रौतहटमा छरिएको अवस्थामा १० लाख भेट्टियो

शिव पुरी

रौतहट — जिल्लाको ईशनाथ नगरपालिकास्थित पोखरीको डिलमा छरपस्ट अवस्थामा बिहीबार प्रहरीले १० लाख १० हजार रुपैयाँ भेट्टाएको छ । यति धेरै रकम फेला पर्दा प्रहरीसमेत आश्चर्यमा परेको छ । रकम कसको भन्ने अहिलेसम्म खुलेको छैन । 

रौतहटमा छरिएको अवस्थामा १० लाख भेट्टियो

स्थानीय माइस्थान चोक सँगैको पोखरी छेउमा प्रहरीलाई देखेपछि दुई जना भागेका थिए । प्रहरीले मानिस भाग्नुको कारण पत्ता लगाउन जाँदा पैसा छरिएको अवस्थामा फेला परेको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए । ‘यति धेरै रकम कस्को र कुन प्रायोजनाका लागि ल्याइएको हो भन्ने खुलेको छैन,’उनले भने,‘प्रहरीलाई देख्ना साथ भागेकाहरु पक्राउ परेपछि मात्र बास्तविकता खुल्छ ।’

कोभिड १९ को संक्रमण रोक्न जारी लकडाउनको क्रममा गस्तीमा रहेको सुरक्षाकर्मीले बिहान ना ५४ प २११६ नम्बरको मोटरसाइकललाई रोक्न खोजेको थियो । त्यसमा दुईजना सवार थिए । प्रहरीलाई देखेपछि उनीहरुले मोटरसाइकल रोकेनन् ।

प्रहरीलाई शंका लागेर पिछ्याउन थाले । त्यसपछि पोखरी छेउमा मोटरसाइकल छाडेर भागेका थिए । त्यहाँ बरामद भएको रकम औरैयाका प्रहरी सहायक निरीक्षक ललितकुमार साहले नगर प्रमुख मेहताको घरमा लगेर गनेका थिए । बरामद रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ ।

फरार भएका व्यक्तिको पहिचान हुन सकेको छैन । उक्त रकम हुण्डी कारोबारीको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?