३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सुरक्षाकर्मी र स्वास्थ्यकर्मी संक्रमणको उच्‍च जोखिममा

हालसम्म कोरोनासँगको लडाइँको अग्रमोर्चामा खटिएका दुई चिकित्सकसहित १० स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने प्रहरीका ६, सशस्त्र प्रहरीका ४ र सेनाका २ जना पनि संक्रमित भइसकेका छन् ।

काठमाडौँ — कोरोना भाइरस रोग (कोभिड–१९) को बढी जोखिममा स्वास्थ्यकर्मी परेका छन् । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका हुन् । स्वास्थ्यकर्मीपछि सुरक्षाकर्मी, सञ्चारकर्मी र सवारी चालकहरू जोखिममा देखिएका छन् ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मी संक्रमणको उच्‍च जोखिममा

‘हालसम्म कोरोनासँगको लडाइँको अग्रमोर्चामा खटिएका २ जना चिकित्सकसहित १० स्वास्थ्यकर्मीमा संक्रमण देखिइसकेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कान्तिपुरसँग भने, ‘हाम्रा सबै चिकित्सक र चिकित्साकर्मी आफ्नो ज्यान दाउमा लगाएर दिन रात खटिइरहेका छन् ।’ बुधबार थप १ जना चिकित्सकमा संक्रमण पुष्टि भएको छ । मंंगलबार कपिलवस्तुलगायत तराईका विभिन्न जिल्लामा कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका १ जनामा संक्रमण देखिएको थियो ।

इन्टरनेसनल काउन्सिल अफ नर्स (आईसीएन) को तथ्यांकअनुसार विश्वभर करिब ९० हजार स्वास्थ्यकर्मी कोभिड–१९ बाट संक्रमित भएका छन् । करिब २ सय ६० भन्दा बढी नर्सले यो महामारीमा आफ्नो ज्यान गुमाएका छन् । आईसीएनद्वारा जारी यो तथ्यांक मात्र ३० मुलुकको घटनामा आधारित छ । ‘यसले के देखाउँछ भने कोरोनाको प्रयोगशाला प्रमाणित केसमध्ये औसतमा करिब ६ प्रतिशत स्वास्थ्यकर्मीका हुन्,’ कोसी अञ्चल अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.संगीता मिश्र भन्छिन्, ‘नेपालमा कूल संक्रमितमध्ये करिब ३ प्रतिशत स्वास्थ्यकर्मी छन् भने परीक्षणको दायरा बढ्दा यो प्रतिशत झन् बढ्न सक्छ ।’

डा.मिश्रका अनुसार कोसी कोभिड उपचार केन्द्रमा बुधबार ३ जना कोभिड संक्रमित स्वास्थ्यकर्मी भर्ना भएका छन् । सोमबार पनि १ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणपछि भर्ना भए ।

शान्ति सुरक्षालगायत संक्रमण नियन्त्रणको विभिन्न मोर्चामा खटिएका सुरक्षाकर्मी बढी जोखिममा छन् । उनीहरू आवश्यक सुरक्षा सामग्रीबिना ड्युटीमा खटिने भएकाले जोखिमा परेका हुन् । कोरोनासम्बन्धी रिपोर्टिङ गर्दा ६ जना सञ्चारकर्मी संक्रमित भएका छन् । खाद्यान्न, अत्यावश्यक सामग्री, पेट्रोलियम पदार्थलगायतका ढुवानी गर्ने बाहनका चालक कोरोनाको संक्रमणको जोखिममा छन् । हालसम्म ७ जना चालकमा यो रोग देखिएको छ । जनप्रतिनिधि, नेताको असुरक्षित जनसम्पर्कले गर्दा कोरोनाको जोखिममा देखिएका छन् ।

पेसागत हिसावले चिकित्साकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र चालकहरु कोरोना संक्रमणमा अन्य व्यवसायको दाँजोमा बढी जोखिममा देखिए पनि विदेशबाट आउनेहरुले आफ्नो निकट सम्पर्कमा आएकालाई सबैभन्दा बढी रोग सारेका छन् । ‘विदेशबाट आउनेहरु मुख्य रूपमा भारतबाट आउनेहरुले क्वारेन्टाइनमा रहँदा उनीहरुसँगै रहेका र निकट सम्पर्कमा आएका सबैभन्दा बढी संक्रमित भएको देखिएको छ,’ डा.अधिकारीले भने, ‘स्वास्थ्यकर्मीका परिवारका सदस्यमा संक्रमण देखिएको छ ।’ धनकुटामा संक्रमित नर्सको परिवारलाई संक्रमण सरेको मंगलबार पुष्टि भयो । ‘जस्तोसुकै व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), सावधानी अपनाए पनि महामारीको अवस्थामा संक्रमणवाट शतप्रतिशत मुक्त रहने ग्यारेन्टी हुँदैन,’ डा.अधिकारी भन्छन्, ‘यो कुरा सबै स्वास्थ्यकर्मीलाई थाहा भए पनि उहाँहरु स्वेच्छाले जनताको स्वास्थ्य सेवामा खटिनुभएको हो, आमनेपालीले उहाँहरुको मनोबल उच्च राख्न सघाउनुपर्छ ।’

नेपालीको स्वास्थ्य, सुरक्षा, सूचना, खाद्यलगायत दैनिक आवश्यकता सहज बनाउने क्रममा संक्रमणमा परिरहेकाहरुलाई विभेद नगरी उच्च मनोबल कायम राख्न सबैले सघाउनुपर्ने आवश्यकता देखिएको छ ।

१२ जना सुरक्षाकर्मी संक्रमित

लकडाउन कार्यान्वयन गराउन अग्रभागमा खटिएका सुरक्षाकर्मीहरुमा नै कोरोना संक्रमण देखिन थालेपछि फिल्डमा संख्यात्मक उपस्थिति घटाइएको छ । फिल्डमा कम जनशक्ति परिचालन गर्ने र खटिएका जनशक्तिलाई कार्यावधि बढाउने गरी सुरक्षा प्रवन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले निर्देशन दिएका हुन् ।

दुवै सुरक्षा निकायको पत्राचारपछि सम्बन्धित युनिटका प्रमुखहरुले काममा बाहेक बाहिर ननिस्कन सुरक्षाकर्मीलाई आदेश दिएका छन् । मातहत युनिटलाई नै उच्च जोखिम, जोखिम र सामान्य विभाजन गरेर त्यहा कार्यरत फौजको कोरोना परीक्षण थालिएको पनि जानकारी दिएका छन् । खटिएका जनशक्तिहरुलाई फिल्डमा सुरक्षा जाँच र लकडाउन कार्यान्वयनका क्रममा अर्को पक्षसग ‘भौतिक दूरी’ कायम राख्न पनि भनिएको छ ।

बुधबार मात्रै महानगरीय प्रहरी वृत्त कालिमाटीअन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि प्रहरी मुख्यालयले देशभर तैनाथ जनशक्तिलाई आवश्यक स्वास्थ्य सावधानी अपनाएर काम गर्न भनेको हो । संक्रमण हुनेमा फिल्डमा खटिँदै आएका प्रहरी नायब निरीक्षक र १ जना जवान छन् । दुवैलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । हाल कालिमाटी कार्यालय नै सिल गरेर स्वास्थ्य जाँच अघि बढाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार कालिमाटीबाट भइरहेका शान्तिसुरक्षा व्यवस्थापन तथा अपराध अनुसन्धान तथा नियन्त्रणका कामकारबाही नजिकैका युनिट तथा आवश्यकताअनुसार काठमाडौं परिसरबाटै हुने गरी व्यवस्था गरिएको छ ।

‘कोरोना भाइरसको जोखिमका बाबजुद जिम्मेवारी निर्बाह गर्नु हाम्रो कर्तव्य हो, त्यहीअनुसार काम गरिरहेका छौं,’ डीआईजी पोखरेलले कान्तिपुरसँग भने, ‘संक्रमण देखिएकालाई उपचारका लागि पठाइसकेका छौं, अन्यको पनि स्वास्थ्य परीक्षण भइरहेको छ ।’ स्वास्थ्य परीक्षणबाट नेगेटिभ रिपोर्ट आएकाहरु पुन जिम्मेवारीमा फर्किने भन्दै केही व्यक्तिमा संक्रमण देखिँदैमा आम नागरिकको सुरक्षा र लकडाउन कार्यान्वयनमा कुनै असर नपुग्ने उनले बताए । उनका अनुसार फिल्डमा आवश्यकताअनुसार मात्रै जनशक्ति खटाउने र व्यारेकमा बस्दा पनि स्वास्थ्य सावधानीलाई मुख्य प्राथमिकतामा राख्न निर्देशन दिइएको छ ।

कालिमाटीस्थित जनपद प्रहरी र ट्राफिक प्रहरी वृत्त नै सिल गरेर डीएसपीसहित २ सय १४ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा रहेका सबै जनाको केही दिन भित्रै पीसीआर परीक्षण हुने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । ‘स्वास्थ्य परीक्षणबाट आउने रिपोर्टका आधारमा नियमित कामकारबाही अघि बढाइनेछ,’ उनले भने । काठमाडौंमा २, धनकुटा र बारामा १/१ तथा कपिलवस्तुमा २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १/१ जना सशस्त्र प्रहरीलाई संक्रमण देखिएको छ भने २ नम्बर प्रदेशअन्तर्गत तैनाथ नेपाली सेनाका एक उच्च अधिकारीसहित २ जनामा संक्रमण पुष्टि भइसकेको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले थप स्वास्थ्य सावधानी अपनाएर जनशक्तिलाई परिचालन गरिएको बताए । उनका अनुसार संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि फिल्डमा आवश्यकभन्दा बढी जनशक्ति नखटाउन पनि निर्देशन दिइएको छ । ‘बरु रोटेसनका आधारमा जिम्मेवारीको दायरा बढाउने, ‘वर्क लोड’ थप्ने गरी जनशक्ति परिचालन गर्न सजिलो देखियो,’ उनले भने, ‘१० जनाले गर्ने काम ४/५ जनालाई दिएर जोखिम कम गर्न सकिन्छ, संक्रमण नियन्त्रणका लागि यो पनि एउटा आधार बन्न सक्छ ।’ सशस्त्र र नेपाल प्रहरीका ८० हजारभन्दा बढी जनशक्ति कोभिड–१९ विरुद्धको प्रतिकार्य योजनाअन्तर्गत फिल्डमा खटिएका छन् । बुधबार नै सशस्त्र प्रहरीको १ नम्बर प्रदेशस्थित बराह बाहिनीअन्तर्गत रही सुनसरीस्थित सीमावर्ती क्षेत्रमा तैनाथ एक सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएपछि कोसी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी निरजबहादुर शाहीले संक्रमणबाट बच्न सबैभन्दा उपयुक्त विकल्प सामाजिक दूरी कायम नै भएको बताए । ‘सुरक्षाकर्मी पनि संक्रमणबाट मुक्त छैनन्,’ उनले भने, ‘तैपनि आत्तिनुपर्ने केही छैन, आवश्यक सावधानी अपनाएर काम गरे महामारीविरुद्ध जुध्न सकिन्छ ।’ संक्रमणको जोखिम बढ्दै जाँदा कामको बोझ पनि स्वाभाविक रूपमा बढ्दै जान सक्ने भएर सोहीअनुसार फिल्डमा खटिनेको ‘रोटेसन’ अवधि बढाउन सकिने र त्यसबारे फिल्डकै अफिसरलाई जिम्मा दिइएको उनले बताए । सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठले आन्तरिक काममा खटिएकालाई फिल्डमा खटाएर फिल्डका र शंकास्पद क्षेत्रका फौजलाई सेल्फ क्वारेन्टाइनमा राख्ने गरी पनि खाका बनाएको बताए । खासगरी भारतीय सीमावर्ती जिल्लामा खटिएका सुरक्षाकर्मी उच्च जोखिममा छन् ।

मास परीक्षण गर्न सकिँदैन : सीसीएमसी

सुरक्षाकर्मीहरुमा नै कोरोना संक्रमण देखिएपछि देशभरका ब्यारेकमा रहेका प्रहरी तथा सशस्त्र प्रहरीमा ‘मास स्केल’ मा पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने प्रस्ताव सुरक्षा प्रमुखहरुले गरेका छन् । सामूहिक र संगठित रूपमा बस्ने फौजमा १ जनालाई संक्रमण देखिए, त्यो अन्यमा पनि सर्न सक्ने भन्दै यस्तो परीक्षणको प्रस्ताव गरिएको हो । तर कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बैठक तथा सचिवालयका अधिकारीले मास स्केलमा परीक्षण गर्ने क्षमता सरकारसग नभएको भन्दै जोखिमका आधारमा मात्रै परीक्षण गर्न सकिने जवाफ दिएका छन् । जोखिमको मूल्यांकन गरेर मात्रै परीक्षण गर्नुपर्ने धारणा बैठकमा आएको उच्च स्रोतले जानकारी दियो ।

नाका व्यवस्थित नहुँदा जोखिम

सरकारले कोभिड–१९ विरुद्ध प्रतिकार्य योजना बनाउदा फिल्डमा सुरक्षाकर्मीसगै स्वास्थ्यकर्मीसहित ‘प्यासेन्ट रिसिभिङ टिम’ (पीआरटी) परिचालन गर्ने भनेको थियो । तर त्यसअनुसार न पीआरटी गठन भयो, न फिल्डमा ओहोर दोहोर गर्नेको स्वास्थ्य जाँच नै । जसको असर पछिल्लो समय संक्रमण तीव्र गतिमा बढ्दो छ । ३५ लाखभन्दा बढी मानिस बसोबास गर्ने राजधानीमा झनै सुरक्षा सावधानी कमजोर देखिएको छ । मुख्यत: जगाती (भक्तपुर), नागढुंगा/थानकोट र फर्पिङ नाकाबाट भित्रिने मालबाहक सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छैन । राजधानीमा मात्रै यी नाकाबाट दैनिक १ हजारभन्दा बढी मालबाहक सवारी ओहोरदोहोर गर्छन् । भारतबाट भित्रिने इन्धन, खाद्यान्न तथा फलफूलसहितका सवारी साधनमा कमजोर स्वास्थ्य जाँचले जोखिम झनै बढाएको छ ।

गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहबाट बारम्बार निर्देशन र निर्णय गरिए पनि यी नाका हुँदै भित्रिने सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण ज्वरो नाप्ने थर्मल गनमा मात्रै सीमित छ । यस्तो जाँच सुरक्षाकर्मीले नै गर्दै आएका छन् । यसले झनै जोखिम बढाएको फिल्डमा खटिएका एक प्रहरीले बताए । राजधानी प्रवेश गर्ने नाकामा ‘अन द स्पट’ आरडीटी किटबाट परीक्षण गर्ने निर्णय पटकपटक भएका छन् । अझ यी स्थानमा एम्बुलेन्स र प्यासेन्स रिसिभिङ टिम पनि तयारी हालतमा राख्ने भनिएकोमा अहिलेसम्म त्यस्तो सावधानी अपनाइएको छैन ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले मालबाहक सवारीसाधन तथा त्यसमा आएका चालक तथा सहचालकको जाँच प्रक्रियामा आवश्यक निर्णयका लागि स्वास्थ्य मन्त्रालय र अन्य निकायलाई निर्णय लिन भनिसकिएको बताए । ‘मन्त्रालयबाट निर्णय पनि भएका छन्,’ उनले भने, ‘अझ भारतबाट मालबाहक सवारीमा आएका चालक तथा सहचालकको स्वास्थ्य जाँचमा त झनै बढी ध्यान दिनुपर्ने देखिन्छ ।’ उपत्यकास्थित तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संययुक्त बैठकले प्रमुख नाकामा कम्तीमा स्वास्थ्यकर्मीसहितको टोली खटाएर ठाउँको ठाउँ आरडीटी परीक्षण गर्नुपर्ने सुझाव उच्च स्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टरमा पठाएको थियो । तर दुवै संयन्त्रले यसबारे निर्णय लिएका छैनन् ।

कसरी सुरक्षित रहने ?

हाल सुरक्षाकर्मी, अन्य पेसाका व्यक्ति संक्रमित हुन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक भएको विज्ञको सुझाव छ । काम गर्दा कम्तीमा १ मिटरभन्दा टाढा रहेर कुरा गर्ने, मास्क लगाइराख्ने, घरबाहिर बेलाबेलामा सेनिटाइजर हातमा लगाएर सावधानी अपनाउनुपर्ने डा.अधिकारी बताए । सञ्चारकर्मीले सकेसम्म भीडमा गएर समाचार संकलन नगर्ने, टेलिफोन, श्रव्यदृश्यलगायतका ‘भर्चुअल’ माध्यम उपयोग गर्ने, क्वारेन्टाइनभित्र नगई बाहिरबाटै अनुगमन गर्ने, क्वारेन्टाइनभित्र जानैपर्ने अवस्था आए व्यक्तिगत सुरक्षा उपकरण उपयोग गर्नुपर्ने उनको भनाइ छ । अत्यावश्यक सेवामा खटिएर आफू जुनसुकै बेला संक्रमित हुन सक्ने जोखिममा रहेकाहरुले घर परिवार, निकट सम्पर्कमा हुँदा सवाधानी अपनाउनुपर्ने सल्लाह डा.अधिकारीले दिए ।

कोरोनाको संक्रमण हाल बढ्दो क्रममा छ । बिहीबार बिहानसम्म मुलुकमा ४ सय ४४ जना संक्रमितसँगै २ जनाको मृत्युसमेत भइसकेको छ । कोरोनाबाट निको भएर डिस्चार्ज हुनेहरुको दर १० प्रतिशत देखिएको छ । यो संक्रमणले हुने मृत्यु दर ०.४६ प्रतिशत छ । हाल यो रोगले २५ वर्षीय पुरुषको समेत मृत्यु भएको छ भने ८१ वर्षीया हजुरआमामा समेत खासै लक्षण नदेखिएर आफैं रोग निको भएको अवस्था छ । ‘कोरोना भाइरसबाट लडन सक्ने क्षमता कुन व्यक्तिमा छ, कसमा छैन भन्ने कुरा बाहिरी स्वास्थ्य हेरेर थाहा पाइन्न,’ डा.अधिकारीले भने, ‘सम्भव भएसम्म सबै नेपालीले हाल संक्रमणवाट जोगिने उपाय अपनाउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित करिब ८० प्रतिशतमा कुनै लक्षण देखिँदैन वा धेरै कम लक्षण देखिन्छ । वृद्ध, मुटुको समस्या, उच्च रक्तचाप, अंग प्रत्यारोपण गराएकाहरु, क्यान्सर रोगी, फोक्सोको समस्या, विभिन्न प्रकारका दीर्घरोगीहरु बढी सतर्क हुनुपर्छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?