१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

केही घण्टालाई खोलियो दार्चुलाबाट नेपाल–भारत जोड्ने पुल

व्यासी सौका समुदायलाई ‘कुन्चा’ पठाएलगत्तै सीमामा अड्किएका एकअर्का देशका नागरिक आउजाउ गराइँदै
मनोज बडू

दार्चुला — दार्चुलाबाट नेपाल–भारत जोड्ने पुल बिहीबार केही घण्टाका लागि खोलिएको छ । यसका तीन उद्देश्य छन्– लकडाउनले बेंसीमै अड्किएका व्यासी सौका समुदायलाई कुन्चा (बसाइँ) सर्न दिने, सीमापारि रहेका नेपालीलाई भित्र्याउने र दार्चुलामा रहेका भारतीयलाई उनीहरूको देश फर्काउने ।

केही घण्टालाई खोलियो दार्चुलाबाट नेपाल–भारत जोड्ने पुल

व्यास गाउँपालिका–१ का सौका समुदाय स्वदेशबाट बाटो नहुँदा भारत हुँदै तीन–चार दिन हिँडेर थातथलो फर्कनुपर्छ । व्यासी सौकालाई बसाइँ सर्न र नेपाल–भारतमा रोकिएका नागरिकलाई आ–आफ्नो देश फर्काउन दुवै देशका स्थानीय प्रशासनको समन्वयमा केही बेर खलंगास्थित अन्तर्राष्ट्रिय नाका खोलिएको सहायक प्रजिअ टेकसिंह कुँवरले बताए ।

चैत अन्तिमदेखि वैशाख पहिलो सातासम्म व्यास पुगिसक्ने कुन्चा यस वर्ष लकडाउनका कारण बेंसीमै रोकिएको थियो । चिसो मौसममा बस्ने पशुचौपाया हिमाली क्षेत्र जान नपाउँदा केही बेंसीमै गर्मीले मरेका थिए ।

भारतीय नागरिकसमेत नेपालमा रोकिएकाले भारतीय प्रशासन पनि नाका खोल्न सहमत भएको हो । दार्चुला सदरमुकाममा ३० जना भारतीय नागरिक रहेको तथ्यांक जिल्ला प्रशासन कार्यालयसँग थियो ।

यही बेला भारतीय बजार क्षेत्र धारचुलामा रहेका नेपाली नागरिकलाई पनि नेपाल प्रवेश गराइरहेको प्रशासनले जनाएको छ । पहिले कुन्चा, त्यसपछि भारतीय नागरिक पठाउने र अन्तिममा नेपाली नागरिकलाई नेपाल ल्याइने कार्यतालिका छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?