मुस्लिम संगठनले भन्यो, 'इदमा नयाँ लुगा किन्‍ने खर्च गरिब र असहायलाई दान गर'

काठमाडौँ — नेकपा भातृ संगठन मुस्लिम संगठन नेपालले इद र उपासनाको खुसीमा नयाँ लुगा किन्ने पैसा असहाय, गरिब र बेसाहाराहरुलाई दान गर्न आग्रह गरेको छ ।

इदउल फित्रको पूर्व सन्ध्यामा संगठनका तर्फबाट विज्ञप्ति जारी गर्दै संयोजक सेराज अहमद फारुकी र सहसंयोजक अतह हुसेनले अझ संवेदनशिल भई लकडाउनको पालना गर्दै पर्व मनाउनसमेत ध्यानाकर्षण गराएका छन् । इदुल फित्र संभवतः आइतबार पर्नेछ ।

रमजानको अन्तिम शुक्रबार र इदको नमाज धर्म गुरु (मुफ्ती, मौलाना), राजनीतिकर्मी र बुद्धिजीविहरु सामूहिक छलफल गरेर कानुनको दायरमा रहेर निर्णय गरी कार्यान्वयन गर्नसमेत संगठनले आग्रह गरेको छ ।

स्थानीय सरकारले आग्रह गरेको सूचना उपलब्ध गराउन, समाजलाई खलबल्याउने समाचारबारे स्थानीय प्रशासनलाई जानकारी गराउन, सामाजिक संजालमा आफ्नो विचार राख्दा संयमित र जिम्मेवार बन्न, मुस्लिम मुलुकको बहुल धार्मिक समाजको एक हिस्सा हौं भन्ने अनुभूत गराउन र स्थानीय प्रशासनलाई सहयोग गर्नसमेत आह्वान गरेको छ ।

पवित्र रमजान महिना कोभिड १९ का कारण चाल नपाउने गरी आएर बिदा हुन लागेको चर्चा गर्दै विषम परिस्थितमा भए पनि खुसीपूर्वक इद मनाउन भनेको छ । आफू बच्‍न र देशलाई बचाउन आफ्नो स्तरबाट सहयोग गर्न सबै जाती, धर्म, वर्ग र समुदायका व्यक्तिहरुलाई आग्रह गर्दै संगठनले समाजिक संजाल र केही सञ्‍चार माध्यामबाट धर्म विशेषलाई लक्षित गरी समाजलाई खलबल्याउने गरी प्रचार र प्रसार गर्नेलाई छानबिन गरी उचित कारबाही गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'व्यक्तिका कमी कमजोरी तथा गल्तीलाई लिएर पुरै मुस्लिम समुदायहरुप्रति नकारात्मक टिका टिप्पणी गर्ने व्यक्तिबारे छानविन गरी उचित कारबाही गर्न माग गर्दछौं ।'

प्रकाशित : जेष्ठ ८, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?