१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

असारपछि लिपुलेक र तिंकर जान भारतको भूमि प्रयोग गर्नु नपर्ने

सेनाले थाल्यो गोरेटो बाटो निर्माण
जगदीश्वर पाण्डे

काठमाडौँ — असारपछि दार्चुलाको माथिल्लो भूभागमा पुग्नलाई भारतको भूमि प्रयोग गर्नु नपर्ने भएको छ । अहिलेसम्म पनि दार्चुला सदरमुकाम खलंगाबाट जिल्लाको माथिल्लो भूभागहरु तिंकर, लिपुलेकसम्म पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ । 

असारपछि लिपुलेक र तिंकर जान भारतको भूमि प्रयोग गर्नु नपर्ने

खलंगाबाट हिँडेर तिंकर पुग्नका लागि घाटीबगर इलाकामा आवश्यक गोरेटो बाटो निर्माणको काम असार मसान्तसम्म सकिएपछि भारतीय भूमि प्रयोग गर्नु नपर्ने नेपाली सेनाले बताएको छ । हाल खलंगाबाट तिकंर जान भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा भारतीय सुरक्षाकर्मीसँग पास लिएर जानु पर्छ । फेरि माथि पुगेर नेपाली भूभागमा आउनु पर्छ ।

सेनाले बुधबारबाट घाटीबगर इलाकामा सडक निर्माणको लागि इन्जिनियर र अन्य प्राविधिकसहित सेनानीको कमान्डमा ४५ जनाको प्लाटुन खटाएको बताएको छ । ‘सेनाले बुधबारबाट त्यस इलाकामा काम थालेको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने, ‘यो खण्डमा सेनाले असार मसान्तभित्रमा गोरेटो बाटो बनाइसक्ने लक्ष्य राखेको छ । असारपछि तिंकरलगायत दार्चुलाको माथिल्लो भूभाग जानका लागि नेपालीहरुलाई भारतको भूभाग प्रयोग गर्नु पर्दैन ।’

खलंगादेखि घाटीबगर हुँदै तिंकर भञ्जाङसम्मको दूरी एक सय ३४ किलोमिटर छ । घाटीबगरदेखि तिंकरसम्मको दूरी ८७ किलो मिटर छ ।

सेनाले अहिले घाटीबगरमा गोरेटो बाटो निर्माण गर्न लागेको हो । उक्त सडक खण्डमा चार सय ५० मिटर कडा चट्टान र केही स्थानमा पहिरो छन् । कडा चट्टानलाई बारुद प्रयोग गरेर ब्लास्ट गर्ने र पहिरोलाई हटाएपछि स्थानीयहरु हिड्ने गोरेटो बाटो खुला हुनेछ ।

सरकारको वैशाख १४ गतेको निर्णय अनुसार अर्को आर्थिक वर्षदेखि खलंगाबाट तिकंरसम्म सडक मार्ग निर्माण थालिने छ । यो बाटोका लागि कतै ट्रयाक खोलिसकिएको छ भने अहिले खनिने गोरेटोलाई नै पछि सडक बनाइने सेनाले जनाएको छ । सडक निर्माणको लागि सेना र सडक विभागलाई जिम्मेवारी दिइसकेको छ । सेनाको एक प्राविधिक टोलीले गत साता घाटीबगर इलाकाको भ्रमण गरि आएर पूर्व तयारी गरेको थियो ।

उक्त टोलीले त्यहाँको भूबनोट, निर्माण काम सुरु गर्दा आवश्यक सामग्री लिएर जादा हेलिकप्टर अवतरण गर्ने स्थान, सेनाको फिल्ड कार्यालयलगायत पक्षको जानकारी लिएर आएको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?