१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रदेश ५ का कोरोना अस्पताल भरिभराउ, बुधबार थपिएका २० जनालाई कहाँ राख्‍ने टुंगो छैन

संक्रमितको संख्या १९६ पुगेको प्रदेश ५ मा उपचार र रेखदेखमा समस्या भएको छ । बुटवल र भैरहवास्थित कोरोना अस्पताल भरिएका छन् ।
दीपेन्द्र बडुवाल

बुटवल — कोरोना 'हटस्पट'का रुपमा रहेको प्रदेश ५ का तराईका ६ जिल्लामा मात्रै संक्रमितको संख्या करिब दुई सय पुगेको छ । यहाँका सीमावर्ती जिल्लामा तीन साताभित्र संक्रमित थपिएका हुन् । अधिकांश संक्रमित भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका व्यक्ति छन् ।

प्रदेश ५ का कोरोना अस्पताल भरिभराउ, बुधबार थपिएका २० जनालाई कहाँ राख्‍ने टुंगो छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार प्रदेशका नवलपरासी पश्चिम, कपिलवस्तु र बाँकेमा गरी २० संक्रमित थपिएका छन् । यससँगै प्रदेशभरि १ सय ९६ संक्रमित पुगेका छन् ।

प्रदेशमा सबैभन्दा धेरै बाँकेमा ९९ संक्रमित पुगेका छन् । तीमध्ये नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवाको गत आइतबार कोभिड–१९ संक्रमणबाट मृत्यु भइसकेको छ । संक्रमितमा नेपालगन्ज उपमहानगपालिका २५ जना छन् । खजुराका गाउँपालिकाका १ जना रहेका छन् । नरैनापुर गाउँपालिकामा मात्रै ७३ जना छन् । त्यसपछि कपिलवस्तुमा धेरै ६० संक्रमित रहेका छन् । अहिलेसम्म कपिलवस्तुका १० वटै स्थानीय तहमा संक्रमित पाइएका छन् । कपिलवस्तुमा एक नर्स, दुई नगरपालिका कर्मचारी र चार सुरक्षाकर्मीमा समेत संक्रमण पाइएको छ । संक्रमित अधिकांश भारतबाट आएका हुन् ।

रुपन्देहीमा बुधबारसम्म २८ जना संक्रमित रहेका छन् । उनीहरु सीमा नजिक रहेका गैडहवा, सम्मरीमाई, कोटहीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेका छन् । उनीहरु दुई साता अवधिमा भारतबाट आएका हुन् । पश्चिम नवलपरासीमा दुई, दाङमा चार, बर्दियामा दुई र गुल्मीमा एक जना संक्रमित रहेका छन् ।

उपचारमा समस्या

संक्रमितको संख्या बढेसँगै प्रदेशमा उनीहरुको उपचार र रेखदेखमा समस्या भएको छ । बुटवल र भैरहवास्थित कोरोना अस्पताल भरिएका छन् । बुटवलमा ३६ र भैरहवामा २१ संक्रमितको उपचार भइरहेको छ । तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा रहेका गुल्मीका संक्रमितको अवस्था गम्भीर रहेको छ । नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा एक जनाको उपचार भइरहेको छ । कपिलवस्तुस्थित आइसोलेसन सेन्टरमा मंगलबारसम्म ७ जना रहेका छन् । दाङको बेलझुण्डीस्थित राप्ती प्रतिष्ठानमा १३ संक्रमितको उपचार भइरहेको छ भने बाँकेको खजुरास्थित कोरोना अस्पतालमा २६ संक्रमित रहेका छन् ।

बाँकेको नरैनापुरमा सोमबार संक्रमित भएका ५९ जनालाई बुधबारसम्म नेपालगन्जको लायन्स डेन्टल अस्पतालमा राखिएको छ । त्यहाँ २६ शय्यामात्र रहेका छन् । बुधबार थपिएका २० संक्रमितलाई कहाँ राख्ने ठेगान छैन । बुधबार अपराह्नसम्म मुलुकभर संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?