कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोरोना महामारीका बीच विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कस्तो छ ?

‘कोरोना-कोरोना मात्र भनिरहँदा अरु रोगले मानिसको बढी मृत्यु हुन सक्छ’
बुनु थारु

काठमाडौँ — वैशाख ३० गते मंगलबार राति ११ बजेर ५३ मिनेटमा दोलखा केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गयो । यसको धक्का वरिपरिका क्षेत्र र काठमाडौंसम्म महसुस भयो । कोरोनाबाट बच्न घरमै बसिरहेका बेला यो सानो धक्काले एकछिन त मानिसमा त्रास उत्पन्न गरायो ।

कोरोना महामारीका बीच विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कस्तो छ ?

यदि यो भूकम्प ठूलै म्याग्निच्युडको आएको भए ? कोरोना संकटले घरघरभित्र बसेकाहरुको अवस्था कस्तो बन्थ्यो होला ? २०७२ सालमा वैशाख १२ गतेको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पलाई मानिसले अझै बिर्सिन सकेका छैनन् । कोरोना भाइरसको महामारीका बीच प्राकृतिक विपत्ति र अन्य रोगको उत्तिकै जोखिम रहेको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा पूरै राज्य संयन्त्र लागिरहँदा प्राकृतिक विपत्ति र अन्य रोगसँग लड्न सरकारले कस्तो तयारी गरेको छ त ?

कोरोनासँगै बाढीको जोखिममा तराई

बुधबार बिहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४०४ पुगेको छ । संक्रमितको संख्या हरेक दिन बढ्ने क्रममा छ । जनस्वास्थ्यविद्हरुका अनुसार अव्यवस्थित क्वारेन्टाइन र कमजोर पूर्वतयारीका कारण संक्रमण अझ बढ्न सक्ने चेतावनी दिइसकेका छन् । संक्रमण मुलुकका सातै प्रदेशमा फैलिइसकेको छ । अहिलेसम्म विभिन्न ३८ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । जसमा तराईका सबै जिल्ला प्रभावित बन्न पुगेका छन् ।

बर्सेनि बाढीले आक्रान्त हुने तराईले अहिले कोरोना कहरसँग पनि जुध्नुपर्ने छ । गर्मी मौसम तथा बर्खायाम सुरु हुनै लाग्दा विभिन्न रोग तथा विपद्को सामाना आइलाग्ने निश्चित छ । जुन नेपालले हरेक वर्ष सामाना गर्छ । आगलागी, बाढी, पहिरो ,हावा हुरीले वर्षेपिच्छे ठूलो संख्यामा धन, जनको क्षति हुनुका साथै सयौँ विस्थापित बन्न पुग्छन् । २०७५ को चैत १७ गते बारा र पर्सा जिल्लामा गएको हावाहुरी अहिलेसम्मकै ठूलो विनासकारी हावाहुरी हो । जल तथा मौसम विभागको प्रारम्भिक अध्ययनले उक्त हावाहुरी टोर्नाडोे भएको देखाएको थियो । सो घटनामा परेर बारा र पर्सा जिल्लामा ३० जनाले ज्यान गुमाए भने कम्तीमा ६ सय जना घाइते बने ।

फाइल तस्बिर : २०७५ साल चैत १७ गतेको हावाहुरीले बारामा गरेको क्षति

पूर्वतयारी नहुने हो भने धेरै मात्रामा संक्रमित भेटिएका तराईका जिल्लाहरुमा बाढी आएको खण्डमा ठूलो जोखिम निम्तिन सक्ने देखिन्छ । हरेक दिन क्वारेन्टाइन अव्यस्थित भएको सामाचार आइरहेका छन् । नाम मात्रका क्वारेन्टाइनमा बस्नका लागि ठाउँ अभाव तथा पिउने पानीसमेत छैनन् । यस्तो अवस्थामा संक्रमित र संक्रमण नदेखिएकालाई पनि ठूलो खतरा हुन्छ । विस्थापितलाई उद्धार गर्न पनि कठिनाइ हुन सक्छ । त्यसै पनि अव्यवस्थित क्वारेन्टाइनहरु वर्षा लागेसँगै जलमग्न हुने सम्भावना रहेको छ ।

विपद्पछि संक्रामक रोगहरू फैलिन सक्ने सम्भावना बढी हुन्छ । चिकित्सकहरुका अनुसार त्यस्ता रोगहरु फैलिन नदिन मानिसहरूले व्यक्तिगत सरसफाइमा अझ बढी ध्यान दिनुपर्ने हुन्छ ।

विज्ञहरुका अनुसार कोरोना भनेर मात्र यसमै ध्यान केन्द्रित गर्दा नेपालमा अरु समान्य रोग लागेर पनि मान्छेले उपचार नपाएर मृत्यु हुन सक्ने र प्राकृतिक विपद्ले गर्दा थप जोखिम भोग्नुपर्ने अवस्था आउन सक्छ ।

‘कीटजन्य रोग बढ्न सक्छन्’

बर्सेनि नेपालमा सामान्य झाडापखाला, हैजा, डेंगु तथा अरु संक्रामक रोगबाट मानिसहरुको मृत्यु भइरहेको हुन्छ । कोरोनाको संक्रमण रोक्न देश लकडाउनमा छ । स्वास्थ्य सेवामा इमरजेन्सी बाहेकका सेवाहरुको प्रवाहमा कमी छ जसले गर्दा दीर्घरोगी तथा नियमित औषधि खाइराख्नुपर्ने बिरामीहरुमा पनि असर परेको देखिन्छ ।

अघिल्लो वर्ष जेठ महिनामा फैलिएको डेंगुको प्रकोपले ५६ जिल्लालाई असर गरेको थियो । इतिहासमै सबैभन्दा बढी र कडा रूपमा देशव्यापी डेंगुको प्रकोप देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले डेंगु र औलोको सक्रमित देखिन थालेको बताइरहेको छ । महाशाखाका अनुसार ५० भन्दा बढी डेंगुका संक्रमित गर्मी सुरु भएसँगै फेला परेका छन् । केही दिनअघि मात्र मन्त्रालयले क्वारेन्टाइनमा रहेकालाई औलोको परीक्षण गर्दा पोजिटिभ देखिएको बताएको थियो । यद्यपि कति जनामा र कहाँ देखियो भनेर खुलाएको थिएन । कोरोनाबाट बच्ने चुनौती त छँदैछ औलो र डेंगुबाट बच्न पनि मानिसहरु सतर्क हुनुपर्ने देखिएको छ ।

डा. शेरबहादुर पुन, शुक्रराज ट्रोपकिल तथा सरुवा रोग अस्पताल

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार कोरोना बाहेकका बिरामीलाई उपचारका लागि कहाँ लाने भनेर त्यसको बारेमा सोच्नुपर्दछ । डा. पुन भन्छन्, ‘अहिले कोरोनाको लक्षण फेरिएको छ । धेरै रोगहरुमा ज्वरो आइरहेको हुन्छ । सबैलाई कोरोना भनेर कुनै अस्पतालले भर्ना लिन नमान्दा सामान्य रोग लागेको मानिसले दुःख पाउन सक्छन् ।’

मौसममा परिवर्तन आएसँगै संक्रामक रोगहरुको चुनौती थपिने उनी बताउँछन् । ‘गर्मी सिजन सुरु भइसक्यो । अहिले विभिन्न संक्रामक रोग फैलिने याम हो,’ डा. पुन भन्छन्, ‘लकडाउनको बेला घरमा बसिरहेका हुनाले खानपान तथा अरु सरुवा रोग नदेखिएलान् तर डेंगु लगायतका किटजन्य रोगहरुको जोखिम भने हुन सक्छ । त्यसैले घरमा बसिरहँदा कोरोना मात्र होइन अरु संक्रामक रोगहरुसँग लड्नका लागि पनि सतर्कता अपनाउनुपर्छ ।’

स्वास्थ्यजन्य प्रकोप, महामारी तथा अन्य स्वास्थ्य आपत्कालीनको व्यवस्था हेर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हाल कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङको जिम्मेवारी पनि लिएको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनासँगै अरु संक्रामक रोगहरुका लागि काम गरिरहेको दाबी गरे । उनले भने ‘हामीले प्रदेश–प्रदेशमा सूचना जारी गरेका छौँ, यदि डेंगु तथा मलेरिया देखिएमा टेस्ट गर्नुस् भनेर, किटको व्यवस्था पनि छ,नभएको ठाउँमा पुर्याइन्छ ।’

‘कोरोना-कोरोना मात्र भनिरहँदा अरु रोगले मानिसको बढी मृत्यु हुन सक्छ’

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले विकसित देशको तुलनामा नेपालको अवस्था फरक रहेकाले त्यसैअनुसारको पूर्वतयारी अपनाउनुपर्ने सुझाव दिन्छन् । ‘नेपाल विकासोन्मुख देश हो । नेपालको समस्या अरु विकसित देशको तुलनामा आकाशपातालको फरक छ । यहाँ अरु देशजस्तो कोभिड मात्र भनेर बसेर हुँदैन अरु रोगको बारेमा पनि ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘यहाँ त मान्छे झाडापखाला लाग्दा पनि मरिरहेका हुन्छन् । दुर्गममा महिलाहरु सुत्केरी हुन नसकेर मरिरहेका छन् । यस्ता कुरालाई पनि सरकारले ध्यान दिने कि ?’

डा. समीरमणि दीक्षित, जनस्वास्थ्यिवद्

विकसित देशझैं कोभिड–१९ मा केन्द्रित हुने हो भने नेपालमा अरु रोगले नै धेरै मानिसको मत्यु हुने डा. समीरमणि दीक्षित बताउँछन् । उनी भन्छन्, ‘यो संकटले मानसिक समस्या पनि बढाइरहेको छ । साथै क्यान्सर, मधुमेहका बिरामीहरु औषधि नपाएर वा समयमै उपचार नपाएर मर्न सक्छन् । यो कुराको पनि सम्बोधन हुन पर्छ ।’

विपद् व्यवस्थापन र अन्य महामारी नियन्त्रणका लागि सरकारको तयारी फितलो देखिएको छ । कोरोना संक्रमण अहिले नै पूर्ण रुपमा नियन्त्रण नहुने भएकाले बिस्तारै लकडाउन खुकुलो बनाउनुपर्ने दीक्षित बताउँछन् । परीक्षणको दायरा बढाउँदै स्वास्थ्यका अरु सुविधाहरु पनि खोल्न सरकारलाई उनी सुझाव दिन्छन् । ‘अत्याश्यक सेवाहरुको ढुवानी हुनुपर्छ । हरेक अस्पतालमा अब सरुवा रोगका लागि तयारी अवस्थामा एउटा युनिट राखिनुपर्छ,’ उनी भन्छन् ।

टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा रुघाखोकी, एचआईभी, रेबिजलगायत विभिन्न सरुवा रोगहरुको उपचार हुने देशको एक मात्र सरुवा रोग अस्पताल हो । हाल यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ । अरु बिरामीलाई भर्ना लिइँदैन । यस्तो अवस्थामा संक्रामक रोगका बिरामीलाई कहाँ उपचार गर्ने भन्ने समस्या उत्पन्न भएको छ ।

कुकुरले टोकेको, ज्वरो, रुघाखोकी, टाइफाइडका बिरामीहरु आइराख्ने अस्पतालमा अहिले यो सुविधा छैन । यी सबै सुविधाहरु लिन आएको खण्डमा अरु अस्पतालमा रिफर गरिन्छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले कोरोनाको संकट नरोकिएसम्म कुकुरले टोकेको बिरामीको उपचार मात्र टेकु अस्पतालमा भइरहेको बताए । उनी भन्छन् , ‘हाम्रो अस्पतालमा दिने सेवा सुविधाहरुको लागि हामीले वीर र टिचिङ अस्पतालमा पठाइरहेका छौँ । ’

कोरोनाको जोखिम हेरेर त्यही अनुसार तयारी गरिरहेका छौँ : प्राधिकरण

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तह, प्रदेश तथा संघ सबैसँग समन्वय गरेर बाढी, पहिरो जस्ता प्राकृतिक तथा गैरप्राकृतिक विपद् व्यवस्थापनको लागि दु्रत गतिमा तयारी भइरहेको दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल भन्छन्, ‘मनसुनमा हुने विपद्को न्युनीकरणका लागि पूर्वतयारी योजनाहरु बनाउने, औषधिमूलक सेवा, खाद्यसामग्रीलगायतका लगतहरु हरेक जिल्लाबाट संकलन गरेर ड्राफ्ट बनाउँदैछाँै ।’

अनिल पोखरेल, प्रमुख कार्यकारी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरण

सुरक्षा निकाय जस्तै प्रहरी, आर्मीसँग छुट्टै बैठक बस्ने तथा जनशक्तिहरुको पनि छलफल गर्नुका साथै संक्रमित देखिएको ठाउँमा बाढी आयो भने त्यहाँ उद्धार गर्न जानका लागि कोभिडको बेला छुट्टै किसिमको सावधानी अपनाएर कसरी जाने भनेर छलफल चलाइरहेको उनले बताए ।

जल तथा मौसम विभागसँग यो वर्ष धेरै बाढी जाने ठाउँमा पूर्वसूचना प्रणाली कसरी प्रभावकारी तथा चुस्त बनाउने भनेर काम गरिरहेको प्रमुख पोखरेलले बताए । उनले देशैभरी विस्थापितका लागि कति सेल्टर हाउस तयारी अवस्थामा छन् र तयारी गर्न सकिन्छ भनेर पनि छलफल भइरहेको बताए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना संक्रमितको संख्या बढेमा के गर्ने भनेर पूर्वतयारी गरेको बताए । त्यही अनुसार लेभल अस्पतालहरु उपचारका लागि तोकिएका छन् र कोभिड बाहेक अरु बिरामीले पनि उपचार पाउने र सेवाहरु प्रभावित नहुने उनले स्पष्ट पारे । अस्पतालहरुले कोभिड बाहेकका अरु स्वास्थ्य सेवाहरु दिएका छ वा छैेनन् त्यसको पनि अनुगमन गरिरहेको उनले जनाए ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २, स्थित महेन्द्र प्राविको क्वारेन्टाइनमा खाना खाँदै । सुरक्षात्मक उपाय नअपनाउँदा यहाँ संक्रमणको निक्कै जोखिम छ । तस्बिर मनोज पौडेल/कान्तिपुर

तर अवस्था भने सहप्रवक्ता अधिकारीले दाबी गरेजस्तो देखिँदैन । क्वारेन्टाइनको गुणस्तरमै सरकारको ध्यान पुगेको देखिँदैन । अस्पतालमा आइसोलेसन बेड तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था पनि छैन । अस्पताल र उनीहरुका पूर्वाधार निकै कमजोर छन् । कोभिडको महामारीसँगै प्राकृतिक प्रकोप आएको खण्डमा अस्पतालहरुले बिरामी धान्न सक्ने अवस्था देखिँदैन । बाँकेको नरैनापुरका संक्रमितलाई कमजोर पूर्वाधार भएका डेन्टल अस्पताल र कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएको छ । संक्रमितहरुको संख्या बढ्दै गए तीनलाई कहाँ उपचार गर्ने भन्ने कुराकै अन्योल देखिन्छ ।

परीक्षण कम हुनु, असुरक्षित क्वारेन्टाइन तथा भारतबाट लुकीछिपी नेपाल भित्रिनुले कोरोनाको संक्रमण बढिरहेको विज्ञहरुको ठम्याइ छ ।

केही दिनअघि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारले सरुवा रोग रोकथाम नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवासहितको ३०० श्य्याको केन्द्रीय र न्यूनतम ५० श्य्याको प्रदेशस्तरको अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने बताएको छ । कोरोना संकटबाट सरकारले पूर्वतयारीका लागि प्रशस्त पाठ सिक्नुपर्ने देखिन्छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?