प्रदेश ५ का कोरोना अस्पताल भरिभराउ, बुधबार थपिएका २० जनालाई कहाँ राख्‍ने टुंगो छैन- समाचार - कान्तिपुर समाचार

प्रदेश ५ का कोरोना अस्पताल भरिभराउ, बुधबार थपिएका २० जनालाई कहाँ राख्‍ने टुंगो छैन

संक्रमितको संख्या १९६ पुगेको प्रदेश ५ मा उपचार र रेखदेखमा समस्या भएको छ । बुटवल र भैरहवास्थित कोरोना अस्पताल भरिएका छन् ।
दीपेन्द्र बडुवाल

बुटवल — कोरोना 'हटस्पट'का रुपमा रहेको प्रदेश ५ का तराईका ६ जिल्लामा मात्रै संक्रमितको संख्या करिब दुई सय पुगेको छ । यहाँका सीमावर्ती जिल्लामा तीन साताभित्र संक्रमित थपिएका हुन् । अधिकांश संक्रमित भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका व्यक्ति छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार प्रदेशका नवलपरासी पश्चिम, कपिलवस्तु र बाँकेमा गरी २० संक्रमित थपिएका छन् । यससँगै प्रदेशभरि १ सय ९६ संक्रमित पुगेका छन् ।

प्रदेशमा सबैभन्दा धेरै बाँकेमा ९९ संक्रमित पुगेका छन् । तीमध्ये नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवाको गत आइतबार कोभिड–१९ संक्रमणबाट मृत्यु भइसकेको छ । संक्रमितमा नेपालगन्ज उपमहानगपालिका २५ जना छन् । खजुराका गाउँपालिकाका १ जना रहेका छन् । नरैनापुर गाउँपालिकामा मात्रै ७३ जना छन् । त्यसपछि कपिलवस्तुमा धेरै ६० संक्रमित रहेका छन् । अहिलेसम्म कपिलवस्तुका १० वटै स्थानीय तहमा संक्रमित पाइएका छन् । कपिलवस्तुमा एक नर्स, दुई नगरपालिका कर्मचारी र चार सुरक्षाकर्मीमा समेत संक्रमण पाइएको छ । संक्रमित अधिकांश भारतबाट आएका हुन् ।

रुपन्देहीमा बुधबारसम्म २८ जना संक्रमित रहेका छन् । उनीहरु सीमा नजिक रहेका गैडहवा, सम्मरीमाई, कोटहीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेका छन् । उनीहरु दुई साता अवधिमा भारतबाट आएका हुन् । पश्चिम नवलपरासीमा दुई, दाङमा चार, बर्दियामा दुई र गुल्मीमा एक जना संक्रमित रहेका छन् ।

उपचारमा समस्या

संक्रमितको संख्या बढेसँगै प्रदेशमा उनीहरुको उपचार र रेखदेखमा समस्या भएको छ । बुटवल र भैरहवास्थित कोरोना अस्पताल भरिएका छन् । बुटवलमा ३६ र भैरहवामा २१ संक्रमितको उपचार भइरहेको छ । तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा रहेका गुल्मीका संक्रमितको अवस्था गम्भीर रहेको छ । नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा एक जनाको उपचार भइरहेको छ । कपिलवस्तुस्थित आइसोलेसन सेन्टरमा मंगलबारसम्म ७ जना रहेका छन् । दाङको बेलझुण्डीस्थित राप्ती प्रतिष्ठानमा १३ संक्रमितको उपचार भइरहेको छ भने बाँकेको खजुरास्थित कोरोना अस्पतालमा २६ संक्रमित रहेका छन् ।

बाँकेको नरैनापुरमा सोमबार संक्रमित भएका ५९ जनालाई बुधबारसम्म नेपालगन्जको लायन्स डेन्टल अस्पतालमा राखिएको छ । त्यहाँ २६ शय्यामात्र रहेका छन् । बुधबार थपिएका २० संक्रमितलाई कहाँ राख्ने ठेगान छैन । बुधबार अपराह्नसम्म मुलुकभर संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्

‘गलत समाचार’प्रति का‌ंग्रेसको ध्यानाकर्षण

दीपेन्द्र बडुवाल

बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका कोभिड–१९ संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको मृत्यु भएको सम्बन्धि गलत समाचार प्रवाह गरिएको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आपत्ति प्रकट गरेको छ ।

बुधबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसले मृत्यु नभएका व्यक्तिको मृत्यु भयो भनेर प्रदेश ५ का मन्त्रीले र मेयरले बोलेको भन्दै ध्यानाकर्षण भएको बताएको छ ।

‘प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विभिन्न सन्चारमाध्याममा दिएको गलत, अतिरञ्जित र भ्रामक समाचारप्रति कांग्रेस जिल्ला कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ पार्टी सचिव रामकृष्ण खाँणद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा सम्बन्धित निकायबाट बिरामीको मृत्यु भएको आधिकारिक पुष्टि नभइसकेको अवस्थामा मृतक घोषणा गर्न हतार गर्ने मानवीय मूल्यहीन र संवेदनाहीन मन्त्री बराल र नगरप्रमुख घिमिरेले बिरामीको परिवारसँग सार्वजनिक रुपमा माफी माग्न र आगामी दिनमा जवाफदेही बन्न माग गरिएको छ । अस्पतालको आइसियु कक्षमा राखेर उपचार भइरहेका संक्रमितको मृत्यु भएको खबर बुधबार बिहान विभिन्न संचारमाध्याममा आएको थियो । त्यसपछि मध्यान्ह क्रिमसन अस्पतालले प्रेस विज्ञप्ति जारी गरेर बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिएको थियो ।

उपचारकै क्रममा जेठ २ गते उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७७ १५:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×