटनीतिज्ञ

'नेपाल र भारतबीचको चीनलाई ल्याउनु अर्थहीन' भएको जिकिर
सुरेशराज न्यौपाने

काठमाडौँ — नेपाल मामिलाका जानकार भारतीय कूटनीतिज्ञहरूले सीमा विवादलाई लिएर पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा तनाव देखिएकामा चिन्ता व्यक्त गर्दै आपसी संवादबाट समाधान पहिल्याउनुको विकल्प नरहेको बताएका छन् ।

वार्ताबाहेक विकल्प छैन : भारतीय कूटनीतिज्ञ

तत्कालको परिस्थितिमा ‘वातावरण प्रतिकूल देखिएको’ भन्दै नेतृत्वले संयम गुमाउन नहुने र उत्तेजना फैलाउने अभिव्यक्तिहरू दिनबाट बच्नुपर्ने उनीहरूको धारणा छ । नेपाल र भारतबीचको विवादमा चीनलाई ल्याउनु अर्थहीन भएको समेत उनीहरूको जिकिर छ ।

नेपाल र भारतबीच सात दशकदेखि उल्झनका रूपमा रहेको लिपुलेक–कालापानी क्षेत्रसम्बन्धी विवाद गत २६ वैशाखमा भारतले एकतर्फी ढंगले पिथौरागढ–लिपुलेक लिंक सडक खण्ड उद्घाटन गरेपछि चुलिएको हो । जवाफमा नेपालले बुधबार लिम्पियाधुरापूर्वको भूभागलाई समेटेर नक्सा जारी गरेको छ ।

नेपालका लागि पूर्वराजदूत केभी राजनले सीमा विवादलाई लिएर दुई देशबीच पछिल्लो समय देखिएको अविश्वास ‘चिन्ताजनक’ भएको बताए । उनका अनुसार परिस्थिति क्रमश: निकै जोखिमपूर्ण बन्दै गएको छ । उनले नेपाल र भारतबीच छलफल एवं वार्ताबाट सुल्झाउनै नसकिने विवाद र समस्या कुनै नरहेको धारणा व्यक्त गरे । ‘मेरो अनुभव र बुझाइमा नेपाल–भारतबीचको सम्बन्ध यति पुरानो र प्रगाढ छ कि जुनसुकै विवाद पनि वार्ता र आपसी विश्वासबाटै सुल्झाउन सकिन्छ,’ राजनले भने, ‘तर, त्यसका लागि पहिले नै जनस्तरमा धारणा नबनोस् भन्नेमा सचेत हुनुपर्छ । अन्यथा वार्तामा बस्न र लचकता अपनाउन दुवै पक्षलाई कठिन हुन्छ ।’

राजदूत राजनले वार्तामा बस्नुअघि के परिणाम खोजिएको हो भन्नेमा प्रस्ट हुनुपर्ने बताए । ‘पक्कै पनि दुवै मुलुकले वार्ताबाट समस्या समाधान गरेर सम्बन्धलाई प्रगाढ बनाउँदै सीमावारि र पारि रहेका जनताको समृद्धि चाहेका छन् । त्यसका लागि युगौं पुरानो सम्बन्धलाई मनमा राखेर दुवै देशका नागरिकको समृद्धिका लागि वार्ता र संवादमा बस्नुपर्छ । अनि मात्र सकारात्मक परिणाम निस्कन्छ,’ राजनको भनाइ छ । साथै उनले ब्रिटिस इन्डियासँगको भएको सुगौली सन्धिमा आधारित भएर नेपालले सार्वजनिक गरेको नयाँ नक्सातर्फ संकेत गर्दै दुई देशबीचको सम्बन्ध दुई सय वर्षमात्र नभएर युगौं पुरानो भएको दाबी गरे ।

राजन नेपाल र भारतबीच महाकाली सन्धि गर्दाताका नेपालका लागि राजदूत थिए । त्यतिबेला पनि भारतीय अतिक्रमण र महाकालीको उद्गम बिन्दुलाई लिएर विवाद भएको थियो । तर, त्यसलाई पछि टुंग्याउने भनेर थाती राखियो । राजनले आफ्नो कार्यकालमा समेत नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव देखेको तर जहिल्यै पनि दुई देशबीचको युगौं पुरानो र सुदृढ सम्बन्धले जितेको अनुभव व्यक्त गरे । ‘सरकार आउँछन् र जान्छन् । मुख्य कुरा यति पुरानो र प्रगाढ सम्बन्धलाई कसरी बलियो र निरन्तरता दिने भन्ने हो,’ उनले भने, ‘त्यसमा सबै पक्ष गम्भीर हुनुपर्छ ।’ विगतमा पनि सम्बन्धमा उतारचढाव देखिएको तर जहिल्यै दुई देशबीचको युगौं पुरानो र सुदृढ सम्बन्धकै जित भएकाले अहिलेको असमझदारी र अविश्वास पनि छलफलबाटै टुंग्याउनुको विकल्प नभएको राजनले बताए ।

अर्का पूर्वराजदूत मञ्जीभसिंह पुरीले पनि नेपाल–भारत सम्बन्ध निकै गहिरो र जनस्तरको भएकाले बिनादबाब र खुला वातावरणमा हुने संवादले निकास दिनेमा आफू विश्वस्त रहेको बताए । तर, आवेशमा आएर दुवै देशबीचको सम्बन्धलाई नै असर पर्ने गरी नेतृत्वबाट टिप्पणी आउनु भने चिन्ताजनक भएको उनले बताए । उनको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद्मा भारतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति थियो ।

भारतसँग वार्ता गर्न तयार भएर बसेका छौं : सरकार

पूर्वराजदूत पुरीले दुवै छिमेकीले कोभिड–१९ को महामारीविरुद्ध हातेमालो गर्नुपर्ने बेलामा आपसी अविश्वास देखापर्नु दु:खद भएको बताए । ‘पहिले कोभिड–१९ को महामारीसँग जुध्न हातेमालो गरौं, त्यसपछि वार्ता गर्न सकिन्छ,’ उनले भने । जतिसुकै अविश्वास देखिए पनि वार्ताको विकल्प नभएको र त्यसका लागि अनुकूल वातावरण बनाउनेतर्फ गम्भीर हुनुपर्ने र उत्तेजनाबाट बच्नुपर्ने पुरीको पनि भनाइ छ । ‘खुला र हार्दिकतापूर्वक वातावरण हुने वार्ताले मात्र नतिजा दिन्छ,’ उनले भने ।

अर्का पूर्वराजदूत रन्जित रायले कोभिड–१९ को संकटका बेला दुई छिमेकीबीच यस्तो वातावरण बन्नु दु:खद भएको उल्लेख गर्दै पछिल्ला घटनाक्रमलाई गम्भीर ढंगले समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए । ‘सबै घटनाक्रमलाई गम्भीर ढंगले समीक्षा गर्नुपर्छ । यति सुदृढ र युगौं पुरानो सम्बन्ध भएका मुलुकबीच सम्बन्धमा किन यस्तो परिस्थिति सिर्जना भयो । कहाँनेर गल्ती भयो । प्रधानमन्त्रीबाट संसद्बाटै छिमेकीप्रति लक्षित गरेर नकारात्मक धारणा आउनु पक्कै पनि सकारात्मक होइन, यसले विषयलाई थप जटिल बनाउँदै लगेको छ,’ उनले भने, ‘वार्ताबाट जुनसुकै समस्या समाधान गर्न सकिन्छ । तर, पुत्ला जलाए र घेराउ गरेर त्यसका लागि अनुकूल वातावरण बन्दैन ।’

वार्ताका लागि नेपालले गत मंसिरमा भारतले नयाँ नक्सा जारी गरेदेखि नै आग्रह गर्दै आएको थियो नि भन्ने प्रश्नमा रायले त्यतिबेला वार्ता नहुनुमा मिति तय गर्नेजस्ता सामान्य प्राविधिक कारण भएको हुनसक्ने तर्क गरे । मिति तोक्न ढिलो भयो भन्दैमा दुई मुलुकबीचको सम्बन्धमा जटिलता ल्याउने परिस्थिति सिर्जना हुनु दु:खद भएको उनको भनाइ छ । ‘भारतका तर्फबाट केही ढिलो भए पनि वार्ताबाहेक कुनै विकल्प नभएकाले राजनीतिक नेतृत्वबाटै दुई देशबीचको प्रगाढ सम्बन्धलाई असर पुर्‍याउने किसिमका अभिव्यक्ति आउनु चिन्ताजनक हो,’ रायले भने ।

पूर्वराजदूत देव मुखर्जीले भने पछिल्ला घटनाक्रमप्रति आश्चर्य व्यक्त गरे । उनले सीमा विवादलाई लिएर होहल्ला गर्नेभन्दा पनि उच्च राजनीतिक तहमा विगतमा भएको सहमतिअनुरूप प्रमाणका साथ वार्तामा बस्नुपर्ने बताए । ‘चर्को कुरा र होहल्ला गरेर हुँदैन प्रमाण, तथ्य र तर्कसहित वार्तामा बस्नुको विकल्प छैन,’ उनले भने, ‘समस्या कसरी सिर्जना भएको भन्नेमा जान चाहन्न, तर अगाडि बढ्नुको विकल्प छैन ।’

अर्का पूर्वराजदूत जयन्त प्रसादले पनि नेतृत्व तहले शान्त ढंगमा संवाद अगाडि बढाउनुपर्ने सुझाव दिए । बंगलादेशसँग जमिन र समुद्रमा भएको विवादसमेत वार्ताबाट टुंगिएकोमा नेपालसँगको विवाद नटुंगिने आफूलाई रत्तिभर शंका नभएको उनले बताए । वार्ताबाटै समाधान खोजिनुपर्ने धारणा राख्दै उनले नेपाल र भारतबीचको सम्बन्धमा चीनलाई ल्याउनु अप्रासंगिक भएको बताए । ‘यो विषय नेपाल र भारतबीचको हो,’ उनले भने, ‘चीनसँग कुनै सरोकार नै छैन ।’

प्रकाशित : जेष्ठ ९, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?